पृथ्वीमा हामी मानिस लगायत हजारौँ किसिमका जीव प्राणीहरूको सृष्टि भएका छन् । कोहि थलमा, कोहि जलमा, कोहि जलथल दुवैमा । यसमा पनि कोहि पानीमा मज्जाले पौडिन सक्छन्, कुनै हावामा मज्जाले उड्न सक्छन्, कुनै खुट्टा र पखेटा बिना मज्जाले घस्रेर जीवन बिताउने प्राणी छन् । कुनै उफ्रन्छन् त कुनै हिड्ने र दगुर्ने जीव जनावर तथा प्राणी जगत रहेका छन् । त्यसमध्येका एक प्राणी हो हामी मानिस आफै । जसले सम्पूर्ण प्राणी मध्येमा उत्कृष्ट भनी दावी गर्दछौँ । जसले चराभन्दा छिटो उड्न सक्ने हवाइयान, हेलिकप्टर जस्ता साधन बनाई सकेका छन्, चितुवा, बाघभन्दा छिटो दगुर्न सक्ने धेरै किसिमका स्थल (जमिन) साधन पनि बनाई सकेका छन् । व्हेलमाछा, गोही, सर्प वा पानी प्राणीभन्दा छिटो चल्न सक्ने उपकरणहरू पनि बनाइ सकेका छन् । अझै भन्ने हो भने मानिसको बौदिक चमत्कारले पृथ्वीका सम्पूर्ण प्राणी जगत माथि नै बिजय प्राप्त गरिसकेका छन् । मानिसले कतिपय मानिसको मृत्युलाई समेत जितेर केही समय पछाडि धकेल्न समेत सफल भएका छन् ।
अतः मानिसहरूको यहि अनुपम बौदिक उपहारलाई सदुपयोग गर्दै हामीहरू आफै पनि अगाडि बढिरहेका छौँ । दिनानुदिन नयाँनयाँ चमत्कारले आफै दङ्ग र छक्क पर्दै अगाडि बढ्नमा सफल छौं । कोही कसैको यस्तैयस्तै अनुपम प्रतिभाहरूको भरपुर फाइदाहरू बटुल्दै कतै आफै पो बैज्ञानिक भयौँ कि भनी खुबसित मख्ख पनि परिरहेका छन् त कोही अर्काले बनाएर ठिक्क पार्दिएका यस्ता यान्त्रिक उपकरण तथा साधनहरू चलाउन नजानेका भुत्तिभाङ्गे मानिसहरू पनि यो पृथ्वीमा थुप्रै रहेका छन् । तर यिनीहरूसँग छक्क पर्नुपर्ने वा आश्चर्य मान्नुपर्ने अवस्था छैन । आश्चर्य त ती ब्यक्तिहरू वा एउटा समूह रहेका छन जसले आफूहरू दुई पैसाको मानवसेवाको काम नगरेर अरुले गरेका हरेक कामहरूको अनावश्यक टिकाटिप्पणी र आलोचनामै समय खर्चेर जनताहरूलाई दिग्भ्रमित पार्दैमा महान् कार्यगरेको भनी गर्धन फुलाउनेहरू छन्, यिनीहरूदेखि भने आश्चर्य मान्नुपर्ने भएको छ । यिनै र यस्तै मानिसहरू हुन्, जो आफू पनि सिन्को नभाँच्ने अर्काले गरेको काममा पनि जस नदिने वा गर्न लागेको काम पनि असफल पार्दिने । जो अनुहारमा मानिसको स्वरुप भै भित्री गुण र चरित्र भने बाँदरकै रहेका भन्दापनि फरक नपर्ने । यस्तै चरित्र र स्वभावका मानिसलाई मेरै तर्फबाट भन्नु पर्दा बेकारका पृथ्वीका भार मात्र हुन्, निरर्थकका जन्म हुन् ।
कतिपय कुराका आविष्कारक बैज्ञानिकहरू अझै नयाँ नौलो यन्त्र उपकरण वा औषधीको अनुसंधानमा ब्यस्त रहेका छन् त कतिपय श्रमजीवी किसान, मजदुरहरू आफ्नो पाखुराका बललाई शरीरका थकान अनि सिमसार जमिनको रसिलो मूल जस्तै पसिनाका भेल बगाउँदै दुनियाँका लागि आवश्यक खाद्य सामग्री र अनगिन्ती सामानहरू उत्पादनमा समय लगाई रहेका छन् । जुन चिजहरूको प्रयोगले आफ्नो जीवनलाई एक किसिमले भाग्यशाली ठानी रहेका छौँ परनिर्भरमा रहेका जुम्रा उपियाँ जसरी नै । यसरी एउटा पक्ष मानिसहरू दिनरात, भोक तिर्खा, निन्द्रा थकान नभनी श्रममा जीवन बिताई रहेका छन् भने अर्काथरीका मानिसहरू अर्काको निन्दा र डाह अनि गाली गलौज गरेरै समय बिताई रहेका छन् । यिनीहरू नै ठूल ठुला स्वरमा उफ्रिरहेका देखिन्छन् । हो यसै कुरामा यो स्तम्भकारको बिमती रहेको छ । कन्सिरी रन्किने गरि आक्रोश उम्लेर आउँछ । उल्लेख गर्न खोजेको सन्दर्भ के हो भने अहिले विश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । सुरुसुरुमा कतिपय देशले यो चिनियाँ भाइरस हामीलाई लाग्दैन, यो कुनै रोग होइन, चिनियाँहरूले चमेरो, सर्प आदि जस्ता जथाभावी खाएकाले यो रोग निस्केको हो भनेर समेत उल्याउने, खिज्याउने काम गरेर बेवास्ता गरे । यसलाई चीनले सुरुमै संवेदनशील रुपमा लिएर दर्हो कदम चाल्नाले धेरै हदसम्म नियन्त्रणमा लिन समेत सफल भयो । सुरुमा त्यति संवेदनशील रुपमा नलिँदा ब्राजिल, मेक्सिको, इटाली, बेलायत फ्रान्स आदि देशहरूलाई यो रोगलाई नियन्त्रणमा लिन हम्मेहम्मे नै प¥यो, परिरहेको छ । अमेरिका त झन् १ नं. कै उल्याउने देशमा पर्छ । यसैको परिणाम हो अहिले अमेरिका बिश्वकै पहिलो संक्रमित देशको रुपमा रहेको छ । अमेरिकाले शुरुमै उल्याउन, खिज्याउनतिर लाग्नुको सट्टा संक्रमित देशहरूसँगको आवतजावतमा रोक लगाउन कोसिस गरेको भए अहिले यो भयावहको अवस्था आउने थिएन । समाजवादी विचारधारा र समाजवादी मुलुकहरूको आर्थिक क्रियाकलापलाई हेप्न खोजे जस्तो हेपेरै जित्छु भन्ठाने हुनन्, तर कोरोना महामारीले के टेथ्र्याे । आर्थिक रुपमा सम्पन्न, आणविक हतियारमा मजबुत, प्रजातान्त्रिक देशको रुपमा अग्रज मानिएको अमेरिका भएर पनि होला कोरोना महामारी पनि प्रजातान्त्रिक रुपमै नाच्न पुगेको पाइयो । प्रजातान्त्रिक देश र धनको राष्ट्रलाई खत्रकै पा¥यो यस कोरोना महामारीले । यसैले आहत बनाएर होला विश्व स्वास्थ्य कोषमा ठूलो आर्थिक हिस्सा ओगट्दै आएकोमा यसको आर्थिक दायित्वबाट हात झिक्न पुगेको छ त उता कोभिड–१९ को उद्गम थलो मानिएको चीनले कोरोनालाई नियन्त्रणमा लिन सफल भएर हो वा अमेरिकाको मेख मार्न हो अथवा मानवीय सेवाभावले हो विश्व स्वस्थ्य संघ(ध्ज्इ) लाई अमेरिकाले बोक्दै आइरहेको आर्थिक दायित्व बराबर नै चीनले ब्यहोर्नु विश्वकै लागि खुशीको कुरा बनेको छ । र, यसबाट विश्व मानव संकटको बेला मानवीय सेवाभाव दर्साउनमा समाजबादी मुलुकहरू नै अगाडि आउँछन् भन्ने कुरा पनि प्रमाणित भएको छ । यस्तैगरी दक्षिण अमेरिकाका समाजवादी(कम्युनिष्ट) राष्ट्र क्यूबा पनि आफ्नो देशमा कोरोना रोगलाई नियन्त्रणमा लिन सफल भएर आफ्ना मित्र राष्ट्रहरूलाई सहयोग गर्न अघि बढे । तर क्यूबाले गर्न लागेको यस्तो मानबीय संवेदनशीलताको सहयोगलाई समेत रोक्ने, छेक्ने प्रयास गरे । यसबाट पूँजीवादी पक्षधर अमेरिकासँग मानवीय सेवाभाव कतिको रहेको छ भन्ने पनि पुष्टि भएको छ ।
रोग कसैको रहरले उत्पादन गर्ने कुरो हैन तर यहाँ पूँजीवादी राष्ट्र खासगरी अमेरिकाले यस्तो सोचेको पाइयो । राजनीतिक विचारधारात्मक सिद्धान्त र आर्थिक होडबाजीको कारणले अर्थात् विश्वबजारको प्रतिस्पर्धालाई शत्रुताको शैलीमा उत्रिन पुग्नाले अहिले अमेरिका नै यो कोरोना भाइरस रोगबाट सबभन्दा बढी प्रताडित हुन पुगेको छ । हुन त “जस्तालाई तस्तै ढिँडालाई निस्तै“ भन्ने नेपाली उखान जस्तै अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै यहाँका जनताहरू पनि रहेको देखियो, पाइयो । प्रारम्भिक अवस्थामै अमेरिकाको केही प्रान्त(राज्य)हरूमा संक्रमण हुनेबितिकै आवश्यक कदम चालेको भए यतिको संक्रमण हुने थिएन र मृत्यु पनि हुने थिएन । रोगको संक्रमण नभएका र मृत्युको पीडा भोग्न नपरेका अमेरिकी जनतामा पनि यस्तै घमण्ड जागृत भयो । लकडाउन गर्ने नगर्ने भन्ने जनमतमा लकडाउन नगर्ने भन्ने पक्षकै जित भयो । सरकारले लकडाउन गर्ने प्रयास गर्दा समेत उल्टै जनताहरूबाट लकडाउन नगर्न भन्दै ठुलै आन्दोलन गर्न पुगे । यतिसम्म कि मास्क समेत नलगाउने भनेर जिद्दी कसेर बसे । जसले अहिलेसम्म पनि चीनलाई नै दोष दिई रहेका छन्, सक्दो सरापी रहेका छन् । गर्ने बेलामा आफूले महागल्ती गर्ने अनि चीनले नानाथरीको रोग निम्त्यायो भनी चीनमाथी धारे हात लगाई गाली गर्ने, यतिमात्र नभै हामी बिश्वको सर्वोकृष्ट र प्रजातान्त्रिक देश हो, हाम्रो अरु देशमा जसरी तानाशाही लादेर लकडाउन गर्ने नीति छैन, हाम्रो देशको आवत जावतमा कुनै रोकावट छैन आदिका तर्कहरूले मिचेर अगाडि बढिरहे, बढिरहे । जसको परिणाम अहिले स्वयम् राष्ट्रपति यो रोगलाई नियन्त्रणमा लिन नसकेर अत्तालिन परिरहेको छ, जनताहरू त्राहिमामको अवस्थामा पुगेको छ । कतिपय जनताहरू अहिले स्वयम् राष्ट्रपतिलाई गाली गर्न पुगेकाछन। “सक्यो अनि दैलो देख्यो” “भने झैँ भएको छ अहिले अमेरिकामा ।
तसर्थ जुनजुन देश र त्यस देशका जनताले यस कोरोना रोगलाई केही होइन भने, बेवास्ता गरे । अहिले त्यही त्यही देशहरू नै यस रोगबाट अत्यन्त प्रताडित बन्न पुगेका छन् । बेलैमा अलिकति मात्र भएपनि सजगता अपनाउन प्रयास गरेको भए अहिलेको जस्तो यो दशा भोग्न पर्ने थिएन । जुन यो रोगबाट सुरक्षित हुने भन्ने कुरा कुनै एक पक्षले गर्न खोजेर मात्र पनि नहुने रहेछ भनेर बुझ्न पनि आवश्यक छ । जनता आफै सचेत, सतर्क अनि संबेदनशील नभएसम्म सरकारले गर्ने प्रयासहरूले त्यति सफलता प्राप्त गर्न सक्दैन । त्यस्तै सरकारले कडाईकासाथ निर्देशन जारी नगरेसम्म त्यस देशका जनताहरूले पनि अनिवार्य र बाध्यात्मक रुपमा पालना गर्न जनता लागिपर्ने छैन । यसको पूर्ण नियन्त्रणको लागि सरकार जनता दुवै पक्षबाट नियम लागू गर्ने र पालना गर्नेमा संयोजन मिल्न अत्यन्त आवश्यक छ ।
हामीले अहिलेको यो कोरोना महामारीको संक्रमणबाट के अनुभव लिनुपर्ने छ भने जुन देशका जनताहरूको बाह्य मुलुकहरूसङ्गको आवतजावतमा पातलो रहेको छ अर्थात बाह्यमुलुकहरूसँगको जनसम्पर्क सामान्य अवस्थामा पनि कमि रहेको छ, ती देशहरूमा कोरोना संक्रमण अत्यन्त न्यून रहेको छ अझ शून्य नै भन्दा पनि हुन्छ । उदाहरणको लागि उत्तर कोरिया, न्युजिलैण्ड, क्यूवा, भुटान आदि देशहरू ।
यो रोगबाट बच्न र बचाउनकै लागि भनेर नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय हवाइ उडानहरू सहित देशैभर एकैपटक लकडाउन जारी गरेर देश बाहिर भित्रको आवतजावतमा पूर्ण नियन्त्रण गर्ने प्रयास नगरेको होइन । सुरुमा सरकारले यो कार्य गर्दा धेरै ठाउँहरूबाट धेरैले धेरै आलोचना गरे, धेरै गाली पनि गरे, केपि ओली सरकारले जनताहरूको हिँड्डुलको स्वतन्त्रता हनन गरे, मान्छेले खान नपाएर मर्नेभो, मार्ने भो भनेर नाना किसिमले सराप्न पुगे, कतिपयले राजनीति फाइदा उठाउने उद्देश्यले अथवा सरकारप्रति बितृष्णा जगाउने दुराशयले सर्वसाधारण जनताहरूलाई लकडाउनको बिरुद्धमा आन्दोलन गर्न लगाए । कथित नागरिक समाज र नागरिक अभियन्ताको नाममा सडकमा आन्दोलनको गाइजात्रा निकाल्न समेत भ्याए ।
बिदेश भ्रमणमा गएकाहरू, अध्ययनमा गएकाहरू तथा बैदेशिक रोजगारमा गएकाहरूलाई नेपाल आउन, ल्याउन केही समय ढिलो गर्दा आफ्नो देशको नागरिकलाई स्वदेश आउन दिएन भने, आउन दिँदा कोरोना संक्रमित रोगीहरू भित्राए भने, थोरै थोरै भित्राउँदा यत्रो संख्याका बिदेशस्थित नेपालीहरूलाई कहिल्यै ल्याइसक्ने भनी आलोचना गर्ने पनि भए, धेरै संख्यामा भित्राउँदा पूर्वाधारै तयार नगरी, आवश्यक ब्यवस्थै नगरी भद्रगोल अवस्थामा भित्राए भनी हरेक कामको हरेक कुराहरूमा बिरोधै मात्र गर्नमा पेशा बनाए ।
आश्चर्यलाग्दो र लाज लाग्दो बिषय त अझ के देखियो भने कतिपय स्थानीय जनप्रतिनिधिहरू र प्रदेश अनि केन्द्रिय सभासद्हरू समेत आफ्नो दायित्वलाई आँखा चिम्लेर सरकारको आलोचना गर्नमै आफ्नो समय खर्चिन पुगे । जो कि आफू जनताको एकदम हिमायती हो ता कि यहाँ सरकारले केही गरेको छैन । यहाँसम्म कि पूर्वमन्त्री, प्रधानमन्त्रीहरू समेत बिगतमा आफूले माखो नमारेको कुरालाई लाज पचाएर सरकारले यो गरेन, त्यो गरेन भनी संसद्, सडक दुवै ठाउँमा ठूलो स्वरले कराउन भ्याए, तीन हात उफ्रेर सकृय भएको देखाउन समय पाए । बस यति उफ्रिन र ठूलो स्वरले कराउन पाउनु नै सबभन्दा पौरख सम्झिन पुगे । ब्यवस्थित क्वारेण्टिन भएन, आइसोलेशन भएन भने, छिटो राम्रोसङ्ग पिसिआर जाँच भएन भनेर उफ्रिए तर म र हामीपनि यो यो गर्न सक्छु र सक्छौँ भनी अलिकती मात्र पनि आफ्नो क्षेत्र, आफ्नो वडा टोलहरूमा गर्नुपर्छ, गरौँ भनी भूमिका खेलेको देखिएन । सरकारको अलिक पहुँच नपुगेको ठाउँहरूमा वा अलि बढि नै संबेदनशील ठाउँहरूमा हाम्रो पनि दायित्व हो हामी पनि सक्दो सहयोगमा लाग्छौँ र लाग्नुपर्छ भनी जिम्मेवारी ब्यक्तिको हैसियतले लाग्नु पथ्र्यो यसरी लागिएको देखिएन, पाइएन । सरकारको बितृष्णा जगाइदिने सुवर्ण अवसर यहि हो भन्ने किसिमले व्यवहार गर्न पुगे । प्रतिपक्षीहरूलाई त भन्ने कुरो भएन । उनीहरूको त धर्म नै हो अप्ठेरो र संकटको बेलामा झनै समस्या निम्त्याइ दिने । यति समस्या निम्त्याइ दिएर २÷४ जना जनता अगाडि उफ्रेर देखाउन पाउँदा निकै आनन्दले निन्द्रा लाग्ने काम गरे झै गर्न पुगे ।
यो त भए प्रतिपक्षीहरूबाट निर्वाह गर्ने गरेको गैरराजनीतिक भूमिका र देश अनि जनतालाई गर्ने गरेको असहयोगको कुरा । तर सबभन्दा पनि ५ कदम अघि बढेर आफ्नै पार्टीका उच्च नेताहरूबाटनै सबै एक भएर साथ सहयोग गर्ने बेलामा विभिन्न किसिमका बेमौसमी आरोपहरू लगाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउने किसिमको चलखेल गर्न पुग्नुले कतै आफूहरूको कमजोरी लुकाउन त यी आरोपहरू वा दोष लगाउन पुगेनन् भन्ने कुरा स्पष्ट भएको छ । नत्रभने आगामी एकताको महाधिबेशन अगावै दुवै पदबाट के पि ओलीलाई हटाउने प्रयास गर्नुको कुनै अर्थ छैन । आगामी अधिबेशनबाट पार्टी अध्यक्ष र (सम्भवत)प्रधानमन्त्री दुवै पुष्पकमल दाहाल “प्रचण्ड” हुनेछ भन्ने पीडाबोध र औडाहाले अहिले प्रचण्डलाई साथ दिएको जस्तो गरेर केपि ओलीसँग फाटो ल्याइ यो दुवै पदबाट खुस्काउन लागेको कुरालाई प्रचण्डले राम्रैसँग बुझ्नसक्नु पथ्र्याे । तर प्रचण्डले बुझ्न सक्नु भएन वा प्रधानमन्त्री बन्नमा धेरै हतार भयो बुझ्न सकिएन । किनभने आगामी अधिवेशनबाट केपि ओली पार्टी अध्यक्षमा नउठ्नु भनेको प्रचण्ड पार्टी अध्यक्ष बन्नु हो । प्रचण्ड पार्टी अध्यक्ष हुनु नै माधव नेपाल र झलनाथ खनाल छायाँमा पर्नु वा पार्टीको बरिष्ठताबाट पछाडि धकेलिनु हो, पार्टीको बचेखुचेको बर्चश्व पनि गुमाउनु हो भन्ने किसिमको मनगढन्ते भूतको प्रवेश भएको पाइन्छ यी दुवै बरिष्ठ कमरेडहरूमा । तर यी बरिष्ठ कमरेडहरूबाट अहिले जुन किसिमले भूमिका खेल्न पुगेको छ । यसले पूर्व एमालेदेखि स्थापित हुँदै आएको सागर चुम्ने छवि वर्तमान नेकपाको महाधिवेशन अघि नै खर्लम्मै झार्न पुगेको छ आफ्नै गैरराजनीतिक क्रियाकलापले, थचारिएर बस्नुपर्ने भएको छ आफ्नै षड्यन्त्रमूलक गलत ब्यवहारले ।
जेहोस् अहिलेको वर्तमान अवस्थामा सिङ्गो नेकपा पार्टीका लागि होस् वा मुलुकको राष्ट्रिय समस्याको बिषयमा होस् प्रम तथा पार्टी अध्यक्ष केपि ओली कोभन्दा कम भुमिका थिएन । यहि भूमिका निर्वाह गर्नमा चुक्न पुगेर वा आफूले गर्नुपर्ने दायित्वबाट असफल भएर पार्टीका खलनायक बनी अरूलाई दोष दिईरहेका छन् भन्ने कुरा घाम जतिकै छर्लङ्ग भएको छ । अन्य ब्यक्तिहरू मन्त्री नपाएर मतियारका सह–पात्र मात्र बनेका हुन् भन्ने कुरा पनि स्पष्ट भएको छ ।









