2026 May 25/ 08:53: 20am

तपाई कस्तो नेता तथा कार्यकर्ता बन्ने ? 
केशव थापा
नेपालको सत्तासीन, प्रतिपक्ष लगायतका अहिले ठूला भनिएका पुराना दलहरु वि.स.२००० को आसपास र त्यसपछि निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको उद्देश्यकासाथ स्थापना भएका हुन् । भारतीय स्वतन्त्रता सङ्ग्राम र रुस, चीन लगायतका देशहरुमा आएको नवजागरणलाई प्रेरणाको रुपमा ग्रहण गर्दै स्थापना भएका दलहरुले राणाशासनको समाप्ति पछिको राजनीतिक सङ्क्रमणको  अवस्थालाई ठीकढङ्ले आत्मसात गर्न नसक्दा वामपन्थी पृष्ठभूमिको राजनीतिक दललाई प्रतिबन्धको नियति व्यहोर्न वाध्य पारियो भने दुइतिहाई जनमत प्राप्त राजनीतिक दल सर्वसाधरण जनताको अपेक्षा र चाहना विपरीतको उत्ताउलो गतिविधि र दलभित्रकै पदीय भागबण्डाको झगडाले एकदलीय पञ्चायती व्यवस्थाको उदयको कारण बन्न पुग्यो । स्व.राजा महेन्द्रको महत्वाकांक्षा मात्रले पञ्चायती व्यवस्थाको प्रादूर्भाव किमार्थ संभव थिएन । वि.सं.२०१७ को प्रारम्भदेखि नै प्रतिबन्धित अवस्थामा विदेश निर्वासनमा रहेर वा स्वदेशभित्र नै भूमिगतरुपमा क्रियाशील भएर ३० वर्षसम्म अनवरत संघर्ष गरेपछि वि.सं. २०४६ सालमा वहुदलीय प्रजातन्त्रको पुनस्र्थापना, वि.सं. २०५१ प्छि सशस्त्र विद्रोह, दलहरुको विभाजन र पुनर्गठन तथा वि.सं. २०६२÷६३ को जनआन्दोलनलाई व्यहोर्दै नेपालको राजनीति अहिलेको अवस्थामा आइपुगेको हो । राजनीतिक यात्राको आठदशक गुजार्ने क्रममा ती दलहरुको साविकको मूल्य, मान्यता र आदर्शमा निकै परिवर्तन आइसकेको छ तापनि मूल्यमा आधारित आदर्श राजनीतिमा विश्वास राख्ने पुस्ताले आफूसम्बद्ध दलको स्थापनाकालीन मूल्य, मान्यता तथा सिद्धान्त र संस्थापनकालीन नेताहरुको विचार, भावना, जीवनशैलीको पनि गहन अध्ययन गर्नु अत्यावश्यक हुन्छ । यात्राको प्रस्थान बिन्दु र गन्तव्यकोबीच वर्तमान अवस्था बुझ्न यसले अध्ययन मद्दत गर्छ । ज्ञान नै सबैभन्दा बलियो शक्ति, सही र सत्य सूचना नै सफलताको मार्गमा अघि बढ्न मद्दत गर्ने बलियो कुञ्जी भएको हुँदा राजनीतिमा हेलिएर केही गर्न चाहनेले प्रत्येक दिन २÷४ घण्टा नियमित अध्ययनमा बिताउनु उपयोगी हुन्छ । गहन अध्ययनले मात्र सिर्जनात्मक तथा विश्लेषणात्मक क्षमताको अभिवृद्धिमा टेवा दिन्छ । विचार मिल्ने साथीहरु सँगै बसेर संयुक्तरुपमा अध्ययन गर्ने, अध्ययन गरिएका विषयलाई विभिन्न कोणबाट चिन्तन, मनन र विश्लेषण गर्ने आदतले दिमागलाई अझ धारिलो बनाउन सहयोग पुग्छ । सामाजिक सञ्जाल तथा नेताहरुको उत्तेजित भाषण पोषिलो दिमागी खुराक नभएर दिमाग बिगार्ने ‘जङ्कफुड’ मात्र हो तथ्यचाहिं बुझ्नैपर्छ ।  

स–साना टुक्रामा विभक्त नेपाल पृथ्वीनारायण शाहको सक्रियता र नेतृत्वमा एकीकरण अभियानमा सामेल हुँदै सुगौलीसन्धि पछि यो अवस्थामा आइपुग्दा पनि अझै कालापानी, लिम्पुधुरिया र लिपुलेक, सुस्ता महेशपूरको समस्या व्यहोर्न अभीशप्त छ । नेपाल र नेपालीले आफ्नो भूमि आफ्नै भनाउँन पनि अनेक बाधासँग जुध्नु परेको छ । पृथ्वीनारायण शाहको देहावसानपछि राज्यएकीकरण र त्यसपछि राणा शासनकालमा पनि सत्ता, शक्तिको लागि सयौंको ज्यान नै जाने अनेक पर्व, आफन्तकै उक्साहट र निमन्त्रणामा वाह्य हस्तक्षेप, पारिवारिक वा सहकर्मीले एकको विरुद्ध अर्काेको खतरनाक जालझेल खेप्नु परेको थियो । यस्ता पर्व र काण्डहरुको गहिरो अध्ययनबाट राजनीतिमा आइलाग्न नसक्ने संभावनाहरुको बारे थाहा पाउँन सकिन्छ । अतः नेपालको सुदूरअतीत, निकट अतीत तथा वर्तमान अवस्था, प्रकृतिप्रदत्त यसका सम्पदाहरु, पूर्खा निर्मित्त दीर्घकालीन महत्वका सम्पदाहरु र तिनीहरुको उपादेयताको बारे गम्भीर अध्ययन नगरी देश र जनता बुझेको असल र सफल राजनीतिज्ञ बन्न कठिन हुन्छ । राजनीतिशास्त्रका अनेक विधाका अतिरिक्त महाभारत, रामायण, चाणक्यनीति लगायतका ग्रन्थको अध्ययनबाट निकै गहन र कठिन विषयका सहजउत्तर फेला पार्न सकिन्छ । यसर्थ, राजनीतिमा सघनरुची राख्नेले आफ्नो घरको बैठककोठा वा सयनकक्षमा मन परेको नेताको मात्र तस्बीरमात्र नसजाएर सैद्धान्तिक लगायत समसामयिक विषयका गहन पुस्तकहरु प्नि सजाएर राखी सोको नियमित अध्ययन गर्नुपर्छ । आफ्नो देश, समाज र जनता तथा आफूआबद्ध दलको मान्यताको अतिक्ति विश्व परिवेसको बारे जानकारी नभएको नेता रोशनीबिनाको जूनजस्तो मात्र हुन पुग्छन् । 
नेपालको राजनीतिको अहिलेको दुःख–नेतृत्वमा राज्य सञ्चालनका लागि अत्यावश्यक निकाय र संस्थासंबन्धी विशिष्ठ ज्ञानको अभाव पनि एक हो । वर्तमान राजनीतिमा विगतमा बुर्जुवाशिक्षा वहिष्कारको नारा घन्काउँदै औपचारिक शिक्षाबाट टाढा बसेका वा वञ्चित गराइएका वा विदेश निर्वासनमा रही उत्तैको शिक्षा ग्रहण गरेका नेतृत्वको वाहुल्यता रहेको छ । यही कारणले गर्दा औपचारिक शिक्षा हासिल गरी पञ्चायती वा वहुदलीय शासनकालमा उच्चपदमा पुगी शक्ति, पद र पैसाको स्वाद चाखी अझै पनि अतृप्तहरु जो नेताका आफन्त, छिमेकी वा जिल्लाबासी योगदानबिनै वा यदाकदा गरेको धेरथोर योगदानको भरमा लाभको पदमा बसेर त्यागी, इमान्दार र निष्ठावान कार्यकर्तामाथि सानकासाथ हुकुम चलाइरहेका छन् । राजनीतिमा लाग्न चाहने वर्तमानपुस्ताले यसबाट पाठ सिकेर आफ्नो रुची र चाहनाको विषयमा कम्तिामा पनि स्नातक वा सोभन्दा बढीको औपचारिक शिक्षा ग्रहण गरी राष्ट्रभाषा, सूचना–प्रविधि तथा अन्तर्राष्ट्रिय सम्पर्कभाषाको पनि राम्रो दख्खल राख्नुपर्छ । यसो गर्न सकियो भने हत्केलाबाट नै सारा विश्वलाई चियाई आफूलाई आवश्यक अद्यावधिक सूचना र जानकारी हासिल गर्न संभव हुन्छ । आफूलाई अद्यावधिक नगरी सहयोगीहरुको मात्र भरपर्दा आफू धेरै नै पछाडि परिसकिइएको हुन्छ । तथ्य र तथ्याङ्कसहित सही सूचना आकर्षक ढङ्गले सर्वसाधरणसमक्ष संप्रेषण गर्ने कला (मौखिक एवं लिखित ) नेता हुनको लागि अत्यावश्यक भएकोले त्यसका लागि नियमित अभ्यासको आवश्यकता पर्छ । 
सामान्यभन्दा सामान्य व्यापारिक संस्थाको व्यवस्थापनको निमित्त त अनेकानेक सिद्धान्त र मान्यताहरु प्रतिपादन भएर व्यवहारमा सफलतापूर्वक परीक्षण भैसकेका छन् । भिन्नभिन्न वर्ग, समुदाय, भूगोल, चेतना र अपेक्षाकासाथ संगठित हुने कार्यकर्ताको अत्युत्तम व्यवस्थापन गर्नुपर्ने राजनीतिको सफलताको लागि पनि सुझबुझपूर्ण व्यवस्थापन कौशलताको आवश्यक हुने तथ्यमा सजग हुनुपर्छ । तल्लो कमिटीमा सङ्गठित हुने बेलादेखि नै माथि उल्लेख गरे अनुसारको ज्ञान, सीप हासिल गर्दै त्यसलाई व्यवहारमा क्रमशः लागू गर्दै सिक्दै जान थाल्ने हो भने अधिवेसन वा निर्वाचनको बखत प्रतिनिधि तथा सर्वसाधरणको रोजाईमा पर्न सकिन्छ । अन्यथा महत्वकांक्षा र उपलब्धीकोबीच सामाञ्जस्य हुनसकी अवसाद (डिप्रेसन) शिकार हुने खतरा पनि उत्तिकै हुन्छ । सांगठानिक जीवनमा गल्तीको भयले केही नगर्ने पछुवा हुनुभन्दा गल्तीबाट सिक्दै राम्रो गर्दै जाने उत्साही कार्यकर्ता वा नेता हुने कोसिस गर्नु बढी श्रेयष्कार हुन्छ ।   
सामन्तवादको नाइके भनिने राजतन्त्र र तिनीहरुका आसेपासेका भड्किलो जीवनशैलीबाट आजीत भएर नेपाली जनता त्यसको विरोधमा आगो भएर जागेका हुन । यो तथ्य भूलेर वि. सं. २०४६ पछि सत्तापक्ष र प्रतिपक्षका माथिल्ला नेता र तिनीहरुका निकटतम तथा सशस्त्र विद्रोहमा हेलिने प्राधिकारहरुको कुलीनवर्गको रुपमा हुँदै गएको उदयले अहिलेको राजनीति र त्यसका वाहक नेताहरु बद्मान हुँदै जान थालेको देखिन्छ । दलका अतिरिक्त राष्ट्रिय निर्वाचन (तिनवटै तह) ज्यादै खर्चिलो र मूल्यमान्यता विपरीत हुँदै गएकोले जनताहरु थप निरास बन्दै गएको तथ्यलाई ख्याल गर्दै राजनीतिमा अभिरुची राख्नेहरुले त्यसमा सामयिक सुधारमा ध्यान दिनुपर्छ । सुगौली लगायत नेपालमाथि ठूलो झेल गरिएका सन्धि संझौताहरुका सबल र निर्बल पक्षहरुको गहनतम अध्ययन गर्दै हाम्रा दुवै छिमेकी राष्ट्रहरु तत्कालीन इष्ट–इण्डिया कम्पनीको चङ्गुलमा फस्दा पनि पनि नेपाल कसरी त्यसबाट जोगियो होला ? जोगिने आधार धारिलो खुकुरीमात्रै थियो वा त्योभन्दा पर अरु केही थियो कि त्यसमा पनि चिन्तन गर्दै यसलाई समृद्ध बनाउँदै जाँदा सफल राजनीतिक यात्री बन्न मद्दत पुग्छ । वि.सं.२००७ –वि.सं.२०१७, वि.सं.२०१७– वि.सं.२०४६ र वि.सं.२०४६ साल यताका नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिका आधार र यसले प्राप्त गरेका सफलता वा खाएका धक्काहरुका संबन्धमा पर्याप्त जानकारी बिना छोटेमोटे अ¥हौटे नेता त बन्न सकिएला तर परिपक्व दूर्दशी नेता बन्न भने कठिन नै हुन्छ । 
सबै नीतिभन्दा माथि रहेर देश, जनतालाई दुःख, कष्ट, पराधीनताको भड्खालोबाट सकुशल उद्धार गर्दै समृद्धितर्फ डोहो¥याउने राजनीति पाइलापाइलामा जोखिम भएको अति खतरनाक बाटो हो । सदाचारकासाथ मूल्यमान्यतामा टिकेर लोककल्याणको भगीरथ प्रयत्नमा आफू पनि अविरल जुटिरहने र अरुलाई पनि जुटाउन सक्ने उच्च आँट र विश्वास भएका व्यक्तिहरुले मात्र यो मार्ग रोज्नु पर्छ । अन्यथा समयक्रममा यो कठिनमार्गले पुनः उठ्नै नसक्ने गरी थलापार्छ  । भनिन्छ– सर्वसाधरण्ले आफ्नो ल्याकत अनुसारको मात्र नेता पाउँछन् । यस भनाइलाई हृदयङ्गम गर्दै असल, देशभक्त, सदाचारी, आदर्श नेता प्राप्तिका निमित्त सर्वसाधरण पनि वहकाउमा नलागी सक्कली र नक्कलीको सही भेद गर्न सक्ने गुणस्तरीय कसी बन्न सक्नुपर्छ । एकदुइवटा भङ्गाला च्यापेर गडगडाउँदै बग्ने खहरेले मोती बनाउन र संग्रह गर्न नसक्ने तथ्यलाई सदा स्मरण गर्दै मोती नै मोतीले भरिन त विशाल समुद्र बन्ने प्रयास गर्नुपर्छ । 
                                    (लेखक काभ्रे सेवा समाज,काभ्रेका वर्तमान अध्यक्ष हुन ।)