मेघनाथ ढकाल
विश्वमा फैलिएको कोरोना भाईरस जसलाई जुनसुकै बेला पनि लाग्न सक्छ । विश्वका शक्तिशाली राष्ट्रहरु पनि यो रोगका कारण अस्तब्यस्त अवस्थामा चलिरहेका छन् । अहिले नेपालमा पनि कोरोनाका बिरामी दैनिक बढिरहेका छन् । सञ्चारमाध्यमबाट पलपल रुपमा आईरहने कोरोना सम्बन्धी समाचार ध्यान लगाएर नसुन्ने र नपढ्ने सायद कोहि छैन होला । दैनिक यति संख्यामा संक्रमित थपिए, यति जनाको मृत्युु जस्ता खबर आई नै रहेका हुन्छन् । मानव स्वभाव नै हो, कोरोना सम्बन्धमा आएका अरु डाटा दिमागमा बस्दैन र केवल यति संख्यामा मृत्यु भन्ने कुरा मात्र यादमा रहन्छ वा एक अर्कामा कुराकानी हुन्छ । यस्ता कारणले मानिसमा यो भयावह रोगले भन्दा मानसिक प्रभाव ज्यादा हुन पुगेको देखिन्छ ।
सकभर कोरोना लाग्नै दिनु हुदैन । कार्यालय, घर, समाजको जोसुकैलाई पनि कोरोना भएको हुनसक्छ भन्ने कुरा ध्यानमा राखी मास्क प्रयोग गरिरहने, हात धुने, स्यानिटाईजर लगाउने र दुरी सधै कायम गरिरहने, घर बाहिर काम गर्ने मान्छे जहिले पनि क्वारेन्टाइन जसरी नै बस्ने बानी गर्ने, ब्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने जस्ता क्रियाकलाप हर्दा कोरोनाबाट बच्ने सम्भावना अधिक रहन्छ । कोरोना सम्बन्धमा सचेत हुँदाहँुदै पनि, घर बाहिर निस्कनुपर्ने मानिसमा यो रोग नलाग्ने भन्ने हुदैन । रोग लागि हालेमा के गर्ने ? रोग के हो ? जस्ता कुरा बुझ्न सकेमा यो रोगसँग लड्न सहज हुने हुँदा कोरोना रोगको सम्बन्धमा केही तथ्यहरु प्रस्तुत गर्न खोजेको छु ।
डब्लुएचओका अनुसार कोरोना भाईरसले तीन किसिमले आक्रमण गर्नसक्छ ।
१) सामान्य असर ः सामान्य ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी सकसक हुने ।
२) मध्यम असर ः अक्सिजनको लेभल घट्ने, ज्वरो १०४ डिग्री सम्म पुग्ने र
३) उच्च असर ः श्वास प्रस्वासमा समस्या हुने । सामान्य असर देखिनेले घरमै वा उपयुक्त सुविधा सहितको स्थानमा आइसोलेसन बसेर आराम गर्न सकिन्छ । अन्य असर नदेखिँदा सम्म आईसोलेसन बस्ने र थप असर भएमा डाक्टरसँग सम्पर्क गरि सल्लाह लिने । मध्यम तथा उच्च असर देखिनेले अस्पतालमा रहि डाक्टरको निगरानीमा आवश्यकता अनुसार अक्सिजन लगाउने वा भ्यान्टिलेटरको प्रयोग गर्न आबस्यक हुन्छ । झण्डै ९०५ भन्दा बढी कोरोना विरामीमा सामान्य असर मात्र देखिएको पाईएकोले, कोरोना रोगलाई मुख्यतः सामान्य असर देखिने रोगको रुपमा लिई, अन्य अबस्थाको बारेमा सचेत हुनुपर्दछ । प्रेसर, दम, मृगौला, सुगर, मुटुरोग जस्ता गम्भीर प्रकृतिका रोग लागि औषधि सेवन गरि रहनु भएकाहरुलाई कोरोनाले गार्हो पार्न सक्ने भएकोले अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने हुनसक्छ ।
मेरो अनुभवमा कोरोना भाईरसलाई जित्नको लागि आत्मबल सँगसँगै खानपिनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । आफ्नो ईम्युनिटी पावर राम्रो बनाईराख्न गर्नुपर्ने ब्यायाम तथा आहारलाई सधंै ध्यान दिने र कोरोना लागेको अबस्थामा तातो पानीमा कागती, बेसार र अदुवा जस्ता घरेलु ईम्युनिटी बढाउने तत्व मिसाई खाईरहने, झोल कुरा बढी खाने गर्दा आराम महशुस हुन सक्छ । मानिस सामाजिक प्राणी हो । यो रोग सम्बन्धमा समाजका कृया–प्रतिक्रियाले गर्दा रोगी निको हुने वा मानसिक विचलनमा जाने सम्मको प्रभाव हुनसक्ने देखिन्छ । रोग लागेको ब्यक्तिको मृत्यु हुँदा दाहसंस्कार गर्न समस्या भएको, स्वास्थ्यकर्मी माथी दुब्र्यवहार गर्ने, रोगी ब्यक्तिलाई सामाजिक बहिस्कार हुने जस्ता क्रियाकलाप स्पष्ट देख्दा, सुन्दा हाम्रो समाज कता जादैछ भन्ने चिन्ता थपिएको छ । यो रोग संसारभरी देखिएको रोग हो, रोग के गर्दा सर्छ ? के गर्दा सर्दैन ? भन्ने वास्तविक कुरा समाजमा बुझाउन जरुरी छ । समाजमा यति सम्म हुन लाग्यो कि, कोरोना लागेको मान्छे कुन बाटो हिडेको थियो ? सम्मका खोज हुने र विरामीलाई मानसिक तनाव दिने जस्ता क्रियाकलाप हुने गरेका छन । घर, समाज तथा कार्यालयमा सामाजिक दुरी कायम गर्ने र मास्क प्रयोग गर्ने बानी भएमा यो रोग अरुलाई नसर्ने सम्भावना बढी हुन्छ । रोग लाग्नै नदिनु सबैभन्दा महत्वपूर्ण हो भने, रोग लागि सकेपछि आफ्नो कारण अरुलाई सर्नबाट रोक्नु ठूलो उपलब्धि हो । तर पनि संसारभर विकराल रुपमा फैलिरहेको कोरोना जसलाई जुनसुकै बेला पनि लाग्न सक्छ, त्यसैले यो रोग लागेका बिरामीलाई सद्भाव सहित आत्मबल बढाउन सहयोग गरौ, शंकास्पद लक्षण देखिनासाथ टेस्ट गरांै र रिजल्टलाई सहज रुपमा लिई सूचना प्रवाह गर्ने वातावरण निर्माण गरौं, सुरक्षित रहौं र यो महामारी विरुद्धमा एकजुट भई लडौं ।









