2026 May 25/ 08:51: 33am

यादव थापा
    विकास निरन्तर चल्ने प्रक्रिया हो, यसको न सुरु छ, न अन्त्य नै, हिजो फिरन्ते र ढुंगेयुगबाट सुरु भएको मानव जीवनको विकासक्रम अहिले विज्ञान र प्रविधिको उच्चतम् शिखर कम्प्युटर युगसम्म आइपुग्दा पनि निरनतर अघि बढिरहेको छ, त्यसैले भनिन्छ विकासमा कहिले पनि पूर्णविराम लाग्दैन । जब विकास रोकिन्छ तब मानिसको जीवनचक्र पनि अबरुद्ध हुन्छ । फेरि एउटा अनौठो कुरा विकासको उद्गम स्थल र यसको अन्तिम विन्दुको भेट कहिले पनि नहुने रहेछ । हामी बसेको पृथ्वीको कुनै भागमा अहिले पनि फिरन्ते युगका आदिम मानव जाति जंगलमा भ्याकुर, कन्दमूल र जंगली जनावरको शिकार गरेर जीवन निर्वाह गरिरहेका छन् भने एकाथरी मानिसहरु विज्ञानको चमत्कारिक आविष्कारको भरपूर उपभोग गरी रमाइरहेका छन् । 
अब विषयवस्तुलाई लेखेको शिर्षकतिर जोड्ने प्रयास गरौं र सुरुवात आफू र आफ्नै छिमेकी देशसँग तुलना गर्दै गरौं । राजनैतिक स्वतन्त्रताको लहर र समय हेर्दा नेपाल, चीन र भारतको अवस्था मिल्दोजुल्दो नै छ । भारत सन् १९४७ मा चीन सन् १९४९ मा र नेपाल सन् १९५० मा निरंकुशताको पंजाबाट प्रजातान्त्रिक युगमा प्रवेश गरेका हुन् र आज औसतमा ७० वर्ष पार गरेका छन् । स्वतन्त्रमा पाईला टेक्दा प्रायः समान हैसियत र स्तरमा रहेका दुई छिमेकी राष्ट्रहरुले आज विकासको लामो फड्को मारी आत्मनिर्भर भई महाशक्ति राष्ट्रको उचाईमा पुगिसक्दा हाम्रो गति र उचाई ओरालोतिर लागिरहेको अवस्था देख्दा सचेत देशभक्त र स्वाभिमानी नेपालीको मन दुखेको छ, नाक खुम्चेको छ ।
    नेपालमा १०४ वर्षको राणाशासनमा देश विकासको गति ठप्प नै रहयो । राणाहरुले यूरोपियन मोडेलका विशाल दरबारहरु आफू बस्नको लागि बनाए जहाँ अहिले सरकारका विभिन्न मन्त्रालयहरु बसेका छन् । त्यसैगरी तीस वर्षे पंचायतकालमा केन्द्रिय र राष्ट्रियस्तरका ठूलाठूला आयोजनाहरु निर्माण भए तर स्थानीय निकाय र स्तरमा विकास बजेट पठाउने चलन थिएन । केन्द्रिकृत शासन व्यवस्था भएकोले विकासका सबै योजना र निर्माण कार्यहरु सोझै केन्द्रको नीति निर्देशनमा परिचालन हुन्थे । तर त्यसबेला जे काम हुन्थ्यो त्यो दीगो भरपर्दाे र गुणस्तरीय नै हुने गर्दथ्यो । अहिले जस्तो कमिशन र भ्रष्टाचारको गन्ध त्यतिखेर आउँदैनथ्यो । 
    वि.सं. २०४६।४७ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि २०५१ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नौ महिने अल्पमतको सरकार गठन भएपछि ल्याएको विकासको अभियान “आफ्नो गाउँ आफैं बनाऊँ” कार्यक्रमले स्थानीय निकायहरु गाउँ र नगरमा विकासको बजेट विनियोजन गरी देश विकासको लहर सिर्जना गरेको हो । उक्त अभियान देश विकासको मूलमन्त्र र कोसेढुंगा सावित भएकोले त्यसपछि गठन भएका सरकारहरुले पनि स्थानीय निकायलाई पठाउने विकास बजेटलाई निरन्तरता दिँदै गरेको देखियो ।
    अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई तीन तहका सरकार क्रियाशील छन्, देशको विकास बजेट पनि पहिले भन्दा धेरै बढेको छ । तर जुन व्यवस्था र सरकार बदलिए पनि नेपालमा असारे विकासको अन्त्य कहिले सकेन । साविक पंचायतकालीन व्यवस्था देखि हरेक वर्ष साउन महिनालाई आर्थिक वर्षको प्रारम्भ र असार महिनालाई अन्तिम मान्ने प्रथा र सँस्कारलाई कुनै पनि व्यवस्था र सरकारले बदल्ने प्रयास गरेनन् वा बदल्नै सकेनन् । अहिलेसम्मका व्यवस्था र सरकारको प्रचलन र रवैया के देखियो भने हरेक वर्ष साउनदेखि माघ फागुनसम्म विकास, निर्माणका आयोजनाहरु सुस्त गतिमा संचालन हुने, अनि चैतदेखि जेठसम्म केहि गति लिएजस्तो देखिने र बाँकी धेरै विकास निर्माणका आयोजनाहरु बजेट सकाउनको लागि असार महिनामा मात्र हतार हतार सुरु गर्ने । स्थानीय निकायमा विकास निर्माणका बजेटहरु पठाउन सुरु गरेको पनि पच्चीस वर्ष नाघिसकेको छ । यस अवधिमा देशमा धेरै किसिमका सरकारहरु बदलिएका छन्, नेतृत्व बदलिएको छ, शासन व्यवस्था बदलिएको छ तर अपशोच जति सरकार व्यवस्था, नेतृत्व र पात्रहरु बदलिए पनि तिनीहरुको सँस्कार र प्रवृत्ति बदलिन सकेन, जसको फलस्वरुप देश विकासमा गरेको लगानी बालुवामा खन्याएको पानी सरह हुन पुगेको छ । 
    राजनीतिमा भन्ने गरे जस्तो, यथास्थितिवादी र दक्षिणपन्थी सरकारको पालामा त यो असारे विकासको सँस्कार फेरिएन तर अहिले त देशमा आफूलाई सर्वहारा वर्गको नेतृत्व भन्ने, प्रगतिशील, अग्रगामी र चमत्कारिक छलाङ मार्ने विल्ला भिरेको दुई तिहाई हाराहारी बहुमत भएको नेकपाको सरकार छ । यो सरकारले चाह्यो भने अहिले देशमा नारीलाई पुरुष र पुरुषलाई नारी बनाउने काम बाहेक अरु सबै का मगर्न सक्छ । तर के गर्नु सतीले सरापेको देश, बाहिर छँदा जति ठूला र आदर्शका कुरा र भाषण गरेपनि पद र शासनको बागडोर सम्हालेर चिल्ला कार र चिप्लो कार्पेटमा पुगेपछि अन्धो हुने रहेछ । कवि भूपी शेरचनले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उपन्यास त्यसै लेखेका होइन रहेछन् ।
    देश कोभिड १९ को संक्रमणबाट उन्मुक्ति खोज्दैछ देश छिमेकीको सीमा अतिक्रमणको हेपाहा प्रवृत्ति विरुद्ध पौठेजोरी खेल्दैछ र देश साउने झरीले ल्याएको बाढी पहिरो र नदी कटानको समस्या झेलिरहेको छ । अनि यतिबेला नै सत्तारुढ नेकपाका शिर्ष नेता र सरकार, विभिन्न गुट, उपगुटहरु खडा गरी एक आपसमा कटाक्ष गरी दुनियाँलाई तमासा देखाइरहेका छन् र यसैमा हारजितको फल हातमा पर्छ भनि रमाइरहेका छन् ।  विगतमा पार्टीको गुटफुट र जुटले के परिणाम ल्यायो, सबै देखेर भोगी सकेका नेताहरु अहिले किन फेरी त्यहि फोहोरी खेलमा लागेर पार्टीलाई सिध्याउन र कार्यकर्ताहरुलाई रुवाउन अग्रसर भएको हुन् बुझ्न सकिरहेको छैन । 
    देश विकासको स्पष्ट मार्गचित्र कोरी देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, घुसखोरी र भ्रष्टाचारको न्यूनीकरण अन्त्य गरी आम श्रमजीवी किसान मजदुर र न्यून आय भएका जनताको जीवनस्तर सुधार्ने कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्न सकेको खण्डमा आगामी पचास वर्षसम्म नेपालमा अविछिन्न र एकछत्र रुपमा नेकपाको वहुमतीय सरकार गठन र संचालन हुने प्रबल संभावना भएको वर्तमान अवस्थामा कम्युनिष्ट नेताहरुको अहंकार, घमण्ड र कुबुद्धिले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन नै पचास वर्ष पछि धकेलिने हो की भन्ने त्रासमा पुग्ने डर उत्पन्न भएको छ । तर आशा गरौं नेताहरुले त्यति तल्लो स्तरमा पुग्ने र पु¥याउने हर्कत गर्ने छैनन् । 
    अब फेरि प्रसङ्ग जोडौं देशमा फस्टाएको भ्रष्टाचार र कहिल्यै बदलिन नसकेको असारे विकासको सँस्कारले देश विकासको गरेको असरबारे । जुन देशमा असल का मगर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई दण्डको व्यवस्था हुँदैन त्यहाँ भ्रष्टाचारको चरम विकास हुन्छ, यहि नियति हाम्रो देशले भोग्नुपरेको छ । भ्रष्टाचार नियन्त्रण गर्न भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र लगायत जिल्ला तहमा पनि यसका शाखाहरु गठन गरिएका छन् । तर देशमा भ्रष्टाचार बढेको बढै छ । यी संस्थाहरुले सानातिना र निम्नस्तरका कर्मचारीहरबाट हुने भ्रष्टाचारमा मात्र आँखा पु¥याउन सक्यो तर संस्थागत भ्रष्टाचार राजनैतिक तहका उच्च व्यक्तिहरुबाट हुने ठूला भ्रष्टाचार र मोटो भ्रष्टाचारको छानविन र कारवाहीमा ति नियन्त्रण गर्ने निकायहरु चुकेको देखिएका छन् । यो कुरालाई विगतमा भएका धेरै घटनाहरुले पुष्टि गरिसकेका छन् ।     अब फेरी जोडौं असारे विकासको प्रसङ्गलाई, माथि पनि भनि सकियो कि असारे विकास नेपालको व्यवस्था र सरकारले परम्परागत रुपमा पालिराखेको कुसँस्कार र भ्रष्टाचारलाई पालनपोषण गर्ने प्रवृत्ति पनि हो । असारे विकास भन्ने वित्तिकै यो सरकारको बजेट सिध्याउने र आँखामा छारो हाल्ने गुणस्तरहीन काम भन्ने बुझिन्छ, मैले एकाध ठाउँमा इमानदार उपभोक्ता र ठेकेदार भेटियो भने राम्रो काम पनि हुन सक्छ । नत्रभने कुनै एउटा दश लाखको योजना ‘क’ ठेकेदारले ‘ख’ ठेकेदारलाई आठ लाखमा विक्री गर्छ, ‘ख’ ठेकेदारले फेरी ‘ग’ ठेकेदारलाई ६ लाखमा विक्री गर्छ । अब ‘ग’ ठेकेदारले सकेसम्म सस्तो र कम गुणस्तरको सामग्री अनि सस्ता र अदक्ष कामदारको प्रयोग गरी कम समयमा आयोजनाको काम सम्पन्न गर्दा त्यो कामको गुणस्तर कस्तो होला अनुमान गरौं ।
    आजभोलि सञ्चार माध्यम र पत्रपत्रिकामा केहि इमानदार जनप्रतिनिधिहरुले विकास निर्माणमा हुने गरेको यस्तै चरम भ्रष्टाचारको पीडा हेर्न र देख्न नसकेर पदबाट राजिनामा दिएका समाचार बारम्बार आइरहेका छन् । सलाम र सम्मान छ ती इमानदार र कर्तव्यनिष्ठ जनप्रतिनिधिहरुलाई । तर के गर्नु सबै स्थानीय निकायमा टर्च बालेर खोज्दा पनि इमानदार योग्य र भ्रष्टाचारमा संलग्न नभएका जनप्रतिनिधि हजारमा एकजना पाउन पनि मुस्किल छ । त्यसैले उनीहरु एक्लो वृहस्पति झुठो सावित भएका छन् । विकास निर्माणका आयोजनाहरु समय सिमा भित्र सम्पन्न हुन नसक्नुको अर्काे कारणमा स्थानीय पालिकाहरुले विकास गरेको लामो र झन्झटिलो कागजी प्रक्रिया पनि हो । धेरैजसो आयोजनाको उपभोक्ता समितिमा राम्रो लेखपढ गर्न जान्ने व्यक्ति हुँदैनन् अनि ति सामान्य लेखपढ भएका मानिसहरुले त्यो जटिल खालको कागजी र कानूनी प्रक्रिया पु¥याउन धेरै कठिन हुन्छ । योजनाको कार्यथलोमा पुग्नु अघि नै तिनीहरु एक हदसम्म निराश भइ थाकिसकेका हुन्छन् । अनि योजनाको किस्ता भुक्तानी प्रक्रिया पनि थप जटिल छ । स्थानीय पालिकाहरुलाई आयोजनाको गुणस्तर भन्दा पनि कागजी प्रक्रियाको गुणस्तर राम्रो चाहिने हुँदा टाठाबाठा उपभोक्ता समितिले कागजपत्र मिलाएर समयमै किस्ता भुक्तानी पाउँछन् भने सिधासाधा उपभोक्ताहरु किस्ता रकम भुक्तानी पाउन महिनौ कुर्न र पर्खन बाध्य हुन्छन् । 
त्यसैले स्थानीय पालिकाहरुले कागजी प्रक्रियालाई सहज र सरल बनाउनतर्फ ध्यान पु¥याउन आवश्यक छ । त्यसैगरी समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न उपभोक्ता समितिहरुलाई पुरस्कृत गर्ने र नराम्रो का मगर्नेलाई दण्डित गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । त्यसैगरी सबै आयोजनाहरुको काम जेष्ठ मसान्तभित्रै सक्ने गरी सम्झौता गरियो भने असारे विकासको गलत सँस्कार र परम्परामा सुधार हुँदै जाने थियो कि ?