2026 April 20/ 04:10: 01pm

जनसंख्या घट्दै जानु, भएको जनसंख्या शहर केन्द्रित हुनु, युवाहरु स्वदेशमा रमाउन नसकेर विदेशिन बाध्य हुनु जस्ता तमाम कारण गाउँ सुनसान हुन थालेका छन् । भुकम्प पछि बनेका दरबार जस्ता भब्य विद्यालयका भवनहरु रित्ता हुन थालेका छन् । शिक्षकहरु आफै कहाँ गएर विद्यार्थीहरु पढाउने भन्ने योजना बनाउन थालेका छन् । गाउँ सुनसान हुँदा खण्डहर बनेका बस्तिहरु, मलिला जमिनहरु बाँझो रहन थालेका छन् । गाउँमा मलामी पाउन छाडेका छन् । मलामी जान र लाश बोक्न समेत सवारी साधन भाडामा लिनु पर्ने अवस्था आउन थालेको छ । विकास गाउँ जान थालेको छ । बार्षिक करोड करोड खर्च गरेर बन्ने सडकहरु सुनसान हुन थालेका छन् । सडकमा गुड्ने सवारी साधन कम हुन थालेका छन् । भएका सवारी साधनमा पनि यात्रुहरुको संख्या छैन । सडक लगायतका पूर्वाधारहरु बने पनि उपभोग गर्ने नागरिक छैनन् । जहाँ नागरिक छैनन् त्यहाँ के का लागि विकास ? के का लागि पूर्वाधार ? गाउँ रित्ता हुँदा शहरले मात्रै थेग्न सक्ला ? मुलुकको चित्र कता जाँदैछ ? 
    जिल्लामा १३ वटा पालिका छन् । ति मध्ये केहि शहरोन्मुख छन् । नमोबुद्ध, पाँचखाल, पनौती पछिल्लो समय नागरिकहरुको आकर्षक शहरका रुपमा बस्ति विस्तार हुन थालेका पालिका भित्र पर्छन् । मण्डन देउपुर र नमोबुद्धका वडाहरु भने खाली हुन थालेका छन् । बनेपा, धुलिखेल र पनौती आम नागरिकहरुको रोजाईको क्षेत्र बन्न थालेको छ । बस्ति विस्तार र जनसंख्यामा आएको बृद्धिले तथ्यहरुको पुष्टि गरेको छ । यी पालिकाका केहि वडाहरु भने सुनसान छन् । आम रुपमा बालबालिकाहरुको संख्या कम हुन थालेको छ । विगतको जनशक्ति र योजनामा परिवर्तन जरुरी छ । जिल्लाको चौरीदेउराली गाउँपालिकास्थित साविक मादनकुँडारी गाविस हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ७ मा रहेको स्वस्थानी मावि २०८० साउन महिनाबाट बन्द भयो । २०३२ सालमा स्थापित उक्त विद्यालयमा चालु शैक्षिक सत्रका लागि माध्यमिक तहसम्म ३५ जना बालबालिकाहरु भर्ना भएका थिए । गाउँपालिकाले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकै रहेको सिर्जनशिल माध्यमिक विद्यालयमा अध्ययन गर्ने उद्देश्य सहित स्वस्थानी मावि बन्द गर्ने निर्णय ग¥यो । स्वस्थानी मावि उदाहरण मात्रै थियो । चौरीदेउराली गाउँपालिकामा रहेका ५९ वटा विद्यालय अहिले ३३ वटामा सिमित भएका छन् । २०७४ सालमा ५९ वटाबाट ५३ वटा विद्यालय कायम भएकोमा ५ वर्षको अवधीमा २० वटा विद्यालय बन्द भएका छन् । साविकका ९ वटा गाविसलाई एउटा पालिका बनाईएको छ । चौरीदेउराली गाउँपालिकामा हाल ९ वटा वडा छन् । ९ वटा वडामा रहेका १२ वटा माध्यमिक तहका विद्यालयम मध्ये १० वटा संचालनमा छन् । चौंरीदेउराली गाउँपालिका भित्र २०७८ को जनगणना अनुसार ४१५६ घर परिवारमा १४०७६ जनसंख्या रहेको छ । २०६८ सालको जनगणनामा २० हजार ८ सय २९ जनसंख्या रहेको उक्त पालिकामा २०६८ सालमा १४ हजार ७६ मा झरेको छ । –३.७६ प्रतिशतका दरले जनसंख्या घट्दो छ । २०६८ सालमा –२.६४ प्रतिशत थियो ।     चौरीदेउराली गाउँपालिका जस्तै तेमाल, रोशी गाउँपालिकाबाट पनि ह्वात्तै नागरिकहरु घट्दो क्रममा छन् । 
    रित्ता विद्यालय भरिभराउ गर्न एकिकृत बस्तिको निर्माण तथा स्थानीय सरकारले फरक खालका योजना निर्माण जरुरी छ । शहरका सामुदायिक विद्यालय खचाखच हुन थालेका छन् । गाउँका जनशक्ति त्यहि ब्वस्थापन गरेर आम नागरिकहरुले प्राप्त गर्नु पर्ने शैक्षिक अधिकारका लागि राज्यको लगानी सदुपयोग गर्न तीन तहकै सरकारले ढिलाई गर्नु हुन्न ।