2026 May 25/ 08:52: 16am

तुयुकाजी ताम्राकार

(२०७० असार महिनामा चेष्टा साप्ताहिकमा प्रकाशित लेख । २०७७ साउन १३ गते सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता भई कुनै उपाय मार्फत फिर्ता ल्याउन असम्भव भए सँगै नगरपालिकाले खरिद गरेपछि समय सान्दर्भिक ठानेर पुनः प्रकाशन गरिएको हो । लेखमा प्रकाशन भएका सबै वाक्यहरु त्यतिबेलाको अवस्थाको भएकाले जस्ताको तस्तै प्रकाशन भएको छ ।)
    पनौतीको सिरानचौरमा शहरी विकास परियोजनाबाट क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने योजना परेको छ । तर उक्त चौर कँडेल परिवारले आफ्नो नाममा नपाई राखेकोले जग्गाको स्वामित्वबारे विवाद उठेकोले रंगशाला निर्माण स्थगित भएको चर्चाले आम नगरवासीहरुको ध्यान आकर्षित हुनु स्वभाविकै हो । फुटबल, किक्रेट, हक्की, बास्केट बल, भलिबल वा कराँते, तेक्वाइन्दो वा दौड अन्य जस्तोसुकै खेलकूद खेल्न वा प्रतियोगिता गर्दा वा प्रशिक्षण गर्न सुरक्षित र व्यवस्थित मैदानको निर्माण हुनु अत्यन्त आवश्यक र जायज हुन्छ । यो सम्बन्धमा अनावश्यक विवाद गर्नु, ढिलासुस्ती वा अन्य प्रकारको कुनै बखेडा झिक्नु निन्दनीय हुन्छ । परापूर्वकालदेखि सार्वजनिक गौचरण, खेलमैदान, पनौतीका विभिन्न परिवारहरुको सिठी पुजा स्थल, प्रदर्शनी स्थल, खुल्ला चौर रहँदै आएको छ । उक्त चौर कँडेल परिवारले आफ्नो नाममा नापी गराई व्यक्तिको बनाएको थाहा पाउँदा आम नगरवासी आक्रोशित हुनु स्वभाविकै हुन्छ । यहाँ उक्त चौरको ऐतिहासिकताका बारेमा उल्लेख गर्न चाहन्छु । 
    पनौती नगरपालिका वडा नं.५ अन्तर्गत पर्माडीटोल इन्द्रेश्वर प्रावि पूर्व दक्षिणपट्टि एउटा ढिस्को छ । मल्लकालमा त्यो ढिस्को पनौती राज्यको एउटा सैनिक किल्ला अर्थात व्यारेक थियो । त्यसताकाको सैनिक व्यवस्थाको महत्वपुर्ण पक्ष राजधानी वा शहरहरु र सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वस्ती र क्षेत्रहरुलाई ठूला र अग्ला पसलेहरुले घेर्ने र यस्ता पर्खालहरुमा ठाउँ ठाउँमा ठूला साना ढोकाहरु बनाइएका हुन्थे । आपत्कालमा ढोकाहरु थुनेर शहरलाई सुरक्षित गर्ने कार्य गरिन्थ्यो । प्राचीनकालमा पनौतीमा ६ ढोकामध्ये उक्त क्वाठमा एक थिए । क्वाठमा रहेका सैनिकहरु हरेक दिन परेड खेल्न माथिल्लो चौरमा जान्थे । क्वाठका सैनिकहरु परेक खेल्ने भएकोले उक्त चौरको नाम नै क्वाठ ख्य भयो । पछि अपभ्रंश भई क्वाप ख्य भयो । नेवारहरु अझै उक्त चौरको नाम क्वाप ख्य नै भन्छन् । अर्काेतर्फ नेपाली भाषाको विकास भएपछि पनौती बजारको सिरानी झै रहेकोले उक्त चौरको नाम सिरान चौर हुन पुगेको हो । 
    पनौती एक स्वतन्त्र राज्य भएको बखत अथवा कुन राजाको समयमा हो वैज्ञानिक परिक्षण गरे पत्ता लाग्ला पनौती शहरभन्दा माथि सुरक्षित ठाउँमा हाल कँडेलहरुको घर भएको स्थानमा त्यहाँ फलामका कच्चा पदार्थ ल्याई खार्ने भट्टि हुनुपर्दछ । किन भने कँडेलहरुको घर भएको पूर्व उत्तर र दक्षिणको खेर गएको ठाउँहरुमा फलाम खार्दा निस्कने फलामका टुक्राटाक्रीहरु अझै प्रशस्त भेटिन्छन् । डाँडापारी वा ढुंखर्कतिर फलाम खानी छ भनिन्थ्यो सायद त्यतैतिरबाट कच्चा पदार्थ ल्याई त्यहाँ भट्टि बनाई खारेको हुनुपर्छ । त्यस्तो ऐतिहासिक बोकेको सिरानचौरको जग्गा कसरी कँडेलहरुको हुन पुग्यो ? उनीहरुले को सित कहिले किने ? अथवा तत्कालीन राजा महाराजा राणाहरुबाट दान दक्षिणा वा विर्तामा पो पाए ? उपहार, वक्सिस जागिर वा....खाएर पो पाए ? पाएको भए कति रोपनी वा आना त्यो पनि जनताले जान्नुपर्ने अवस्था आए झैं छ । रंगशाला निर्माण गर्ने कार्य उनीहरुले नै गर्दा स्थगित भएको छ किनभने विवादित स्थानमा योजना सम्झौता नगर्ने भवन डिभिजन कार्यालयको अडान छ । 
    पनौती र वरपरका सबै पाका मानिसहरुलाई के थाहा भने २०३०/०३१ सालतिर सरकारी नापी टोली जग्गा नापी गर्न आउँदा टौखाल, मल्पी, सुन्थान, पनौती आदि गाविसका आफूलाई समाजसेवी, ठूलाबडा, नेता, धार्मिक भनाउँदा लोभीपापीहरुले सार्वजनिक चौर, वनजङ्गल, बगर डाँडाकाँडा, पाटी, मठ, विभिन्न देवीदेवताको पुजा, बाजा, जात्रा चलाई खानुपर्ने जग्गाहरुसमेत आफ्नो नाममा नापी गराई जालझेल र बेइमानीपूर्वक दर्ता गराएका थिए । त्यस्ताहरु मध्ये जहाँ जहाँ सार्वजनिक जग्गा जोगाउनु पर्छ भन्ने असल नेता भए त्यहाँ त्यहाँ जनताको साथ लिई वर्षाैं मुद्दा लडी सर्वाेच्च अदालतबाट समेत सार्वजनिक नै भएको फैसला गराउन सफल भए । जहाँ मिलिजुली खाए त्यहाँ लालपुर्जा बनाई बेच्न समेत सफल भए । सार्वजनिक बगर, चौर आदि जग्गाहरु प्रष्ट रुपले सार्वजनिक नै भएको देखिए पनि राष्ट्रसेवक भनाउँदा कर्मचारीहरु लोभ मोहमा फसेर वा शक्तिको प्रभावमा परेर कानूनभित्र छिराई व्यक्तिगत बनाई दिनेमा उनीहरुको पनि हात रहेको पाइन्छ । सरकारी वा सार्वजनिक जग्गा जोगाउने इच्छा जागृत भएन वा खाँचो महसुस गर्न सकेन । यही नै कारण हो परापूर्व कालदेखि खेल, परेड र गौचरण हालसम्म रहिरहेको चौरको अधिकांश हिस्सा कँडेल परिवारले आफ्नो नाममा बनाइसकेका रहेछन् तर भोगचलन गरि खान किमार्थ सक्तैन, त्यसो त अदालतबाट समेत जितेका मानेश्वर बसपार्क (चौर) लायकु दरबार क्षेत्र, सिरानचौर, गणेश चौर आदि विभिन्न व्यक्तिहरुसित लालपुर्जा भएर पनि चौरको एउटा सानो अंश पनि कब्जा गर्न वा चर्चिन आँट गर्न सकेका छैनन् । उनीहरुमा साहस यसकारण छैन कि जनसागर वा जनअदालत उनीहरु विरुद्ध खनिने हुन्छ । जनअदालतको स्वीकृत वा समर्थनमा सार्वजनिक हितमा रहने इन्द्रेश्वर उमावि, इन्द्रेश्वर क्याम्पस, इन्द्रेश्वर प्रा.वि., रेडक्रस प्राधिकरणको अफिस आदि भने त्यही सिरान चौरको छेउछाउमा बनेका छन् । 
    त्यही सिरानचौर जहाँ २०१८ र २०३० सालको मकर मेलामा जिल्लास्तरीय वृहत प्रदर्शनी राखिएको थियो । त्यस्तैगरी क्षेत्रीय र जिल्लास्तरीय फुटबल भलिबल दौड आदिको प्रतियोगिता स्थल थियो । ठूलठूला धार्मिक, यज्ञ पुजा, दलहरुको सभा समारोहस्थल रहँदै आएको छ । कुनै व्यक्तिले उक्त चौरमा बाली लगाउने त के मेरो समेत भन्ने साहस गरेको थिएन । तर आज रंगशाला निर्माण गर्न सार्वजनिकताको कागजपत्र नक्सा खोजियो तब कँडेलहरुले आफ्नो नाममा जग्गा नपाएको सार्वजनिक भयो तब उत्तेजना बढ्दो छ । समयमै सच्याउनु जरुरी छ । सार्वजनिक जग्गाहरु जोगाउनुपर्ने जिम्मा र अधिकार पाएको नगरपालिकाका कर्मचारीहरुले लापर्वाह र गैरजिम्मेवारपूर्वक जग्गा दर्ता गर्न सिफारिस दिनु निन्दनीय छ । निर्वाचित जनप्रतिनिधिहरु नभएको बेला झन् उत्तरदायीपूर्ण आफ्नो योग्यता देखाई काम गर्नुपर्ने कर्मचारी एवं दलका प्रतिनिधिहरु बेहोसी हुनु वा शुभलाभकै भरमा जालझेल र षडयन्त्रमा लाग्नु अक्षम्य अपराध गर्नु नै हो । सार्वजनिक जग्गा लोभ गर्ने र पुर्जा बनाउन सहयोग पु¥याउने त्यस्तो जस्तोसुकै योग्य, विद्धान र ओहोदाको भएपनि गाउँ, नगर जिल्ला मात्र होइन राष्ट्रव्यापी निन्दा भत्र्सना र आलोचना योग्य कुपात्र नै हो । हामी सम्पूर्ण जनतालाई के विश्वास र भरोसा छ भने सम्मानित सर्वाेच्च अदालतले समेत कानूनी रुपमै त्यस्ता कुपात्रहरुलाई मुद्दा हराउने मात्र होइन सार्वजनिक जग्गा हडप्न खोजेकोमा जनतालाई दुःख दिएकोमा र रंगशाला बनाउन नदिई विकासमा अवरोध पु¥याएकोमा दण्ड सजाय स्वरुप जेल सजाय समेत तोकेको छ । सिरान चौरलाई सार्वजनिक नै कायम गराउन मुद्दा लड्ने वीरहरु तैयार भैसकेका छन् । उनीहरुलाई आर्थिक भौतिक सहयोग गर्न जनताहरु आतुर छन् । डर धनले शक्तिशाली सम्झिएका कँडेलहरु छिट्टै धरायशी हुनेछन् । डन र धन होइन असल मनले मान्छेलाई ठूलो बनाउँछ । अभिमान र घमण्डले पतन गराउँदछ । समय छँदै सम्बन्धितहरुमा सद्बुद्धि पलाओस् ।