2026 May 31/ 07:02: 16pm

रमेश अधिकारी
मैले विद्यालय तहमा प्रवेश गर्दा हामीलाई कम्युनिष्ट राजनीतिबारे प्रशिक्षित गर्ने पुस्ता अहिलेको राजनीतिको अहम् भूमिकामा छ । त्यो पुस्ताले हामीलाई जे सिकायो हाम्रो पुस्ताले पनि छोरो पुस्तालाई त्यहि सिकायो र त्यहि क्रमिक प्रशिक्षणको श्रृङ्खलाले नेपालमा कम्युुनिष्ट पार्टीको जुट वा फुुटको चरित्रका बिच पनि कुलयोगमा कम्युनिष्ट विचारकहरु लगभग दुुई तिहाई बहुमतको सरकार निर्माणको चरणमा  आई  पुगेका छन् । संविधानको निर्माणका क्रममा सम्झौताको बाध्यात्मक अवस्थाले गर्दा संविधानका आधारमा चल्नुपर्ने कारणले सरकार कम्युुनिष्टकै भए पनि चाहेको सबै गर्न नसक्नुु अहिलेको बाध्यात्मक परिस्थिति हो भन्नेमा सबै सहमतनै छन् । तर केहि यस्ता प्रश्नहरु हाम्रा सामु तेर्सिएका छन् जस्को उत्तर र स्पष्टिकरण राजनीतिक दलले दिए पनि वर्तमान घटनाक्रमले त्यो उत्तर नाटकीय वनावटी र अपत्यारिले लाग्ने वातावरण निर्माण भैसकेको छ । 
नेपालको तत्कालिन शासन व्यवस्थाको थिचोमिचो अन्याय अत्याचार तथा दुुराचारका पीडादायक र दमनकारी श्रङ्खलाहरुको उजागर र  गरीब निमुखा शोषित पीडित पहुँच विहिनहरुको पक्षमा अभिव्यक्त भनाई अनि उठाइएका आवाजहरुले नेपालका अधिकांश ग्रामिण वस्तिहरु त्यसको प्रभावमा पर्दै गए, जनसंख्याको ठूलो हिस्सा अभिव्यक्त ति लक्षणहरुको नजिक थिए, जस्ले उनीहरु कम्युनिष्ट बन्न पुगे । मानिसहरु कम्युनिष्ट किन भए ? निरन्तरदुख पीडा र सास्ति बेहोर्न त पक्कै हैन । विद्यमान परिवेशमा वर्तमानमा सहादत स्विकारेरै भए पनि भावीपुस्ता वा बचेको नाफाको जीवनको सुखद् भविष्यको लागि मानिसहरु यो राजनीतिक दर्शनको लागि समर्पित भएका हुन् ।
त्यस्ता मानिस अत्यन्त सानो संख्यामा मात्र छन् जो कम्युनिष्ट दर्शनका ठेली पढेर अनि माकर््सवाद माओवाद र यस्तै अन्य वाम साहित्यलाई बुझेर आफुलाई कम्युनिष्ट बनाए र त्यसैअनुरुपको व्यवहारको अवलम्वन गरे, किनभने माक्र्सवाद एउटा पूर्ण दर्शन हो जहाँ हरेक विधि र व्यवहार एउटा विशिष्ट आदर्शमा आधारीत हुन्छ । अत्याधिक कम्युनिष्ट मतका मानिसहरुले कम्युनिष्टहरुको दार्शनिक पक्षलाई बुझेर आफ्नो अभिमत दिएका हैनन्, यसमा व्यवहारिक पक्ष महत्वपूर्ण थियो जुन २०३६ साल देखि २०७२ सालसम्म र सामान्यतया अहिलेसम्म पनि कायम नै छ तर त्यसलाई सत्ताले सम्मान गर्न सकेन र अपेक्षित परिणामको दशांस पनि जनताको नजरमा प्राप्तिको आभाष भएको अवस्था छैन । पुँजीवादी दर्शनसँग समानान्तर रहने सामान्य भौतिक विकासका कुराहरु समय क्रममा धिमा गतिमा हुँदै आएका कुरालाई कम्युनिष्टहरुले उल्लेख्य मान्दैनन् । आमूल परिवर्तनको विचारको बलियो जगमा हुुर्किएको उनीहरुको आफ्नो विशिष्ट दर्शन र त्यसले अवलम्बन गरेका वृहत् परिवर्तनमा केन्द्रित जन अपेक्षाका विषयलाई ओझेलमा पार्न शाब्दिक जञ्जालमा केहि भुलभुलैयाको निर्माण गरिए पनि कुनै महत्वपूर्ण र शाहसिक कार्य भएको उदाहरण खोजुँ भन्दा पनि भेटिने अवस्था छैन । दक्षिण पूूर्व एशियाका अन्य मुुलुकहरु जहाँ कम्युुनिष्ट शासन छैन त्यहाँको विकास र सुुधारको दरलाई समेत नेपालको कम्युुनिष्ट पार्टीको यो सरकारले कुुनै नमुुना र उल्लेख्य कार्य गरेर उदाहरण दिन सकेको अवस्था आजको मिति सम्म भेटिएको छैन । बितेको आधा शताब्दीमा कम्युनिष्टहरुमा निम्न विशिष्ट सामाजिक गुणहरु विद्यमान थिए जसले उनीहरु जनताका प्यारा बन्न पुगे । ं 
१.उनीहरुको प्रत्येक बोलिमा वास्तविक जीवनको यथार्थ अभिव्यक्त हुन्थ्यो ।
२.लवाई खवाई बोलिबचन व्यवहार जनताप्रति समर्पित हुन्थे ।
३.वैचारिक धारमा प्रतिबद्ध भैसकेपछि उनीहरुलाई हर किसिमले प्रशिक्षित गरिन्थ्यो, संगठन प्रणाली बलियो थियो र आपसी सहयोग त्यागमा आधारित र दृढ थियो । आफ्नो संगठनका सदस्यहरुको संरक्षणमा पार्टी प्रतिबद्ध र सहयोद्धाहरु ढुक्क हुन्थे ।
४.राजनीतिप्रति अगाध आस्था थियो, भविष्यप्रतिको गहिरो आशा र विश्वास थियो ।
६.पार्टीमा अवसरवादीहरुको घुसपैठ थिएन शुद्ध त्यागमा प्रतिबद्ध मानिसहरुमात्र संगठित थिए जस्ले यति बलियो विचार बनाएका थिए कि परिआउँदा देश र जनताको पक्षमा ज्यान लिन र दिन समेत तयार थिए । 
७.चरित्रशुद्धिमा आधारित राजनीतिले त्यागको भावना र जनताप्रति सम्मानको संस्कृतिलाई जीवनपद्धतिको रुपमा रुपान्तरण गर्न अभ्यास गराएको थियो ।
८. अन्याय र अत्याचार वा भनौ कुकर्म गर्नेहरुलाई कम्युनिष्ट शब्दले नै तर्साउने वातावरण निर्माण भएको थियो ।
९.जनता र नेताबीच अत्यन्त आत्मिक सम्बन्ध थियो, एक–अर्कालाई सम्मान र सहयोगको परम्परा विकसित गरिएको थियो जस्ले कम्युनिष्टहरु बीचको एउटा आफ्नै सुखी र खुसी संसारको निर्माण भएको थियो । आफ्नो समस्या राख्नासाथ नेतृत्वले त्यसको उचित सम्बोधन गरिहाल्थ्यो ।
१०.संगठन जनस्तर सम्म विस्तारित थियो, यो एउटा जिवन पद्धतिको रुपमा विकसित थियो, प्रशिक्षण व्याप्त थियो, राजनीतिमा आस्था र विश्वास थियो, प्रत्येक मानिसलाई संगठन विस्तारमा कुनै न कुनै सम्मानित स्थान र भूमिका दिएर उपयोग गरिन्थ्यो ।
११. सरकारसँग नभएका तथ्यांक र सूचनाहरु कम्युनिष्टहरुसँग हुन्थ्यो, चरित्रका आधारमा मानिसहरुलाई मूल्यांकन र त्यसको आधारमा उस्को सामाजिक स्थान र व्यवहार निर्धारण गरिन्थ्यो ।
१२. जनताको लागि त्याग गर्न पाउनु गौरवको विषय हुन्थ्यो जीवनरहँदा र मृत्युपछि पनि विशेष रुपमा सम्मान गर्ने परम्पराले कार्यकर्तामा एउटा विशेष उर्जा प्राप्त थियो ।
१३.राजनीतिक वाद प्रतिवादहरु हुन्थे जस्ले अध्ययनलाई प्रोत्साहित गर्दथ्यो, श्रमप्रति सम्मान थियो ।
१४.कम्युनिष्ट भन्नासाथ केहि विशिष्ट गुणले युक्त मानिसको रुपमा दिमागले वुझ्ने गर्दथ्यो । जोस जाँगर उत्साह सहयोग आत्मविश्वास सचेतता शत्रु प्रतिको कठोरता आमूल परिवर्तनको संवाहक, जनमुक्तिको आधार आदिको प्रतिविम्ब नै कम्युनिष्ट थिए ।
१५.हेपिएका गरिब शोषित पिडित  दलित जनजाती पिछडा वर्ग सीमान्तकृत श्रमजीविहरुको पक्षमा र शोषक सामन्त दलालहरुको विरुद्धमा आफूलाई चट्टानी अडानमा कायम राख्ने, आफ्नोकाम आफैं गर्ने, श्रमको सम्मान गर्ने, धन वा निजी सम्पत्तिको पछि नलाग्ने, जनताको सुख दुःखमा साथ दिने, विभिन्न माध्यमबाट जन चेतना जगाउने, कस्तै दुःख र कष्टलाई सहजै ग्रहण गर्न सक्ने, सत्य बोल्ने, मिठो बोलिबचन, असल चरित्र र राम्रो व्यवहारयुक्त अथक योद्धालाई त्यतिबेला कम्युनिष्ट भनिन्थ्यो । अधिकांश मानिसहरु गरिब भएको देशमा आफ्नो भविष्य यहि राजनीतिक धारले मात्र निर्माण गर्न सक्छ, भावी नेपालको रुपरेखा र भविष्य यसले नै कोर्न सक्छ भन्ने जन अभिमत अहिलेत यति छ भने तत् समयमा नहुने कुरै भएन । नेताहरु गाउँ गाउँ डुलेर आफ्नो विचारलाई जनतासम्म पु¥याउँथे । त्यहि संस्कृतिको उपजनै अहिलेको दुई तिहाई नजिकको वहुमतिय सरकार हो ।    
अहिले कम्युनिष्ट गीत संगीतको पहिचान लगभग मेटिएको छ । निकाल्यौं हिरा मोती, छोरीको यो जुनीलाई, गाउँगाउँबाट उठ, रक्त क्रान्तीको ज्वालामुखी, सिमली छाँया, चाहिदैन मलाई हिरा मोती धन  आदी जस्ता कालजयी गीत संगीत र त्यसका स्रष्टाहरु पुरै ओझेलमा छन् त्यसको सट्टा ¥याप पप र छाडा गीतहरु संचार माध्यममा व्याप्त छन्, मौलिक बाजागाजा हराई सकेका छन् । नाराहरु फेरिएका छन्, गरिब शोषित पीडितको वकालत गर्ने पहिचान बोकेको पार्टीको सरकार भएको बेलामा यस्तो नहुनु पर्ने थियो । कङ्गो र भ्वाइलीन बजाउनु आधुनिकता हैन आफ्नै मादल र सारङ्गीको धुनमा आधुनिकता खोज्नु मौलिकता हो । 
म माक्र्सवाद र सुधारिएको नेपाली कम्युनिष्टहरुको व्यवहारिक सिद्धान्त ज.ब.ज बुझेर कम्युनिष्ट वनें होला तर नेपालमा अधिकांश कम्युनिष्ट मतका मानिसहरु जस्ले वर्तमानमा ने.क.पा लाई भोट दिएर सत्तामा पु¥याए तिनीहरु जबज बुझेर हैन कम्युनिष्टका गीत संगीत त्यसको सन्देश, कम्युनिष्टका विशिष्ट विधि व्यवहारबाट प्रभावित भएर तत्तत् चिन्ह्मा छाप ठोकेका हुन् । वर्तमान खिचातानी पूर्ण यो राजनीतिले जनता यति दिक्क छन् विशेषगरी कम्युनिष्टहरु संविधानमा संशोधन गरेर नो भोटको अधिकारलाई सुनिश्चितता गर्ने र त्यो अभिमतको कदर हुने वातावरण बनाउने हो भने अबको चुनावमा अकल्पनीय परिणामको सामना नेतृत्वले गर्नु पर्नेछ । नेतृत्वले त्यो हिम्मत त गर्दैन नै त्यस अवस्थामा अयोग्य मध्येको योग्य छान्ने बाध्यतामा त मूलधारका राजनीतक दलहरुबाटै यी जोस जाँगर र ओजहिन प्रकृयाहरु सम्पन्न हुने नै छन् । तर यो तीतो यथार्थलाई मनन गर्ने समय भने आईसकेको छ ।
शोषण दमन अन्याय अत्याचार र असमानता षड्यन्त्र र जालझेलको चंगुलबाट मुक्ति चाहने मुक्तिकामी जनताहरुले न्याय समानता गाँसबास कपास शिक्षा रोजगार र स्वास्थ्यको सुलभ पहुँचको विश्वास यतैबाट मात्र सम्भव देखे, देश र जनताप्रतिको दलिय प्रतिबद्धतामा विश्वास गरे, जेलनेल खाएका नेताहरुवाट धोका हुँदैन भन्ने कुरामा ढुक्क भए । अत्याचारी घुसखोरी भ्रष्टाचारीहरुको दोहोलो काट्ने दलको रुपमा कम्युनिष्ट पार्टीलाई देखे । सुकुम्वासीले आफ्नो सानो घर देखे,  भूमिहिनले  आफ्नै एक टुक्रा जमिनमा पसिना फलेको देखे, बेरोजगारले पसिना बगाउने अवसर देखे, रोगीले उपचारको सुविधाले अलि समय भए पनि संसार देख्ने आशा गरे, अन्याय अत्याचार शोषण दमनमा परेकाले आफ्नो मुक्ति देखे । एउटै साहारा कम्युनिष्ट पार्टीको अवस्था बन्यो । देशमा घुसखोरीको अन्त्य, भ्रष्टाचारको समाप्ति, जनमैत्री प्रशासन, रोजगारमूलक सर्वसुलभ शिक्षा र स्वास्थ्य, धनी र गरिब लगायतका वर्गीय विभेदमा कमी यस्तैयस्तै सपना देखेर यतिवेलाको यो दुईतिहाइ निकटको सरकारको निर्माणमा जनताले मत खन्याएका हुन् । गरे भएका केही कुुराहरु छन् तर त्यसले मात्र कम्युुनिष्ट पार्टीको सरकार भएको अनुुभुुति दिन सक्दैन, केहि जन पक्षीय कामहरु यो सरकारले गर्नैपर्ने वाध्यता छ । असम्भव अपेक्षालाई प्रोत्साहन नगरौं तर भोलि कम्युनिष्ट झण्डा वोकेर जनताको घरआँगनमा जाने बाटो बन्द नगरौं । सम्भव हुुन सक्ने सुुधारको लागि खुुट्टा नकमाउँ ।