प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ
हरेक वर्षझैँ आजको दिन —
- ठूलो उत्सवको दिन हो,
- चिन्तन–मननको दिन हो,
- यो उत्सवका कारक बनेका सम्पूर्ण स्नातकहरूलाई बधाई दिने दिन हो, र
- तपाईंहरूको सफलतामा योगदान पु¥याउने सम्पूर्ण महानुभावहरूलाई सम्झिने दिन पनि हो ।
तपाईंहरूका आमाबुबा, परिवारका सदस्य, साथीभाइ, विश्वविद्यालयका शिक्षक, कर्मचारी, संस्थापक तथा विश्वविद्यालय परिवारका अन्य व्यक्तिहरू, समुदायका हितैषीहरू, नेपाल सरकार, सम्पूर्ण शुभेच्छुक र सहयोगीहरूले तपाईंहरूकोे सफलतामा ठूलो योगदान पु¥याउनुभएको छ ।
हो, यस्तो विनम्रता नै काठमाडौँ विश्वविद्यालयको समग्र चरित्रको आधारशिला हो ।
आज म हाम्रो देशको शिक्षा प्रणालीका बारेमा बोल्दै आफ्ना केही व्यग्रता, विश्वास र आशाहरू यहाँहरूका समक्ष राख्न चाहन्छु ।
केही दिन पहिले एउटा समाचारले मेरो ध्यान तानेको थियो । कुनै एउटा नेपाली विश्वविद्यालयका विद्यार्थीहरू चिसो र अँध्यारो रातभरि कुनै एउटा ब्याङ्कका अगाडि लाम लागेका थिए । त्यो लाम विदेशमा काम गर्न जानका लागि आवेदन भर्नेहरूको थियो । तर यस्तो खबर हामीले पढ्ने गरेको पहिलोपटक होइन । हाम्रा लागि यो अति सामान्य विषय भइसकेको छ ।
तर यस्तो किन भइरहेको छ ?
यस्तो स्थिति आउनुक ा कारणहरू सयौँ हुन सक्छन् । यसमध्येको प्रमुख उत्तरचाहिँ हाम्रो शिक्षा प्रणाली र यसले सिर्जना गर्ने अवसरहरूमा लुकेको छ । हाम्रो शिक्षा प्रणालीमा महत्वपूर्ण प्रगति भएको छ । तर हाम्रा अगाडि अहिलेको एक्काइसौँ शताब्दीमा अवसरहरूको सिर्जना र प्रयोग गर्न सक्ने ज्ञान र सीप भएका नयाँ पुस्ताका मानिसहरूको उत्पादन गर्ने चुनौती छ ।
हामीले सम्बोधन नगरी नहुने पहिलो सवाल हो, हाम्रो शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने ?
हाम्रो मुलुकमा थुप्रै समस्याहरू छन् र अवसरहरू पनि प्रशस्तै छन् । त्यसैले हाम्रो शिक्षा —
- यिनै समस्या र अवसरहरूप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्ने हुनुपर्छ,
- चुनौतीहरूबाट नयाँ सिर्जना गराउने साधनजस्तो हुनुपर्छ, र
- ती सिर्जनाले मानिसको जीवनमा परिवर्तन ल्याउने संयन्त्रको काम गर्नुपर्छ ।
- हामीलाई थाहा छ, देश विकासको आधारशिला नै शिक्षा हो । शिक्षाको माध्यमले नै हामीले —
- हाम्रो प्राकृतिक विविधता, वनस्पति तथा जीवजन्तुलाई टिकाएर राख्न सक्नुपर्छ,
- आफ्नै भूमिमा उच्च मूल्यका उत्पादनहरू सम्भव तुल्याउनुपर्छ,
- पानी, घाम र हावाबाट ऊर्जा उत्पादन गर्नुपर्छ,
- संस्कृतिको संरक्षण, सम्पदाको सुरक्षा र पर्यटनको उत्थान गर्नुपर्छ,
- आपसी समझदारी र सामाजिक सहिष्णुता कायम राख्नुपर्छ ।
यी कार्यहरू सम्भव तुल्याउन हामीसँग नयाँ रणनीति पनि हुनुपर्छ । यी रणनीतिहरू
- सरकारसँगको साझेदारी,
- समुदायसँगको सहकार्य,
- डायस्पोरासँगको संलग्नता,
- उद्योगहरूसँगको सम्पर्क, र
- अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा विश्वविद्यालयहरूसँगको हातेमालोमा तयार हुन्छन् ।
नीतिनिर्माता र शैक्षिक संस्थाका अगुवाहरूमा यी रणनीतिहरू बनाउने र कार्यान्वयन गर्ने–गराउने नैतिक दायित्व पनि छ । प्रयास नै नगरी पाइने असफलताले भन्दा प्रयास गरेर पनि हुने गल्तीले बढी महत्व राख्छ ।
हरेक दिन हामीबाट हुने ढिलासुस्तीले गर्दा दिनहुँ एक हजारभन्दा बढी युवाहरू राम्रो अवसरका लागि देश छोड्न तयार हुने गरेका छन् । हामी ती युवाहरूको पीडा सुनौँ । बिछोडमा परेका उनीहरूका आफन्तको मार्मिक रोदन पनि सुनौँ ।
- हामीसँग खेर फाल्नका लागि समय पटक्कै छैन ।
- हामीसँग शक्तिका लागि खिचातानी गर्दै बिताउने समय छैन ।
- हामीसँग पद र प्रभुत्वका लागि हानथाप गरिरहने समय छैन ।
- हामीसँग आफूलाई गाली गर्नेहरूसँग आफ्नो धारणा पवित्र छ भनेर सफाइ प्रस्तुत गरिरहने समय पनि छैन ।
हामी इतिहासको गम्भीर मोडमा छौँ । कुनै नयाँ कार्य गर्नका लागि अहिलेको भन्दा अनुकूल अवसर कहिल्यै आएको थिएन होला । त्यसैले हामी असफल भयौँ भने अहिलेको नयाँ पुस्ता र मुलुकमाथि गरिएको अन्याय हुनेछ ।
म आज शिक्षामा नैतिक आदर्श र इमानदारीको महत्वमा पनि केन्द्रित हुन चाहन्छु ।
- शिक्षा आफैँमा पवित्र हुन्छ,
- शिक्षा प्रदान गर्ने जुनसुकै संस्था मन्दिरजस्तै हुन्छ ।
मेरा लागि विश्वविद्यालयभन्दा पवित्र ठाउँ अर्को छैन । विश्वविद्यालयमा हामी
- बिउलाई उम्रन,
- बिरुवालाई हुर्कन, र
- रूखलाई फल्न सहयोग गर्छौं ।
प्राचीन कालमा —
- राजा र राजकुमारहरू समेत दरबारको सुखसयल छोडी गुरुहरूका साधारण झुपडीमा गएर सङ्घर्षपूर्ण जीवन बिताउँथे र कठिन अनुशासन पालना गर्थे ।
- त्यहाँ उनीहरू आफ्ना गुरुहरूबाट ज्ञानको पवित्रता र चरित्र सिक्थे ।
हामीले पनि शिक्षक, संरक्षक र अगुवाका रूपमा त्यही स्तरको उचाइ आफूमा विकास गर्ने आकाङ्क्षा राख्नुपर्छ ।
आफूलाई अनुकरणीय बनाउन हामीमा प्रतिबद्धता र चुनौतीको सामना गर्ने सोच चाहिन्छ । शिक्षक अथवा अगुवाका रूपमा हामीले —
- सिर्जनशीलता सिकाउनुभन्दा पहिले आफ्नो सिर्जना देखाउन सक्नुपर्छ,
- नैतिक आदर्श सिकाउनुभन्दा पहिले आफ्ना आदर्शहरू प्रस्तुत गर्न सक्नुपर्छ,
- परिश्रम गर्न लगाउनुभन्दा पहिले आफूले परिश्रम गरेर अरूलाई देखाउन सक्नुपर्छ,
- निःस्वार्थ हुन सिकाउनुभन्दा पहिले आफूले गरेको बलिदान अरूलाई देखाउन सक्नुपर्छ ।
आफ्ना स्नातकहरूले दुर्गम स्थानमा पुगेर नयाँ–नयाँ सिर्जना गरेको देख्न पाउँदा मलाई अत्यन्त खुसी लाग्छ ।
केही महिनाअघि मैले हाम्रो स्कुल अफ एजुकेसनका स्नातक एक शिक्षकलाई तराईको दुर्गम गाउँमा भेट्न पाएको थिएँ । भेटमा उनले जे मलाई सुनाए, त्यो मेरा लागि अमूल्य थियो । उनले भनेका थिए, “सर ! दुर्गम क्षेत्रको समुदायमा पुग्दा परिवर्तनका लागि कसरी काम गर्नुपर्छ भन्ने कुरा मैले केयूबाट सिकेँ । सहरसम्म गएर पढ्ने खर्च जुटाउन नसक्ने मानिसहरू यो गाउँमा बस्छन् । गाउँको विद्यालयलाई सहयोग गरेर कलेज पनि खोल्ने काममा संलग्न हुन पाएकोमा मलाई गर्व लागेको छ ।”
मैले केही हप्ताअघि नेपालको सुदूर पश्चिमको एक ठाउँमा कार्यरत एकजना सर्जनलाई भेटेको थिएँ । उनी पनि हाम्रै विश्वविद्यालयका स्नातक थिए । उनीभित्र पनि उस्तै खालको जोस–जाँगर थियो ।
काठमाडौँ विश्वविद्यालयमा हामी आफ्ना विद्यार्थीहरूलाई निःस्वार्थ समर्पण, निष्ठा र प्रतिबद्धता सिकाउन चाहन्छौँ । किनभने यी हाम्रा मान्यता हुन् । यस विश्वविद्यालयको स्थापना नै ‘नेतृत्वका लागि गुणस्तरीय शिक्षा’ का लागि भएको थियो । उच्च नैतिकता र दृढ प्रतिबद्धताको मार्गदर्शक सिद्धान्त यस विश्वविद्यालयले अँगालेको छ ।
सोच नै सानो, लक्ष्य नै स्वार्थी, संस्कार नै धम्की दिने, रणनीति नै मोलतोल गर्ने अनि द्वेषपूर्ण पूर्वाग्रह र पुरातनवादी शैलीले बाँधियो भने न प्राज्ञले न प्राज्ञिक संस्थाले नै प्रगति गर्न सक्छ । हामीले त्जभ ऋगतिगचभ या च्भखभचकभ क्ष्लअभलतष्खभ अथवा आफ्नो मात्र स्वार्थ पूरा गर्नेहरूलाई प्रोत्साहन गर्ने संस्कार हटाउनैपर्छ ।
कस्तो विडम्बना —
- नयाँ काम गर्न तत्पर मानिसले सयौँ प्रश्नहरूको उत्तर दिनुपर्ने र दर्जनौँ व्यक्तिलाई खुसी राख्नुपर्ने !
- व्यक्तिगत कामबाहेक अरू केही नगर्नेले घाम तापेर जति समय काटे पनि हुने !
- कर्मशील मान्छेको खेदो खन्नेहरूले क्षणिक भए पनि प्रशंसा बटुल्ने र आम मानिसको ध्यान आफूतिर पार्ने !
नयाँ काम सम्भव छैन भनेर काम गर्नेहरूलाई अवरोध पु¥याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो । बनाउन सक्तैनौँ भने भत्काउने काम पनि नगरौँ । सिर्जना गर्न सक्तैनौँ भने विनाश पनि नगरौँ ।
हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ । त्यसपछि मात्र —
- हामीले आफ्ना पुर्खाले बनाएका मन्दिरहरूको पुनर्निर्माण गर्न दातृ निकायहरूको खोजी गर्नुपर्ने छैन,
- हाम्रा युवाहरू विदेशको मरुभूमिमा पसिना बगाउनुको सट्टा आफ्नै खेतबारीमा खनजोत गर्न तत्पर हुनेछन्,
- हाम्रा पुराना चालचलनलाई प्रविधिका रूपमा विकास गर्न बाहिरी अनुदानको खाँचो पर्ने छैन,
- स्वदेशी ज्ञानलाई प्राज्ञिक कार्यक्रम वा अनुसन्धानको विषय बनाउन विदेशी विशेषज्ञको खोजी गर्नुपर्ने छैन,
- हामीले नचाहिने काममा अलमलिएर दिन बिताउनुको सट्टा नवीन सिर्जनाहरू गरेर आनन्द लिने मौका पाउनेछौँ ।
हामीले सबैभन्दा पहिले आफूमा रहेको पूर्वाग्रही सोचलाई परास्त गर्न सक्नुपर्छ । अरूका कामको आलोचना गर्नेहरूले कहिल्यै इतिहास बनाउन सक्तैनन् । परम्परालाई चुनौती दिने र नयाँ सिर्जनाका लागि पसिना बगाउन साहस गर्ने मान्छेहरूको मात्रै इतिहास लेखिन्छ । काठमाडौँ विश्वविद्यालयले नवीनताप्रतिको यस्तै प्रतिबद्धताको प्रतिनिधित्व गरेको छ । नयाँ ढाँचाको आत्मनिर्भर र गुणस्तरीय प्राज्ञिक थलोका रूपमा हामीले मुलुकका लागि सम्भावनाका नयाँ ढोकाहरू खोलेका छौँ । तपाईं स्नातकहरू नै यसका उत्कृष्ट प्रमाण हुनुहुन्छ । स्वप्नदर्शी र परिश्रमी मान्छेहरूको सानो समूहले पनि देशको शिक्षा र विकासको दृश्यलाई बदल्न सक्छन् भन्ने तथ्य यो विश्वविद्यालयले स्थापित गरेको छ जस्तो मलाई लाग्छ ।
तपाईंले हाम्रो सपना के हो भनेर सोध्नुभयो भने म सरल शब्दमा त्यसको उत्तर दिन चाहन्छु । हामी नेपालको दुर्गम गाउँको कुनै पनि परिवारले देशकै सुगम ठाउँको अर्को परिवारले जस्तै जीवन जिउन पाओस् भन्ने चाहन्छौँ । अनि मात्रै त्यो दुर्गम गाउँमा पनि —
- शिक्षाका लागि बालबालिकाहरू राम्रो विद्यालयमा जान पाउनेछन्,
- युवाहरूले गाउँमै काम गरेर सम्मानपूर्ण जीवन यापन गर्ने मौका पाउनेछन्,
- बिरामी पर्दा बुढापाकाहरूले नजिकै राम्रो उपचार पाउनेछन्,
- कुनै व्यक्ति दुःखमा पर्दा सम्पूर्ण समुदाय नै उसलाई सहयोग गर्न तत्पर हुनेछ,
- हावा स्वच्छ, सफा, धूवाँ–धूलो नभएको हुनेछ ।
के यो ठूलो र असम्भव सपना हो ? होइन । किनभने हामीले नै धुलिखेल र केही गाउँहरूमा यो कुरा सम्भव बनाएका छौँ । हामी नेपालका अन्य भागमा पनि यो सम्भव बनाउन सक्नेछौँ । हामी समुदाय, स्थानीय सरकार, मन्त्रालय र अन्य सरोकारवालाहरूसँग सहकार्य गर्न चाहन्छौँ । हामी काठमाडौँ विश्वविद्यालयलाई देशका कुना–कुनामा पु¥याउन चाहन्छौँ । आउनुहोस्, हामी हाम्रो सफलतालाई यहाँका पर्खालहरूबाट बाहिर फैलाऊँ । विश्वविद्यालयलाई सीमारहित बनाऊँ ।
हेनरी फोर्डले भनेका थिए, “क्ष थयग बधिबथक मय धजबत थयगुखभ बधिबथक मयलभ, थयगुिि बधिबथक नभत धजबत थयगुखभ बधिबथक नयत।”
अर्थात् तपाईंले पहिले गर्ने गरेको काम मात्रै गर्नुभयो भने पहिले पाउने गरेको फल मात्रै पाउनुहुनेछ ।
ठूला–ठूला प्रतिज्ञा गरेर मात्र परिवर्तन ल्याउन सकिँदैन । हामीले आफ्नो ठाउँबाट केही नयाँ र केही राम्रो गर्न चाहनेहरूलाई सहयोग गर्नुपर्छ । फूल फक्रियोस् भन्ने चाहना राख्ने हो भने कोपिलालाई चलाइरहने काम गर्नु हुँदैन । बरू सुख्खा जमिनमा पानी हाल्ने अनि जराको वरिपरि गाँजिएको झारलाई उखेल्ने काम गर्नुपर्छ ।
हामी —
- विश्वासको संस्कारलाई प्रश्रय दिऊँ,
- नैतिक आदर्शहरू सुधारौँ, र
- असल मूल्य–मान्यताहरू स्थापित गरौँ ।
पुर्खाबाट सिकेका यिनै कुराहरू भावी पुस्तालाई पनि सिकाऊँ ।
प्रिय स्नातकहरू ! आजको समारोहबाट घर फर्कंदा तपाईंहरू यही ज्ञान लिएर जानुहुनेछ भन्ने मेरो विश्वास छ ।
(२२ नोभेम्बर २०१९ मा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेज, चौकोट, काभ्रे काठमाडौं विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहको पहिलो कार्यक्रममा उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठबाट प्रस्तुत मन्तव्य)









