यतिखेर मलाई प्रशिद्ध गायक शिशिर योगीले गाउनु भएको एउटा गीतको सम्झना आइरहेछ । जुन गीतको शब्दभाव रहेको छ– “यो देशमा म यौटा मानिस खोजीरहेछु ।” जुन गीतको शब्दभावले मलाई बेलाबेलामा भित्री मनसम्म बिज्ने गर्दथ्यो । अहिले पनि यो गीतको शब्दभावलाई अत्यन्त प्रियकासाथ मनमा लिने गर्दछु । हो, यहि गीतको भाव अनुसारको यो देशमा एउटा असल राजनेताको आवश्यक रहेको मैले देखि रहेकोछु । जो ब्यक्ति त्यस्तो होउन् कि पद र सत्ताका लागि भन्दा पनि देशको हित र सम्पूर्ण नागरिकको कल्याण तथा सम्वृद्धिका लागि समर्पित होउन् । आ–आफ्नो सन्तान र आफ्ना विशेष ब्यक्तिका हितका लागि भन्दा बिना स्वार्थ देश र राष्ट्रिय उन्नति प्रगतिका लागि ध्यान दिने ब्यक्ति होउन् । नेपालमा यस्तै ब्यक्तिको जन्मको खाँचो देखिएको छ । हुन त यो देशमा पनि विश्व मानव जगत्कै लागि अहिंसा र शान्तिको ज्ञान दिने गौतम बुद्ध र राष्ट्रिय एकताका लागि ज्यानकै बाजी राखेर विशाल नेपालको निर्माणमा अग्रसर पृथ्वीनारायण शाहको जन्म नभएको होइन । यस्तै सबैका लागि समान न्याय दिने राजा राम शाह र सबैले खाना खाइसके (भोजन गरि सके ) पछि मात्र आफू खाने राजा महिन्द्र मल्ल जस्ता जनप्रेमी राजा पनि यो देशमा नजन्मिएका हैनन् । अपवादका पुराना यी राजा शासकहरू बाहेक कतिपय बिदेशी र स्वदेशी शासकहरू नै पनि भोग बिलास र ऐयासी जीवन बिताउनमा सोख भएका राजाहरूको पनि अनगिन्ती उदाहरण दिन सकिन्छ । यसैले पनि ती शासकहरू वा राज्य प्रमुखहरू जनशासनबाट च्यूत हुन परेको ऐतिहासिक घटनाहरू सुन्न पढ्न पाएका छौँ । यसो त दक्षिण अफ्रिकाका काला जातिका नेता नेल्सन मण्डेला जसले काला जाती माथी गोरा जातिका शाषक वर्गले गर्दै आएको रङ्गभेद नीति बिरुद्ध २७ वर्षको लामो जेल जीवनबाट छुटकारा पाइसके पछि जुन जनताहरूको अपार माया र आग्रहबाट शासनको बाग्डोर सम्हाल्ने अवसर प्राप्त गरे । उनले सत्तामा पुगेको उन्मादले कुनैपनि गोरा वर्ग माथि प्रतिशोधको भावनाले हेरेन । बरु आफ्नो पहिलो कार्यकालको पूर्ण सफलता पछि पनि अर्को कार्यकालको लागि समेत सरकारको नेतृत्व गर्न गरिएको आग्रहलाई उनले बिनम्रताका साथ अरु थप कार्यकालको लागि सत्तामा नबस्ने घोषणा गरे । जसलाई सत्ता त्यागको महान्ताको रुपमा लिन सकिन्छ । थप अरु ५ वर्षको जनताको अनुरोधलाई समेत स्वीकारेन र सत्ता बाहिरै बसेर सरकार र जनतालाई सहयोग गर्ने प्रतिबद्धताकासाथ सत्तामा बस्ने चाहना गरेनन् । यस्तैगरी आफूलाई आएको सरकारको नेतृत्व गर्न पाएको अवसरलाई अर्कै ब्यक्ति (कृष्णप्रसाद भट्टराई) लाई प्रस्ताव गर्ने नेपाली काँग्रेसका नेता गणेशमान सिँह र देशको विकासमा उर्जा दिई सामाजिक हितका क्षेत्रमा दीर्घकालिन सोचका धनी मनमोहन अधिकारी जस्ता ब्यक्तिको पनि जन्म नभएको र अवसर नआएको होइन । तर यी निस्वार्थी भावका नेता र सरकार प्रमुख (प्रधानमन्त्री) लाई यिनै सत्ता स्वार्थका लोभीपापीहरूले कदर गर्न र सत्तामा टिकिरहन दिएनन् । यसैको नराम्रो फल अहिले हामीले भोग्न परिरहेको छ । जीवनभर राजनीतिमा स्पाट झैं अडिग रहेका सर्वमान्य नेता गणेशमान सिँहले जीवनको र राजनीतिकै उत्तराद्र्धतिर नेपाली काँग्रेसबाटै सन्यास लिन बाध्य बनाए भने देश परिवर्तनको उच्च भावना भएका क. मनमोहन अधिकारीको सरकारलाई उहाँले गर्नुभएको लोकप्रिय कार्यहरूबाट अत्तालिन पुगेका तत्कालिन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस समेत भै मनमोहनको सरकारलाई सरकारबाट हट्न बाध्य बनाए । एकहप्ता समेत कुर्न नसकी शिक्षण हस्पिटलको शैयाबाटै देशवासीलाई सम्बोधन गर्न बाध्य बनाए । हो यहिँबाट सुरू भएको दलहरूको अस्वस्थ गतिविधी र सांसद् खरिद बिक्री जस्ता घृणित प्रवृत्तिले उग्ररुप लिन पुग्दा सांसद् जस्तो देशको उच्च र गरिमामय स्थानमा पुग्न सफल सांसद् र पार्टीहरूले आफ्नो गरिमालाई बचाउन सकेन । सांसद् र दलहरूको इज्जत, प्रतिष्ठा तथा गरिमा नै सडकको भुस्याहा कुकुरको जति पनि कायम राख्न सकेन । सत्तामा पुग्नकै लागि जस्तो पनि काम गर्न पछि परेन । यो बेलाको सांसद्हरू र पार्टीले खेल्न पुगेको भुमिका सम्झेर अहिले पनि सरम लागेर आउँछ । हो यस्तै वा यहि प्रवृत्तिको फोहोरी खेल अहिले फेरि दोहोरिन पुगेको छ । मात्र के मा फरक छ भने २०५२ सालमा तत्कालिन एमालेको मनमोहन अधिकारीले ल्याएको देश र जनताको अधिक हित हुने कार्यक्रमहरू ल्याए बापत तत्कालिन बिपक्षीहरूको मनमस्तिस्क र पेटभित्र औडाहा चलेर सरकार ढाल्न सफल भए । जतिखेर तत्कालिन एमाले देशको सबभन्दा ठूलो दलको रुपमा मात्र संसद्मा उपस्थित थियो । एमाले एक्लैको स्पष्ट बहुमत थिएन । यसकारणले पनि तत्कालिन बिपक्षीहरूलाई एमालेको अल्पमतको सरकार ढाल्न सजिलो भएको थियो ।
तर अहिलेको परिस्थिति अलि भिन्नै खालको रहेको छ । अहिले नेकपा एक्लैको करिब दुई तिहाइको बहुमत प्राप्त सरकार रहेको छ । विपक्षीहरूबाट सरकार संचालनको लागि कुनै बाधा अवरोध थिएन । झिनो मसिना आलोचना तथा बिरोधको स्वरबाहेक सरकार परिवर्तनका लागि कुनै भुमिका खेल्न सक्ने अवस्था थिएन । त्यसैले पनि अहिलेको पटक संसद् बिघटन गर्न बाध्य हुनु परेको कुरामा प्रमुख प्रतिपक्ष काँग्रेसलाई कुनै दोष दिने ठाउँ छैन । अहिलेको यो संसद् बिघटन गर्नुपर्ने खालको समस्या आयो त आफ्नै दल भित्रबाट आयो । यहि दल भित्रको केही सत्ता आकांक्षी र पद लोलुप ब्यक्तिहरूबाट आयो । खासगरी प्रधानमन्त्री केपि ओलीको दुवै मृगौलाको कमजोरीको कारण ५ वर्षको प्रधानमन्त्रीको कार्यकालसम्म पनि बाँच्दैन र दुई अढाई वर्षको बीचमै म प्रधानमन्त्री हुन पाउँछु भन्ने आकांक्षाले बास जमाइएको पाइन्थ्यो भने अर्कोतिर पार्टीको ९ औँ महाधिवेशनबाट पराजित हुन पुगेका माधव कुमार नेपाल आफू पार्टी अध्यक्षमा पराजित भै केपि ओलीको छायाँमा बस्नु परेको पीडा त छँदै थियो नै । तर उहाँलाई के कुरामा झिनो आशा बाँकी रहेको थियो भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली यहि मृगौला समस्याकै कारणले छिट्टै मृत्यु भैहाल्छ त्यसपछिको अध्यक्ष पनि आफै हुन पाउने वा बन्न पाउने भित्री आकांक्षा प्रचुर मात्रामा रहेको स्पष्ट रहेको देखिन्थ्यो । तर उहाँहरूको लागि बिडम्बना के भैदियो भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओलीको दुवै मृगौला प्रत्यारोपन अभूतपूर्व रुपमा सफल भएपछी जुन किसिमले आशाहरू पलाएको थियो त्यो सबै चकनाचुर भैदियो । एउटालाई पार्टी अध्यक्ष र अर्कोलाई प्रधानमन्त्री बन्ने आकांक्षाको बदला अन्य पनि पार्टीको शीर्षस्थ तहमा रहेका पद र सत्ताका भोगीहरू केपि ओलीबाट आफ्नो इच्छा आकांक्षा पूरा नहुने देखेपछि यी नै दुई नेताहरुको फेरो समाई केपि ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनमा लविङ्ग गर्न थाले । सत्ताको मन्त्री पदमा रहेकाहरू वा नरहेका कोहि खासखास ब्यक्तिको फेरो समाई प्रमूख पदहरूमा बस्न सफल भएपनि कसैको आशिर्वादले मात्र उक्त पदहरूमा बस्न पाएको महसुस गरेका ब्यक्तिहरू भने वर्तमान केपि ओली नेतृत्वको सरकारले देश र जनताको लागि के काम गरे, जनताको इच्छा चाहानाहरू के छन् र जनताका समस्याहरूलाई कसरी पूरा गर्ने, सरकारलाई आवश्यक सहयोग गरि सरकार र पार्टीको छविलाई कसरी उच्च बनाउने भन्दामा पनि सरकारको तिब्र आलोचना र बिरोध गर्नतिर समय खर्च गर्न थाले । हुँदाहुँदा संसदीय सुनुवाई, संसदीय समितिहरूबाट पारित गर्नुपर्ने कतिपय निर्णयहरूलाई छलफलमै नलगी रोकी राख्ने, संवैधानिक निकाय वा अङ्गहरूमा नियुक्ति गर्न नदिई अवरोध सृर्जना गर्ने । कतिपय संबैधानिक निकायका रिक्त स्थानहरूमा नियुक्ती गर्नुपर्ने समितिमा अनुपस्थित भै समितिको बैठकनै असफल बनाई दिने । प्रमुख प्रतिपक्ष दलका नेता उपस्थित हुँदा समेत आफ्नै पार्टीका तर्फबाट सभामुख बन्न पुगेका ब्यक्ति समेत आफ्नो तर्फबाट निभाउनु पर्ने भुमिका ननिभाई कोहि कसैको इशारामा सभामुखको भुमिका निभाउने कुराबाट पछि हट्ने र सरकारलाई अप्ठेरोमा पार्ने जस्ता कामहरू गर्न पुगेर दुई तिहाईको आफ्नो सरकारलाई असफल पार्नमा अहम् भुमिका खेल्न पुग्नुले देश र जनताप्रतिको कति जिम्मेवार रहेकोछ भन्ने स्पष्ट भएको देखिन्छ ।
यी सबै अवस्था र कार्यब्यवहारलाई हेर्दा तत्कालिन एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको एकता भावनात्मक रुपमा नभै कुर्सी प्राप्त गर्ने स्वार्थले प्रेरित भएर मात्र भएको रहेछ भन्ने स्पष्ट भएको छ । यदि भावनात्मक रुपमा र साँचिकै पार्टीलाई बलियो र अरू सुदृढ पार्नकै लागि पार्टी एक भैदिएको भए यो ५ वर्षको अवधि ढुक्कले केपि ओलीलाई सरकार चलाउन सहयोग गर्नु पथ्र्याे । कोही कसैबाट पनि यस विपरीत प्रस्ताव आएमा वा प्रम केपि ओली वा मन्त्रीपरिषद्ले केही जनहित विपरीतका कामहरू गरेमा पनि मनमा कुनै प्रतिशोधको भाव नराखी आलोचना गर्ने र सुधारेर अघि बढ्न सल्लाह सुझाव दिनु पर्दथ्यो । आएका आलोचना र बिरोधका कुराहरूलाई पनि मध्यस्थकर्ताको भुमिका निभाई पार्टी र सरकारलाई अगाडि बढाउन सक्नु पर्दथ्यो । यो भुमिका निर्वाह गरिदिएको भए प्रचण्डको अझ उचाइ बढ्ने थियो र आगामी निर्वाचन पछि निर्वाध रुपमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्नमा कोहि कसैबाट अवरोधको गुञ्जायस रहन्न थियो । तर प्रचण्ड यो भुमिका निर्वाह गर्नबाट असफल त भयो नै अबको राजनीतिबाट नै हात धुनुपर्ने अवथा आफ्नै कारणले सृजना गर्न पुग्यो ।
अहिलेको नेतृत्वमा रहेका कुनैपनि दलका नेताहरू नै राष्ट्र र राष्ट्रियताको पक्षमा चिन्तित रहेको देखिएन । आफू सत्तामा पुग्नको लागि अरुको खुट्टा तानेर कसरी झार्ने, आफू र नितान्त आफ्ना नातगोता, आफन्तको भविष्य कसरी माथी उठाउने भन्नेमै सिमित रहे । मुखको सुन्दर र आदर्षमयी भाषणहरूको भ्रममा पारी सत्ताको कुर्सी प्राप्त गर्न सफल वर्तमान नेपालका कुनैपनि नेताहरूले आफ्नो निस्वार्थको महानता देखाउन सकेन । भन्नलाई त सबै दल र दलका नेताहरूले यो देश र देशका जनताहरूलाई स्वर्गको सपना देखाउन पछि पर्दैनन् । यसमा पनि अरू दलभन्दा नेपालका कम्युनिष्टहरू झन् एक कदम अगाडि बढेर देशको सम्बृद्धि र विकास अनि सम्पूर्ण जनताहरूको आर्थिक समानताको मूल उद्देस्य बोकेर अगाडि बढ्ने पार्टीको मीठो कहानी सुनाउनमा कुनै कमी थिएन । हुनत माक्र्स (ऐंगेल्सको साम्यवादी दर्शन, भ्लादमिर इलिच लेनिनको समाजवादी दर्शन र समाजवादी शासन ब्यवस्था, चिनियाँ नेता क. माओत्सेतुङ्गको नयाँ जनवादी बिचार र उनकै नेतृत्वको शासन ब्यवस्था, दक्षिण अमेरिकाको क्यूवाको कम्युनिष्ट नेता वा समाजवादी शासक फिडेल क्यास्ट्रो, उत्तर कोरियाका कम्युनिष्ट नेता तथा शासक किम इल सुङ्ग आदि नेता तथा शासकहरूले आ–आफ्नो देशहरूमा जनतामा आर्थिक समानता ल्याउनमा र देशलाई सम्बृद्ध बनाउनमा अहम् भूमिका खेलेकोमा विश्व ईतिहास साक्षी छ । हो यस्तै महान भावना बोकेको नेताको यो देशमा खाँचो छ । आफ्नो र आफ्नैका लागि भन्दा पनि समग्र देश र जनताको सम्बृद्धि र विकासमा ध्यान दिने एक असल नेताको खाँचो छ । यहि उच्च भावना रहेको एक असल राष्ट्र सेवकको खोजिमा रहेको छु । एसियाकै पूर्वी देश जापानलाई आजको यो अवस्थामा ल्याइ पु¥याउनमा अठारौं शताब्दिका नया आयामका शासक सम्राट मैजीको जुन अहम् भुमिका नै जापान विकासको लागि मार्गदर्शक बन्न पुग्यो, जसरी अमेरिका जस्तो विशाल राज्य र सामन्ती उन्मुख बुर्जुवा चिन्तन शासन शैलीले आक्रान्त बनिरहेको देशमा प्रजातान्त्रिक प्रणालीको शासन ब्यवस्था स्थापित गरेर अमेरिकालाई गतिशील रुपमा अगाडि बढ्न अमेरिकी शासक र जनताहरूलाई पाठ सिकायो । त्यसैले आजपनि थुप्रै अमेरिकी राष्ट्रपतिहरूको बीचबाट उनकै नाम अगाडि आउँछ । हो यहि भावनाको मैले खोजेको नेता वर्तमान नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली हुन सकोस्, शिशिर योगीको उक्त गीतको भावनाको कदर गर्न सकोस् । शिशिर योगीको गीतले खोजेको र मैले चाहेको एउटा मानिस यहि बन्न सफल होस् । वर्तमान भ्रष्टमुखी आर्थिक नीति तथा विकास नीतिमा आमूल परिवर्तन होस् । समग्र जनताको सामाजिक उत्थान हुने कार्यमा ध्यान पु¥याउन सफल होस् । खोजेको ब्यक्ती, चाहेको ब्यक्ति यहि नै हुनेछ । बस यति नै ।





