2026 May 02/ 10:10: 54am

- केशव  थापा 
          गुणस्तरीय शिक्षाको गौरवमय धेरै वर्ष सफलतापूर्वक पूरा गरेको, अग्रज र यहाँहरुको अथक मिहिनेत र लगनशीलताले आसपासको क्षेत्रमा अति सम्मानित शैक्षिक संस्थामा जुरेको संलग्नताको संयोगलाई अहोभाग्यको रुपमा नै लिनुपर्छ । बौद्धिकहरुको बीच सहकार्यको अवसर विरलै मात्र प्राप्त हुनेगर्छ । संलग्न सबैको शिक्षण सेवाप्रतिको प्रतिबद्धता, छात्रा–छात्रप्रतिको अगाध प्यार र स्नेह, संस्थाप्रतिको रहरलाग्दो श्रद्धा अत्यन्त गौरवका विषय हुन् । सामान्य अर्थमा हेर्दा न्यूनवेतनमा दिन बिताए जस्तो देखिएता पनि यहाँहरुले गरिरहनु भएको अध्यापनको महान् काम देशको लागि भावीसुयोग्य नागरिक तयार गर्ने पवित्र र महान् कार्य हो । यस अर्थमा यहाँहरु राष्ट्रको कर्णाधार निर्माणको अति पूण्य कर्ममा  जुटेका उच्चकोटीको मानव हुनुहुन्छ । सगौरव सलाम छ, यहाँहरुको स्तुत्य कर्मलाई !  
                    व्यक्तिले झै संघ÷संस्थाहरुले पनि समयक्रममा उकाली, ओराली भएर गुज्रनु पर्दाेरहेछ । यसबाट सायदै संस्थाहरु अछुतो रहलान् । नेपथ्यको कारण जे भए पनि संस्थाको तत्कालीन अभियानमा केही असहजताहरु आइलागे । ती असहजतालाई छिचोलेर लय पक्रन खोज्दाखोज्दै फेरि कोभिड–१९ को बाघे झम्टाइमा परियो । अलिअलि तङ्ग्रद्रै गरेको संस्था फेरि थलापर्ने हो कि भन्ने डर लागेको भएता पनि यहाँहरुको साथ, सहयोग, समर्थन र उत्साहले खासै ठूलो क्षति नबेहोरिक नै संस्था वौरिन सक्यो । महामारीको याममा पनि यो गौरवशाली संस्थालाई चुस्तदुरुस्त, स्वस्थ, सक्रिय र उत्साही राख्न यहाँहरुले लगाउनु भएको गुन वन्दनीय छ । यही कारणले मैले यहाँहरुलाई महान् आत्मा भनी पुकारेको हूँ । आसा छ, भावी दिनमा संस्थाले यहाँहरुबाट यस्तै साथ र सहयोग अविरल पाइरहने छ । 
                अब हामीले कोभिड–१९ को ताण्डव हेर्न र व्यहोर्न पर्नेछैन, सायद । त्यसैले अब संस्थासम्बद्ध हामी सबैले यसको पहिलेको गरिमामा किञ्चित आँच आउँन नदिई समयको पदचाप र अभिभावकहरुको आकाङ्क्षालाई पछ्याउदै यसको साख अझै उँचो बनाउन जुट्नु परेको छ । अतः यहाँहरु प्रत्येकले आफू संस्थाको महत्वपूर्ण अवयव भएको तथ्यलाई हृदयङ्गम गर्दै संस्थाले चुम्न खोजेको लक्ष्य हासिल  गर्ने काममा उत्साहपूर्वक जुट्नु हुनेछ भन्ने मैले दृढविश्वास लिएको छु । भन्नै पर्दैन, प्रभावकारी अध्यापनमा यहाँहरु अब्बल नै हुनुहुन्छ । विद्यार्थीहरुको समग्र विकासको सहजकर्ता पनि तपाईं शिक्षकसाथीहरु हुनु भएको हुँदा विरासतमा विद्यार्थीहरुले प्राप्त गरेको प्रतिभामा थप निख्खार, उनीहरुको कमजोर पक्ष र सबल पक्षको पहिचान र सोही अनुसार यथोचित परामर्श, विद्यार्थीसम्बद्ध महत्वपूर्ण सूचनाहरु समयमै जानकारी र सोही अनुरुपको तयारीको लागि पनि यहाँहरु उत्तिकै जागरुक हुनुपर्छ । अर्थात, ‘मेरो विद्याथी ः मेरो जिम्मेवारी’ भन्ने भावनालाई यहाँहरुले आत्मसात गर्नुहुनेछ । विद्यार्थी तपाईंसहित वनस्थलीलाई अभिभावकसँग जोड्ने पूल भएको हुँदा आसा छ, सो पूल हुँदै तपाईं शिक्षकसाथीहरु अभिभावकसमक्ष पुग्ने र अभिभावकज्यूहरु पनि संस्थासमक्ष आउने क्रमलाई प्रभावकारी बनाउनु हुनेछ । मेरो विद्यार्थी मेरो जिम्मेवारी भन्ने भावना अङ्गीकार गरेपछि विद्यार्थीको सफलता आफ्नै सफलता र विद्यार्थीको असफलतालाई आफ्नै असफलता मान्न हिच्किचाउनु हुनेछैन । 
सूर्य बलेन भने त्यसले पृथ्वीका प्राणी, वनस्पति लगयातलाई राप, ताप, प्रकास र जीवन दिन नसक्ने मात्र होइन कि उल्टै ऊ आफै समाप्त हुने संभावना रहन्छ । नबलने पीण्ड किन सूर्य हुन सक्थ्यो र ?  शिक्षक हुनुको नाताले निरन्तर अध्ययन (औपचारिक एव्ां अनौपचारिक ) को खाँचोलाई सदैव स्मरण गरिरहनु होला । निरन्तर अध्ययनबिना प्रभावकारी अध्यापन असंभव हुन्छ । सङ्ग्रहित ज्ञान अनिवार्य भए पनि  असल शिक्षकका लागि ती पर्याप्त भने होइनन् । अतः आर्जित ज्ञानलाई उपयुक्त विधि, सीप, प्रविधि र सामाग्रीको माध्यमबाट विद्यार्थीहरुमा हस्तान्तरण गर्न सक्षम हुनुपर्छ । संभवत यही कारणले अध्यापनलाई कला पनि भनिएको होला । आसा छ, ज्ञान बाँड्ने कलामा यहाँहरु सबैजना एकसेएक खरो उत्रनु हुनेछ ।
                 शिक्षकको एकोहोरो मिहिनेतले मात्र सिकाई कार्य प्रभावकारी नहुने तथ्यमा यहाँहरु सहमत नै हुनुहुन्छ । तसर्थ, कक्षा कोठामा थकाई लाग्ने गरी आफूले मात्र एकोहोरो मिहिनेत गर्नुको साटो विद्यार्थीहरुलाई नै पढ्नु÷पढाउनु पर्ने पाठसँग संबन्धित तथ्याङ्क, सूचना सङ्कलन, शैक्षिक सामाग्रीको निर्माण, पढेका पाठको सारसंक्षेप प्रस्तुती लगायतका काममा संलग्न र व्यस्त राख्न सकियो भने ऊनीहरुले कहिल्यै नबिर्सने गरी सिक्न सक्छन् । अर्कातर्फ सिकाइसँग सम्बन्धित काममा आफ्ना छोराछोरीको बढ्दो संलग्नताले अभिभावकहरुलाई पनि बेहद खुसी तुल्याउछ । असल शिक्षकको हैसियतले प्रभावकारी सिकाइका लागि दुइतर्फी सञ्चार (शिक्षक–विद्यार्थी–शिक्षक) लाई महत्व दिनैपर्छ । प्रभावकारी र दिगो सिकाइका लागि तपाईं शिक्षकहरुभन्दा विद्यार्थीहरु नै कक्षाकोठामा धेरै बढी सक्रिय र जागरुक हुनु आवश्यक छ । कक्षाकोठालाई शिक्षकले सिकाउनेभन्दा धेर विद्यार्थीहरुको सिक्ने मैदानको रुपमा स्थापित गरिनुपर्छ । 
विशेष गरेर तल्ला कक्षाका विद्यार्थीहरुले आफ्नो शिक्षकलाई सबैथोक जान्ने आदर्श व्यक्तिको रुपमा ग्रहण गरेका हुन्छन् । त्यसैले, सदा ऊनीहरुले केही न केही सिक्न सक्ने गरी यहाँहरुको उपस्थिति र प्रस्तुती अनिवार्य हुन्छ । विद्यार्थीको घरपरिवार र वरपरका समुदायले पनि याद र प्रशंसा गर्ने गरी विद्यार्थीहरुलाई असल बानीबेहोरा र आचरण पनि सिकाउनु पर्छ । असल बन्न अभिप्रेरित गरी रहनुपर्छ । मिल्दो विषय पढाउने शिक्षक साथीहरुले ऊनीहरुलाई पितापूर्खाले प्रयोग गर्ने ढिकी, जाँतो, उड्कल, लुसी, घट्ट, सिलौटो, लोरो, ठेकी, मदानी, भकारी, थुन्से आदिजस्ता परम्परागत सामाग्रीहरु बारे जानकारी हासिल गर्न अभिप्रेरित गरिहनुपर्छ । हाम्रो आसपासको समाज न ज्यादै पछौटे, न ज्यादा आधुनिकको अवस्थामा रहेकोले संस्था र तपाईं साथीहरुले गर्नु भएको मिहिनेतको विद्यार्थीमार्फत अधिकतम् बजारीकरण गर्नुपर्ने  आवश्यकता देख्छु, म । यसतर्फ यहाँनेर उत्सुक हुनुभयो संस्थाले निश्चय नै साथ र सहयोग दिनेछ । अहिले विकसित भएको सञ्चार, सूचना र प्रविधिको प्रयोग प्रभावकारी अध्यापनको लागि अपरिहार्य भएकोले यसतर्फ अद्यावधिक हुन अल्छि गर्नुहँदैन । माथिल्लो कक्षाका विद्यार्थीहरुले कक्षामा अध्यापन गर्ने शिक्षक साथीहरुको पनि ज्ञानको अद्यावधिकता, तपाईंले बताउनु भएको विषयको प्रमाणिताको निरन्तर परीक्षण गरिरहेका हुन्छन् । कतै अन्यथा भयो ऊनीहरुले शिक्षकलाई विश्वास नगर्ने अवस्था पैदा हुनसक्छ । अतः सदैव सजगता असल शिक्षकको महत्वपूर्ण विशेषता भन्ने तथ्यलाई राम्रोसँग हेक्का राख्नुपर्छ । हिजो यो संस्था एक्लैले अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने सुअवसर प्राप्त गरेको थियो । अहिले पाइला पाइलामा तिव्र प्रतिष्पर्धा छ । सघन प्रतिष्पर्धाको बीच आफ्नो संस्थालाई सबैभन्दा उम्दा बन्नु पर्ने दवाव छ । नबिर्सनुहोला संस्था उम्दा हुनु भनेको अध्यापन गर्ने तपाईं साथीहरु र अध्ययन गर्ने विद्यार्थीहरु उम्दा हुनु हो ।  
                   संस्थाले शिक्षक–कर्मचारीहरुको आकांक्षा र अभिलाषालाई अनदेखा गर्न हुँदैन र राम्रो र गतिलो संस्थाले गर्दैन पनि । यहाँहरुको अव्यक्त कतिपय अपेक्षा र आसाको संबन्धमा संस्था बेलैमा जानिफकार हुनैपर्छ । आज र अहिलेबाट यहाँहरु अध्ययनरत विद्यार्थीहरुलाई आगामी दिनमा पनि आफूले अध्यापन गर्ने संस्थामा नै पढ्ने गरी उत्प्रेरित गर्ने र नयाँनयाँ विद्यार्थीहरुलाई अध्ययनका लागि संस्था भित्र्याउने अभियानमा भगीरथ प्रयत्नकासाथ जुट्नु भयो भने संस्था आर्थिकरुपले सुदृढ, सामाजिक दृष्टिकोणले प्रतिष्ठित र प्राज्ञिक दृष्टिकोणले अब्बल बन्दै यहाँहरुको अपेक्षा पूरा गर्न सक्ने गरी सामथ्र्यवान बन्छ । यहाँहरुले संस्थालाई न्याय गरिरहने र संस्थाले बदलामा अन्याय गर्ने भन्ने हुनै सक्दैन । त्यसैले आउनुहोस, हाम्रो संस्था हामी आफै बनाउँछौं भन्ने सङ्कल्प गरौं । संस्थालाई आर्थिकरुपले सृदृढ र पठनपाठनको गुणस्तरीयताको दृष्टिकोणले विशेष बनाऔं र, तपाईं हामी पनि सम्मानित संस्थाका सम्मानित र संतुष्ट शिक्षक, कर्मचारी बन्ने प्रण गरौं ।