कोरोना भाईरसका कारण मुलुक अझै लकडाउनकै अवस्थामा छ। शैक्षिक संस्था, होटल ब्यवसाय, पर्यटन क्षेत्र, सार्वजनिक यातायात क्षेत्र लगायतका थुप्रै क्षेत्रहरु अझै प्रभावित छन्। नागरिकहरुको दैनिक जीवन सहज र सरल बनाउन प्रयासरत तीन तहका सरकार, जिल्ला स्थित कमाण्ड पोष्ट, विभिन्न संघ संस्था नागरिकहरु्र सक्रिय छन् तर पनि जीवन सहज र सरल बन्न सकिरहेको छैन। स.ंक्रमण बढिरहेको छ। क्वारेन्टिन निर्माण र ब्यवस्थापनमा स्थानीय सरकारको सक्रियता बढेको छ। विदेशबाट आएका नेपालीहरुमा संक्रमणको जोखिम उच्च छ। जोखिम न्युनीकरणका लागि भएका प्रयासहरुले समुदाय स्तरमा फैलन नदिन सहज बनेको छ। ढुक्क हुने अवस्था छैन। सजग र सचेत बन्नु प्रमुख चुनौती बनेको छ।
जिल्लामा पछिल्लो तथ्याङ्कमा विदेशबाट आउनेहरु नै संक्रमणको जोखिममा रहेका छन्। छिमेकी देश चीन र भारतमा कोरोना भाईरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन गर्ने निर्णय ग¥यो। त्यसअघि नै काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ को महामारी रोक्न स्थानीय सरकारहरुले आफ्नो इलाका भित्र लकडाउन गर्ने निर्णय गरेका थिए। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि कमाण्ड पोष्ट गठन गरिएको थियो। कमाण्ड पोष्टमा प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालका प्रतिनिधिहरुलाई सदस्यमा मनोनित गर्नु भएको थियो। सदस्यहरुमा विष्णु दल गण धुलिखेलका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण हेडक्वाटर पाँचखालका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख अनुसन्धान अधिकृत सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार र सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको टोली सक्रिय छ।
कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि कमाण्ड पोष्ट सँगै जिल्ला स्तरीय स्वास्थ्य संकट ब्यवस्थापन केन्द्र गठन भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा कमाण्ड पोष्ट र स्वास्थ्य आपत्कालीन समिति गठन भएको छ। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख र धुलिखेल अस्पतालका प्रतिनिधि सदस्य रहेका छन्। स्थानीय तहमा गठन भएका उक्त समितिले आवश्यकता अनुसार स्थानीय स्तरमा स्वंयसेवकहरु परिचालन गर्ने र सामाजिक दुरी कायम राखी नागरिकहरुलाई सुरक्षित राख्न, अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिन र जिल्लामा रहेको समितिसँग समन्वय गरी कार्य गर्ने कार्यादेश प्राप्त गरेको छ।
संक्रमण फैलन नदिन ब्यक्ति आफै सचेत हुनु जरुरी छ। त्यसका लागि अपनाउनु पर्ने सुरक्षा रणनीतिका बारेमा स्वयं सचेत हुनु पर्छ।





