2026 August 24/ 05:02: 26am

     साँस्कृतिक एवं पुरातात्विक हिसाबले विश्वकै सर्वश्रेष्ठ सम्पदाको जीवन्त शहर वर्तमान नेपालको केन्द्रिय राजधानी काठमाडौ उपत्यकाबाट करिब २५ किलोमिटर पूर्वतर्फ एउटा अत्यन्तै सुन्दर, अर्को उपत्यका भित्र सानो तर ऐतिहासिक महत्वको काठमाडौ उपत्यका भन्दा पनि प्राचीन अर्थात एक किंबदन्ती अनुसार काठमाडौ उपत्यका ठुलो तलाउको रुपमा हुदाँ बनेपा एउटा सानो राज्यको रुपमा रहेको मानिएको अर्को जीवन्त शहर बनेपा अवस्थित छ । परापूर्व काल देखि वस्तिका रुपमा विकसित हुँदै आएको यो क्ष्ोत्र मल्लकालीन समयसम्म आईपुग्दा साँस्कृतिक, धार्मिक एवं सामाजिक रुपले अझै विकसित भएको पाईन्छ । ‘बने’ शब्दले नेवारीमा व्यापार भन्ने बुझाउँछ भने ‘पा’ ले देश अथवा बस्ति बोध गराउँदछ यस अर्थमा तत्कालिन अवस्थामा पनि यो बस्ति व्यापार तथा व्यापारीहरुको मुल थलो भएकाले एवं तिव्बतको भोट सँग पनि राम्रो व्यापारिक सम्बन्ध भएकाले नेवारहरुले यो सहरलाई भोंत या भोदे पनि भन्दछन् । त्यसबखत बनेपा, नाला, साँगा, धुलिखेल, श्रीखण्डपुर, पनौती, चौकोट सात गाउँ मध्येकै सम्पन्न र समृद्ध यो बनेपा व्यापारीक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण गाउँको रुपमा रहेको थियो । यसको ऐतिहासिक प्रमाण यहाँ रहेका विभिन्न मठ, मन्दिर, देवताको मुर्ति, पोखरी, बाहाल, सत्तल, ढुंगेधारा, ईनार, चैत्य र बनेपाकै उत्कृष्ट कलाकृति सुर्यमुर्ति लगायतका नेपालमै प्रसिद्ध रहेका चण्डेश्वरीमाईको विशाल कलात्मक तीनतले मन्दिर र धनेश्वर महादेव मन्दिर आदिले पुष्टि गर्दछ । प्राचीन कालदेखि अत्यन्तै महत्वपूर्ण शहर नेवारहरुको बस्ति बनेपाको प्राचीन एवं मल्कालीन अवस्थिति कस्तो थियो यसको आफ्नै मौलिक पक्षहरु के के हुन् र खास गरेर बनेपाको महत्वपुर्ण मौलिक पाटोहरु मध्य अष्ट विनायक यसका बारेमा जान्ने बुझ्ने उत्सुकता हामी प्राय ः सबैलाई नै हुन्छ ।
परापुर्वकालमा नेपालभित्र अष्ट दिक्पाल, अष्ट भैरव, अष्ट स्मशान अथवा अष्ट मातृकाले परिवेष्ठित गराई देश बस्ति निर्माण गर्ने चलन थियो । त्यसै अनुरुप बनेपामा  मल्लकालमा कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले हालको पुरानो शहर तात्कालिन नयाँ बनेपा सहर निर्माण गरी ८ पाटि, ८ पोखरी, ८ द्धार, ८ बहाल र ८ गणेशले परिवेष्ठित गराएका थिए । भनिन्छ त्यतिखेर तीनत्वापो बनेपाको उत्तर उच्च भाग हालको आजाद स्कुल अगाडी टाकुरोमा प्याँगोडा शैलीमा नौतलै भगवती मन्दिर थियो सो ठाँउमा भुजगं नाम गरेको नाग बास गर्दथ्यो । त्यहाँबाट नै पानीको मुल फुटेको र सोही पानी आठै गणेश मन्दिर आसपासका ८ पोखरीमा जाने गर्दथ्यो । बनेपा शहर दक्षिणभिमुख छ । दक्षिण दिशा शुभ कार्यका लागि उचित मानिदैन । त्यसै दोष निवारण गराउन पुरै आठ गणेश दक्षिण अभिमुख गराई बनेपा नगरका शुभ,शान्ति र सुरक्षा कायम गराईएको थियो । गणेश भगवान रिद्दि सिद्दिका पति र शुभलाभ का पिता भएका कारण शहरबाट बाहिर जाँदा पनि यसलाई दर्शन गरेर जाने जसले गर्दा आफुले आँटेको काम पुरा हुने मान्यता थियो र बाहिरबाट आँउदा पनि दर्शन गरेर शुभ प्रवेश गर्ने चलन थियो । खास गरेर हिन्दु परम्परामा गणेशलाई महत्वपूर्ण देवता मानिन्छ र गणेश भगवानलाई प्रथम पुजा गरिन्छ । त्यसैले प्राचीन, मल्कालीन नेपालमा मुख्य मुख्य शहरहरुको अग्रभागमा गणेश स्थापना गर्ने र पुजा गर्ने प्रचलन थियो जुन यद्यपी छदैछ । यसरी विनायकले घेरीएर बनेको शहर भएकाले बनेपालाई विनयापुरी पनि भनिन्थ्यो । यसको प्रमाण विभिन्न पुराना ताम्रपत्र र अभिलेखहरुमा पाईन्छ  । त्यसबखत बनेपा ढुगांको पर्खालले घेरीएको थियो त्यसबिचमा बस्ति बसाइएको थियो । बस्ति भित्र अर्थात तात्किालिन पर्खाल भित्र पनि विभिन्न गणेशहरु प्रिवेष्ठित गरिएको थियो । त्यस मध्ये भोलाखा गणेश सबभन्दा पुरानो हुनुपर्दछ भनेर मानिन्छ । आनन्ददेवले ८ गणेश परीवेष्ठित गरेर तत्कालिन नयाँ बनेपा निर्माण गर्नुभन्दा अगाडी नै बनेपामा भोलाखा भन्ने सानो बस्ति मात्र थियो भनिन्छ । हाल पनि बनेपाको मौलिक संस्कृति कन्यापूजा प्रारम्भ गर्दा यहि गणेशको अग्रपुजा गर्ने प्रचलन रहिआएको छ । त्यस्तै बनेपाको दक्षिण भागको कोसा भन्ने ठाँउमा एउटा अमुर्त गणेश छ जुन मन्दिरको द्दार छैन । एक किवंदंतिका अनुसार एकपटक बनेपामा बाहिरी शत्रुहरुले आक्रमण गर्दा हार पश्चात यहाँका राजा यहीं द्दारबाट भागेकाले यहाँका बासिन्दाले उक्त द्दार भत्काईदिएका थिए भनिन्छ । मैले उल्लेख गरेका यी दुवै गणेश अर्थात भोलाखा गणेश र अमुर्त कोसाका गणेश ८ गणेश भित्र पर्दैनन् । यी गणेश दक्षिणभिमुख नभएर पुर्वाभिमुख छन् । यस अर्थमा यी गणेशहरु अभैm पुराना  हुन् भन्न सकिन्छ । 
आज मैले उल्लेख गर्न खोजेको विषय ८ गणेशको साथ साथै ८ पोखरी,८ द्धार,८ पाटीको पनि हो । दुर्भाग्य वस अष्ठ गणेश संगसंगै रहेका कतिपय चिजहरुको अस्तित्व नै मेटिसकिएको छ । अवशेस पनि नभेटिने अवस्थमा रहेका छन् । यो ज्यादै  दुःखद कुरा हो । हाम्रा अमुल्य सम्पदाहरु त्यसको खोज अन्वेषण नै गर्न नपाई लोप भएभने हाम्रो ईतिहास नै हराउँदछ । हाम्रा भावि सन्ततीहरुले त्यसको बारेमा थाहा नै पाउने छैनन् र आफ्नो सभ्यताको मुल र तात्कालीन विकास क्रम नै अज्ञात भएर  जान्छ । यो ज्यादै दुःखको कुरा हो । अब जे जति कुराहरु छन् त्यसको संरक्षण सम्बद्र्धन हुनु जरुरी छ र अझै अन्वेषण, खोज र जानकारी लिन जरुरी छ ।
त्यहि अभिप्रायले बनेपामा रहेका सम्पदाहरुको संरक्षण सम्वर्धन हुनुपर्दछ एवं बिग्रिएका नासिएका चिजहरुको पुनर निर्माण हुनुपर्दछ भन्ने धारणाले हामी बनेपाबासी यहि ठाउँको बासिन्दा भएको नाताले आवाज उठाउन समन्वय र सहकार्य गर्ने उद्देश्य अनुरुप बनेपा शुभ बिहानी समुह मार्फत हामी सबै मिलेर पहिला यी अष्ठ गणेशको भम्रण गर्ने र त्यसको ऐतिहासिक तथ्यहरु थाहा पाउने भनेर बिहानी पदयात्राको मिति २०७८ पौष १३ गते मंगलबारको दिनमा आयोजना गरिएको थियो । हामीले भ्रमण गर्दा यी अष्ठ गणेशको अवलोकन पश्चात पाएका जानकारी र प्राचीन बनेपा सम्बन्धि विभिन्न पुस्तकहरुको स्वअध्ययन बाट थाहा पाएका ऐतिहासिक तथ्य एवं विवरणहरु मैले राख्ने कोसिस गर्दैछु ।
उक्त दिन बिहान करिब ५ः३० भित्र हामी २५ जना उपस्थित भई वकु गणेशको अवलोकनबाट भम्रण सुरु गरेका थियौं । त्यस ठाँउमा हाल रहेको मन्दिर भत्काईदै थियो । त्यसको सट्टा दुईतले पैगोडा शैलीमा मन्दिर बनाउने योजना रहेछ । जुन ज्यादै सराहनिय छ । नेवारी भाषामा वा को अर्थ पुर्व हो अतः बनेपा बजारको पुर्वीद्धारमा अवस्थित यो गणेश नै वकु गणेश हो । यसकोसँगै रहेका पाटि द्धार भने लोप भईसकेको छ । पोखरीको भने हाल संरक्षण भईरहेको छ । यहिको बाटो भएर तिब्बत भोट जाने व्यापारीक मार्ग भएकाले यो गणेश देवता बाणिज्यसँग सम्बन्धित रहेको र बाहिरबाट धन भित्र्याउने देवताको रुपमा लिइएको पाईन्छ । यसका साथै बकुटोल बनेपाकै व्यपा।रीक केन्द्रिय थलोको रुपमा रहेको भन्ने बुझिन्छ । यस्तै कुराहरु हाम्रा समुहका साथिहरुले बताउनुभउको थियो । हामीले मिलेर त्यस वरपर सरसफाई गर्यौं । त्यस पश्चात त्यहाँबाट दक्षिण पश्चिम तिरको क्वःवाह गणेश तफ लाग्यौं । 
क्वःवाह गणेश मान्नधरहरुको टोल भित्र बनेपाको आग्नेय कोणमा अवीस्थत छ । यो गणेश कृषिसँग सम्बन्धित रहेको थाहा पायौं । प्यागोडा शैलीमा निर्मित दुई तले मन्दिर निकै सुन्दर काष्ठकला ले भरिपुर्ण टुँडाल द्दार हरुले अझै सुसज्जित देखिन्छ । हामीले बुझ्दै जाँदा तात्किालन समयमा वर्षाको याममा खडेरी लागेर बनेपामा रोपाई गर्न नसकेको बेलामा यो गणेशलाई कुखुराको बली सहित पूजा गर्ने र चण्डेश्वरी सहित अन्य देवीहरुको पुजा (जसलाई देश पूजा पनि भनिने रहेछ) गर्दा पानी पर्ने र राम्रो सँग कृषि कार्य गर्न सकिने मान्यता रहेछ । जुन यद्यपि पनि गरिने रहेछ । यस गणेशको समिपमा पार्टी र पोखरी यद्यपि देख्न सकिन्छ भने द्धारको अवस्था लोप भएको पाइयो । २०१७ सालमा बनेपामा ठुलो अग्नि काण्ड हुदाँ क्वःवाह पोखरीको पानीले आगो निभाउन ठुलो सहयोग पुगेको थाहा पाईयो । त्यसपश्चात गणेश मन्दिर वरीपरी सरसफाई गरी सामुहिक तस्विर खिचेर हामी तुकंप्वगणेश हाल चैतन्य विद्यालयको पुर्वपट्टी रहेको गणेश स्थानमा प्रस्थान गर्यौं । त्यस मार्गको बिचतिर पुग्दा हाम्रा समुहका बिराद दाईले कोसा भन्ने ठाँउमा अमुर्त गणेश त्यससँग सम्बन्भित केहि कुरा गर्नुभएको थियो जुन मैले अगाडिनै राखिसकेको छु ।
तुकंप्व गणेश अलि पहिला संगैको पश्चििम बाटोभन्दा दुईतिन फिट तल अवस्थित थियो । यसको पुर्ननिर्माण पश्चात सँगैको बाटोभन्दा तीनचार फिटनै मन्दिर माथि उठेको हामी पाउँछौ । दुईतले पैगोडा शैलीको मन्दिर हेर्दा सुन्दर देखिन्छ । त्यहाँ पनि केहि जानकार साथीहरुले त्यससँग सम्बन्धित केहि कुराहरु राख्नुभयो । जसमध्ये पछि मैले यससँग सम्बन्धित कुराहरुको अध्ययन गर्दा राजा आनन्ददेवले बनेपा शहरको निर्माण गर्दा चौकोटबाट एउटा शिला ल्याई तुकंप्व गणेशको जीव प्रतिष्ठा गरेका थिए पछि चौकोटेहरुले उक्त शिला लगेको थाहा पाएर उक्त शिला फिर्ता लिने प्रयास गरे र त्यो शिलाको माथिल्लो भाग मात्र काटेर चौकोट लगेर त्यहाँ गणेश स्थापना गरे । माथिल्लो भाग काटेर लगेकाले त्यो ठाँउको नाम चोखा रहन गयो । नेवारहरु चौकोटलाई चोखा भन्दछन् । बाँकी तल्लो भागमात्र यहाँ रहन गएकाले यो गणेशको नाम तुकंप्व रहन गएको भनेर भनिन्छ । यो गणेशको पुजा गर्दा हराएको सामान फेला पर्ने र विदेशिएका आफन्तहरुको खबर प्राप्त हुने विश्वास गरिन्छ । यहाँ पोखरी र द्दारको अवशेष पनि भेटिदैन तर पाटी र पोखरी यद्यपि देख्न सकिन्छ । यहाँ पहिला पहिला मानन्धरहरुले विजया दशमीको दिन धातु निर्मित सुन्दर मुर्ति खटमा राखेर विधिवत् बाजागाजा सहित जात्रा मनाईदो रहेछ । यस मन्दिर वरपर पनि हामी सबै मिलेर सरसफाई गरी सामुहिक तस्विर खिचेर त्यहाँबाट पुनः उत्तर हुदै पश्चिमतिर रहेको क्वलाः गणेश तिर लाग्यौं ।
वर्तमान शिक्षा सदन उच्च मा.वि.स्कुल र लायकुदरबार को तल्लो भागको दक्षिणतर्फ बनेपाको नैऋत्य कोणमा दुईघरको बिचमा अवस्थित यो गणेश नाचिरहेको गणेश हुन् भनिदो रहेछ । यो गणेशको चाहिँ स्पष्ट मुर्ति देख्न सकिन्छ । यो भन्दा अगाडी हामीले हेरेका गणेशको शिला मात्र स्थापित भएको देखेका थियौं । यो गणेशको समिपमा पाटि र पोखरी यद्यपी देख्न सकिन्छ । द्धार चैे स्पष्ट छैन र पोखरी पनि पुनः निर्माण गर्दा साँघुरो बनाईएको देखियो प्राचीन महत्वका चिजहरुको निर्माण पुनः निर्माण गर्दा प्राचीन स्थिति र स्वरुप सकेसम्म बिगारेर बनाउनु हुदैन भन्ने लाग्छ । त्यसपछि हामी त्यहाँबाट पश्चिम हुदैँ फेरी उत्तरतर्फ नाला जाने बाटोबाट पुनः पश्चिममा अवस्थित तला पुखू गणेशतर्फ लाग्यौ । 
मलाई याद छ हामी सानो हुँदा यो गणेश माटोको टाकुरा जस्तो थुम्को माथि थियो । हामी स्कुल जाँदा त्यही गणेश घुमेर जान्थ्यौं । स्कुल हाफ छुट्ीमा त्यहीँ खेल्न पुग्थ्यौं । तर अहिले यसको अवस्थिति फेरिएको छ । । छेउमै घर बनेको छ । गणेशको पूर्ण आर्कति देख्न सकिने यो गणेशको पाटी भने लोप भईसकेको छ । पुरानो द्धारको अवशेष पनि छैन । पहिला पहिला उपत्यकाबाट बनेपा आउने मुल बाटो नै यहि थियो यो बाटो यद्यपी छँदैछ । यसको सँगै पोखरी भने देख्न सकिन्छ । भक्तपुरको नवदुर्गा गण प्रवेश गर्दा पहिले यहि गणेशथानमा देवीको वस्त्र ,मकुण्डो एवं गरगहना विसाईन्छ । पछि विधिवत् रुपमा वाजागाजा सहित नगर प्रवेश गराईन्छ । त्यहाँ पनि हामीले सरसफाई गर्यौ र जानकार साथीहरुले त्यहाँसँग सम्बन्धित विभिन्न कुराहरु राख्नुभयो र त्यसपछि हामी बनेपाको प्राचीन लायकुतर्फ हुँदै पुनः उत्तरपट्टिको प्वाकः गणेशतर्फ लाग्यौं ।
हामीले थाहा पाए अनुसार बनेपाका सबै गणेश दक्षिणतर्फ फर्किएका छन तर प्वाकः गणेश पूर्व तर्फ फर्केको छ पछि यसलाई त्यसरी सारीएको होला भन्ने जुन युक्तिसंगत देखिदैन । हालको ध्यानकुटि विहारको माथि बनेपाको बाहव्य कोणमा यो गणेश अवस्थित छ । नेवारी शब्दमा प्वाकः को अर्थ खोपिल्टो, खाल्डो भन्ने बुझिन्छ । यो गणेशको आकृति पनि खोपिल्टो भित्र देख्न सकिन्छ । त्यसैले यसलाई प्वाकः गणेश भनिएको हुनुपपर्दछ । तर केहि स्थानियले भने क्वाक ः गणेश पनि भनिएको पाईयो । बनेपालीहरुले चाडपर्वहरमा जाँड रक्सि तयार तयार गरेपछि सर्वप्रथम यहि गणेश देवतालाई चढाउने प्रचलन रहेछ । यो गणेशको पनि पोखरी, पाटि र द्धार लोप भइसकेको पाईयो । त्यहाँ पनि केहि सरसफाई गरीसकेपछि बजार भित्रबाटै पूर्वतर्फको बाटो हुदै हामी केहि पर थाच्छुः गणेश तर्फ लाग्यौं ।
हाल बादेहरुको बाहुल्य रहेको टोल संगै एउटा पोखरी थाच्छुः गणेशको दक्षिण पश्चिम पट् िदेखियो । यो गणेशको पनि मुर्ति छैन सानो चौतारो बनाएर खोपा मन्दिर भित्र अमुर्त चार तहमा ढुंगाको शिला देख्न सकिन्छ । यो गणेश बनेपाको उत्तरपट्टि माथिल्लो भागमा पर्दछ । थागु अर्थात उत्तरपट्टि माथिल्लो जंगल भन्ने अर्थमा पछि थाच्छुः गणेश हुन गएको होला भन्ने बुझ्न सकिन्छ । यहाँ पनि हाल पाटि र द्घारहरु देख्न सकिदैन अर्थात लोप भईसकेका छन् । त्यहाँ पनि हामीले सरसफाई ग¥यौं र सामुहिक तस्बिर खिचाउँदै त्यसपछि अब आठांै अर्थात आजको यात्राको अन्तिम गणेश काँथु गणेश बनेपाको उत्तर पुर्व पट्टि अवस्थित गणेशतर्फ अगाडि बढेयौं । भक्तपुरमा राजा जयस्थिति मल्लको पालामा बनेपाका प्रभावशाली महामन्त्री एवंम राजनितिज्ञ जयसिँहराम बर्दनेको दरबार काँथु गणेशबाट उत्तर पश्चिम थियो । जसलाई काठःगढ भनिन्थ्यो । काठःगढ पछि अपभ्रंश भएर काँथु गणेश हुन गयो भनिन्छ । हाल यस गणेशको नजिक पाटि पनि देख्न सकिन्छ भने तलपट् िपोखरी पनि संरक्षण गरीएको देख्न सकिन्छ । ढुंगेधारा संगै रहेको यो गणेशको पुजा अर्चना गर्दा घाँटी दुखेको निको हुन्छ भन्ने मान्यता रहि आएको पाईन्छ हाल यसको द्घार पनि लोप भईसकेको छ यहाँ पनि हामी सब मिलेर सरसफाई गरीयो र बिहानी पदात्राको समापन ग¥र्यौं ।
हामीले यो पदयात्रा गर्नुको मुख्य उद्येश्य भनेको सर्वप्रथम यस्ता ऐतिहासिक धरोहरको पहिचान गर्ने वर्तमान स्थितिको अवलोकन गर्ने नै हो र भविष्यमा यस्ता लोप भएर जान सक्ने चिजहरुलाई कसरी पुर्नस्थापित गर्ने र त्यसका लागि सरोकारवालाहरुलाई एवं स्थानीय सरकारलाई घच्घच्याउने परिआए समन्वय गरेर अग्रसर भएर काम नै गर्ने हो । बनेपा भित्र सांस्कृतिक महत्वको पदयात्रा स्थलको पहिचान विकास गर्नु पनि यसको अर्को मुख्य उदेश्य हो । बनेपामा अष्ठ गणेश मात्र होइन त्यस समयमा ९ बहाल ,९ ननी, ९ ढुंगेधारा, ९९ वटा ईनारहरु पनि थिए हाल ती मध्ये धेरै चिजहरु नाश भएर गैसके भने तत्कालीन हाम्रा सांस्कृतिक पर्वहरु त्यसमध्ये बनेपाको चन्द्रसुर्य मखुन्डो नाच , नव वर्षमा विष्केटको लिंगो उभ्याउने जात्रा, अक्षय तृतीयाका दिन मनाउने बोकाख जात्रा र करुणमयको तिकम्पा राखि धान्यपूर्णिमा मा मनाउने जात्रा यी सबै लोप भईसकेका छन् । यो हाम्रो संस्कृतिमा अपुरणिय क्षति हो । हाम्रा मौलिक बाँजागाजा त्यस्का मौलिक धुनहरु पनि बजाउने मान्छेको अभावमा अहिले लोप भएर गइसकेका छन त्यस्तै अन्य धेरै देवीदेवताका मठ मन्दिर चैत्यहरु प्नि जिर्ण र कतिपय लोप भएर गएका छन् । अब यसको पुनःउत्थानका लागि पुनस्र्थापना लागि जागरण ल्याउनु पर्दछ । यसको संरक्षण र संर्वद्वन गर्ने जिम्मा भनेको स्थानियकै हो । पहिला हामीले हाम्रा चिजको माया गरौं, संरक्षण गरौं त्यसपछि यसले चिनारी प्राप्त गर्नेछ र अरुले पनि यसलाई माया गर्नेछन् । अब व्यापक रुपमा बनेपाको ऐतिहासिक स्थल एवं सम्पदाहरुको तथ्यहरुको उत्खनन्, अध्ययन हुन जरुरी छ । कहि नभएका मौलिक हाम्रा चिजहरु तथा सम्पदा संस्कृति र पर्वहरुको संरक्षण हुनु जरुरी छ । यसलाई अझै जिवन्त पारेर हाम्रा भावि सन्ततिका लागि जस्ताको तस्तै सुम्पिन जरुरी छ ।