2026 May 25/ 08:51: 12am

जीएन प्रधान

नेकपा पार्टी भित्र अहिले फेरी विवादले उत्कर्ष रुप लिन पुगेको छ । अबको  दुईचार दिनमा कुनै चमत्कार परिवर्तन नआएमा वर्तमान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी फेरि विभाजन हुने जस्तो देखिएको छ । पार्टीका ५ शीर्षस्थ नेताहरू र यीनिहरू समेत समिलित पार्टी केन्द्रीय सचिवालयको आन्तरिक विवाद बढ्दै जाँदा यो अवस्था सिर्जना हुन पुगेको छ । मूलरुपमा तत्कालिन एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एकता सम्झौतामा नै काँचो र अपरिपक्व सम्झौताको बुँदा नै अहिलेको कलहको बिऊ बन्न पुगेको छ । जहाँसम्म दुई पार्टी एक हुने र गर्ने भन्नेको मूल सम्झौतामा दुवै पार्टीका अध्यक्षहरू नै अध्यक्ष हुने, सरकारको नेतृत्व पनि दुवै अध्यक्षले आधा आधा अर्थात साँढे २÷२ वर्षको अवधीको आलोपालो हुने गरी सहमति गर्नु नै अहिलेको विवादको मूल चुरो बनेको छ भने त्यसरी  सम्झौता गर्न पुग्न नै  सबभन्दा ठूलो भुल हुन पुगेको सबैको ठहर छ । खासगरी प्रचण्डलाई ५ वर्षको लागि एकल अध्यक्ष दिएर हाम्रो नेकपाको अध्यक्ष भनेर गर्व गर्न पाउने वातावरण निर्माण गर्नु पथ्र्याे भने केपि ओलीलाई ५ वर्ष सरकार चलाउन सहयोग गरेर सबैले हाम्रो प्रधानमन्त्री भनी गर्व गर्न पाउने वातावरण बनाउनु पथ्र्याे । दुवै पार्टीका नेताहरूले उदार र फराकिलो भाव लिनु पथ्र्याे त्यस्तो हुन र गर्न सकेन ।  एकता त गरियो तर शंका र उपशंकालाई पालेर गरियो । जसले गर्दा अहिलेसम्म पनि पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व एमालेले आफ्नो पार्टीको अध्यक्ष भनेर दिलैदेखी खोलेर भन्न सकिरहेको छैन भने यता प्रम केपि ओलीलाई पनि पूर्व माओवादी केन्द्रका कार्यकर्ता तथा समर्थकहरूले पनि हाम्रो प्रधानमन्त्री भनी ढक फुकाएर  भन्न सकिरहेको छैन । हेर्दा लाग्छ अहिलेको नेकपाको सरकार  दुई पार्टीको संयुक्त सरकारको अनुभूति दिलाइ रहेको छ । जबकी २०४८ मा तत्कालिन माले र माक्र्सबादी बीच एकीकृत हुँदा तत्कालिन माक्र्सबादीलाई अध्यक्ष  र मालेले महासचिव पद लिएर पार्टी केन्द्र मिलाएका थिए ।
जसले पार्टी एक भएको जनलहर छिट्टै देशभर फैलिएको थियो ।  यस्तै एकताको सन्देश अहिले पनि दिन सक्नु पथ्र्याे । यसो भइदिएको भए अहिलेको नेकपा सशक्त र अनुशासित हुन्थ्यो भने पार्टी पनि स्थायी, प्रभावकारी र परिणाममुखी बन्न सफल हुन्थ्यो । सरकार र पार्टी दुवै गतिशील र लोकप्रिय भएर अगाडि बढ्न सकिन्थ्यो । अहिले पार्टी प्रति वितृष्णा जागृत हुँदै जानु र सरकारलाई कोहि कुनै पक्षबाट तिब्र विरोध गर्नुमा पार्टी र सरकार बीच एक आपसमा समन्वय कायम हुन नसक्नुले हो भन्न सकिन्छ । परिणाममा अहिले पार्टी, सरकार दुवै पक्षले बितृष्णा र आलोचना एकसाथ खेप्नु परेको छ । 
तसर्थ  दुई पार्टी बीच एकीकृत गर्ने सन्दर्भमा जे जस्तो शर्त, सम्झौता वा सहमती गरिए पनि जनताहरूको बीचमा  राम्रो तथा सकारात्मक सन्देश दिनकै लागि पनि उक्त सम्झौतालाई सच्याएर अगाडि बढ्न आवश्यक छ र सकिन्छ पनि । उक्त एकताको सम्झौता वा सहमति जे भनिए पनि त्यसलाई नै आधार मान्ने हो भने अहिले प्रचण्डले आधा कार्यकाल सरकारको नेतृत्व गर्न माग गर्नुलाई त्यति नाजायज भन्न मिल्दैन र प्रचण्डलाई साह्रै बेइमानी भनी हाल्न पनि मिल्दैन । यो आफैमा गलत हो । जब कि अर्का अध्यक्ष केपि ओली नै पूर्ण अधिकार प्राप्त अध्यक्ष रहि रहेको भए । तर पार्टीलाई कृयाशील बनाउन आवश्यक अधिकार अर्का अध्यक्षलाई दिई सकेकोले प्रधानमन्त्रीलाई दोष दिनु न्यायोचित हैन । यदि अध्यक्षको पूरा अधिकार प्रममै रहे  मनमा कुनैपनि आशंका र द्विविधा नराखी आफुलाई प्रम को जिम्मेवारी आउने वितिकै पार्टी अध्यक्षबाट छोडेको भए अति राम्रो हुने थियो । अहिले कुनै पनि ठाउँ र पक्षबाट पद र सत्ताको लागि लडाइँ भएको भनी सन्देश जाँदैनथ्यो । नेकपा पार्टी, सरकार र नेताहरूको इज्जत र प्रतिष्ठामा नकारात्मक धक्का लाग्न जाँदैनथ्यो । प्रम केपि ओलीको छाति विशाल भएको प्रमाणित हुन्थ्यो र उचाई अझ थपिन्थ्यो। अधिबेशनबाट निर्वाचित भएको एउटा पार्टीको हैसियतले अध्यक्षको पद छोड्न नचाहनु स्वभाविक बिचार र कुरा सहि भएपनि दुवै पार्टी एक भएर सरकारको नेतृत्वको जिम्मेवारी आफैलाई आईसकेको अवस्थामा आगामी एकता अधिबेशन सम्म दुवैपदबाट छोड्दिन्न भन्नु पनि त्यति न्यायसँगत होइन । यसले अर्को अध्यक्षप्रति विश्वास नगर्नु जस्तो देखिन्छ । यस्तै आम बुद्धिजिवीहरूको पनि बिचार रहेको देखिन्छ । प्रधानमन्त्री भई सकेको अवस्थामा एकीकृत पार्टीको मानार्थ अध्यक्ष वा आमन्त्रित अध्यक्षको रुपमा बस्नु भएको  भए धेरै राम्रो हुन्थ्यो र अहिले यस्तो विवाद उत्पन्न हुने थिएन कि भन्ने अनुमान लगाउन सकिन्छ । तर कार्यकारी अधिकार प्रचण्डलाई दिएको अवस्थामा प्रधानमन्त्री ओलीले पार्टीमा केही काम नगरी निष्कृय बनायो भनी आरोप लगाउन पनि मिल्दैन । यो आफ्नो कमजोरी लुकाउन दोष दिएको हो भन्न सकिन्छ ।
यद्यपि तत्कालिन एमाले–माओबादी केन्द्र समेतलाई गरि करिब दुईतिहाइको बहुमत आउनुको श्रेय एमाले अध्यक्षको हो भन्दामा अन्य कुनै पनि नेताहरूले खिन्नता, हिनतबोध अथवा अपजसबाट पछि पर्ने भयौँ भनेर सोच्नुपर्ने पनि छैन । फेरि यसैको आधारमा हामीहरूको उचाई घट्यो भनेर सोच्नु पनि बेकार छ । कद घटाउन पुगेकोछ त आफ्नै फोहरी गतिविधिले घटाउन पुगेको छ, आफ्नै कारणले घट्न पुगेकोछ । प्रमको दुवै पदबाट एकसाथ राजीनामा माग्ने वा माग्न उचालेर घटाएको छ । सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने बेलामा सरकार ढाल्ने गतिबिधिमा लागेर घटाएको छ । भारतको नरेन्द्र मोदी र स्वदेशी  प्रतिकृयाबादी शक्तिहरू वा नेकपा विरोधीहरूलाई खुशी तुल्याएर आफ्नै बेइज्जत कमाएर घटाइ रहेको छ । पद र सत्ताका लागि ¥याल चुहाउँदै अरूलाई उचालेर मान, प्रतिष्ठा र इज्जत घटाइरहेको छ । आफू सिन्को नभाँच्ने अरुलाई सरकार ढाल्न गुटबन्दी सिर्जना गर्न पुगेर पार्टीबाट पतन भएर जाँदैछ, यसले झन कद घटाउँदैछ । यहाँ क. प्रचण्डलाई अघि सारेर वा पदको ढाल बनाएर दुई अध्यक्ष बीचमा फाटो ल्याई जस्केलाबाट प्रधानमन्त्री बन्ने कोसिस पनि गरिएको देखिन्छ । त्यस्तै आफ्नै पार्टीका नेता र साँसदहरू प्रतिपक्षहरू भन्दा चर्को आवाज गरेर सरकारको बिरोध गर्नमा समय खर्चिएको पनि देखियो । हेर्दा लाग्छ नेकपाका सांसदहरूमा पार्टीको लगाम छैन, जस्तो बोल्न जस्तो गर्न पनि छुट छ ।
एकताको शर्त सम्झौता जस्तो भएपनि वास्तवमा जनताले दुई अध्यक्षले आधा आधा कार्यकाल सरकार चलाउनु भनेर मत दिएको पनि हैन । प्रष्ट रुपमा भन्नुपर्दा तत्कालिन एमाले अध्यक्ष केपि शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान र सरकारको कार्यशैलीबाट प्रभावित भएकैले पनि एमाले पार्टीमा जनलहर आएको थियो र यसैको सेरोफेरोमा दुईपार्टी एक हुने भन्ने सन्देशले पनि दुईपार्टीको साझा उम्मेदवारलाई जनताको अभिमत आएको हो भन्न सकिन्छ । आम नागरिकहरूले नेकपा र नेकपाको केपि ओली नेतृत्वमा आशा, अपेक्षा राखेका छन त्यो पूरा गर्नको लागि पनि पार्टी एकजुट भएर सहयोग गर्न आवश्यक छ । जनता नेकपाको केपि ओली नेतृत्वकै सरकार ५ चै वर्षको हेर्न चाहेका छन् । अरु कुनै पनि नेताको हैन । यो बेला अरु कुनै पनि  क  ख नेता प्रधानमन्त्रीमा आएर यो भन्दा राम्रो गर्लाजस्तो लाग्दैन । बरु भारतको इशारामा नाच्न पुग्ने कठपुतली सरकार बन्नसक्छ । के पि ओलीको परिवर्तनले नेपालको नयाँ नक्सा प्रकाशनले आहत बन्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देशका नेकपा विरोधीहरूलाई खुशी तुल्याउनकै लागि राम्रो हुनसक्छ । राष्ट्रियता र देशको स्वाभिमानलाई बन्धक राख्नको लागी चाहने हो भने पनि केपि हटाउन लाग्नुपर्छ ।  अनि यति पनि सम्झिन आवश्यक छ कि केपि ओलीको ठाउँमा जो प्रधानमन्त्री भएपनि ऊ पनि दुईदिने पाहुना प्रधानमन्त्री मात्र बन्न पुग्छ । र, सरकार फेरि पुरानै शैलीमा दोहोरिन पुग्छ । अहिले प्रधानमन्त्रीको राजीनामा मागेर फेरी लाखौँलाख कार्यकर्ताहरू र शुभ चिन्तकहरूको आस्था र निष्ठालाई मार्न खोज्दैछ । एकीकृत नेकपालाई जीवित राख्न र नेकपालाई माया गर्ने जनताहरूको भावनाला सम्मान गर्ने हो भने यो प्रम राजीनामाको अनावश्यक मुद्दाबाट पछि हट्नु पर्छ । तसर्थ पार्टी फुट विभाजन हुनु नदिनको लागि नेताहरू गम्भीर र संवेदनशील हुनै पर्छ । जसले पार्टीको नैतिक मूल्य र मान्यतालाई जीवन्तता कायम राख्न मद्दत गर्छ । फेरि अहिलेको अवस्थामा केपि ओलीकै कारण पार्टी फुट्न गएपनि यसका सम्पूर्ण दोषका भागीदार प्रम केपि ओलीको राजीनामा माग गर्नेहरू वा यो सरकार ढाल्न भुमिका निर्वाह गर्ने नेताहरू नै हुन्छन भनेर पनि सोच्न जरूरी छ । त्यो सरकारले जनताबाट कस्तो अपमान ब्यहोर्नु पर्नेछ भनेर पनि भविष्यवाणी गरि राखे हुन्छ ।
यसैले आम कार्यकर्ताहरूको शीर झुक्न नदिन, नेकपा प्रतिको निष्ठा र आस्था मर्न नदिन र, आफू लागेको पार्टी भन्नमा गर्व गर्ने ठाउँ राख्नको लागि पनि पार्टीलाई विभाजन हुनबाट जोगाउनै पर्छ । अहिले भर्खरै मात्रको पार्टी भित्रको उत्पन्न विवादले धेरैको निष्ठालाई खस्काउन पुगेको छ । मथिँङ्गल हल्लाइ दिएको छ । नेताहरूको यो ब्यवहारले हामी कार्यकर्ता शुभ चिन्तकहरूलाई लाज लाग्न थालेको छ । आफ्नै पार्टीबाट राजीनामा मागेर इतर पक्षलाई तमासा देखाउन पुगेको छ । यिनिहरू नै मध्येका कोही नेताहरू विवाद मिलाउन लागि पर्नुको सट्टा   बिस्केट जात्राको खट बोक्न काँध हालेझैँ क. प्रचण्डलाई काँध हालेर उचाल्न पुग्नु दुखद् बिषय बनेको छ । धेरै वर्ष नेतृत्व तहमा रहेर पार्टी हाँक्नेहरूको यो चाल हेर्दा नेतृत्वमा रहेकाहरूको वौदिक अवनति वा मानको पराकाष्ठा भएको अनुमान गर्न सकिन्छ । आफैमा पद र सत्तालोलुप अनि फुटपरष्ट नेताहरूको निर्देशन, प्रशिक्षण र भाषण पनि के सुनौ, के पत्याऊँ हुन पुगेको छ । नेताहरूबाट यस्तो व्यवहार देखाउनु इतिहासकै लागि कलंक बनेको छ । यस्तै जीवित भावनाबाट प्रेरित नेताहरूको भाषण सुन्न, निर्देशन सुन्न पनि सरम लागेर आउँछ । 
यो बेला प्रमूख प्रतिपक्ष नेपाली काँग्रेस समेत सबै बिपक्षीहरू मौन बनेर बसिरहेको छ । नेकपाको आफ्नै आन्तरिक विवाद तथा कलहलाई मज्जाकको दर्शक बनेर हेरिरहेको छ । कतिखेर कुनबेला फुट्लान भनेर ताली बजाउन ठिक परेर बसिरहेको छ । हाम्रा नेताहरू पार्टी अध्यक्ष वा प्रधानमन्त्री केपि ओलीको यो वा त्यो गल्तिहरू कोट्याइ कोट्याई राजीनामा माग्नको लागि बिऊहरू खोज्दैछ । सायद भारतलाई कसरी खुसी तुल्याउँ भनी बिचार गर्दैछ । अनि आम कार्यकर्ताहरू तथा स्वाभिमानका रक्षक जनताहरू पनि कसले के गर्दैछ भनी चियाई रहेको छ, एक एकको मूल्यांकण गरीरहेको छ । कतिपय नेकपा प्रेमी कार्यकर्ताहरू पार्टी विभाजक मियोहरूलाई कठालो समाएर सडकमा पछार्ने भनेर पनि तयारी अवस्थामा रहेको छ ।
निष्कर्षमा भन्नुपर्दा एकाध ब्यक्तिहरू बाहेक पार्टी प्रेमी कार्यकर्ताहरू फुट बिभाजनका बिपक्षमा रहेका छन् । बरु पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिईरहेका छन् । चाहे पूर्व माओवादी केन्द्रका हुन चाहे पूर्व एमालेका हुन दुवै पक्षका कार्यकर्ताहरू विभाजन नहोस् र एकता कायम होस् भन्ने मै रहेको छ। यहाँ समस्या रहेको देखिन्छ कि पार्टीको जिम्मेवारी पदमा रहेका ब्यक्तिहरू जस्ले आफ्नो जिम्मेवारी पूरा गर्नमा पछि रहेका छन्, उनिहरूनै प्रम के पि ओलीले दुवै पद ओगटेर पार्टी कमजोर भयो भनी आ आफ्नो जिम्मेवारीको कमजोरी लुकाउन आरोप लगाइ रहेका छन् । सायद सबैले आ–आफ्नो भूमिकाहरू निर्वाह गरिएको भए यो विवाद आउने पनि थिएन भन्न सकिन्छ । आशा छ आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकृय हुनुहोस् । पार्टी बिभाजन हुनबाट जोगाउनुहोस् । नेताहरूप्रति सद्बुद्धिको कामना छ ।
अन्तमा एकपटक पार्टी अध्यक्ष वा प्रधानमन्त्री भइसकेका ब्यक्तिहरू उसको लोकप्रियता र आम कार्यकर्ताको पूनः माग भएमा बाहेक पार्टीका अभिभावक मात्र भएर बस्नुपर्ने पार्टीको विधान हुन आवश्यक छ । पार्टीमा धेरै समयसम्म उच्च पदमा रहेकाहरूबाटै विवाद र विभाजनको घटनाहरू दोहोरिरहेको इतिहस हेर्दा अध्यक्ष र प्रम भएपछि पार्टीबाट विश्राम लिनु राम्रो हुने देखिन्छ । यो नेकपामा मात्र हैन सबै पार्टीमा हुन आवश्यक छ ।