2026 April 16/ 06:48: 28pm

चालु आर्थिक वर्ष, अघिल्लो आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा संचालन भएका र हुने योजनाहरुले जिल्लाको विकास र समृद्धीको आधार तयार गरेको छ । आम नागरिकहरुको जीवन स्तर उकास्न यस्ता परियोजनाहरुले महत्वपूर्ण भूमिका खेल्नेछन् । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला राजनीतिक शक्ति र पहुँचका आधारमा कमी भएको अवस्थामा जिल्लाको विकास चाहेको जस्तो गतिमा हुन सकेको थिएन । २०७४ मा भएको निर्वाचनबाट निर्वाचित भई केन्द्रिय राजनीतिमा पहुँच बनाए पछि जिल्लाको विाकस निर्माणले गति लिन खोजेको हो । पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, साँगामा प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण केन्द्र, करिडोर, खानेपानी, सडक, सिंचाई, ढल प्रशोधन, काभ्रे भ्याली स्मार्ट सिटी, धुलिखेलसम्म ६ लेनको सडक, ग्वार्काे कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत ट्रेल, पाँचखाल सिंचाई परियोजना मार्फत इन्द्रावतीको पानी पाँचखालमा, बुद्ध सर्किट, कोशिपारी जोड्ने चेहेरेको पुल, काभ्रे भ्याली, मण्डनदेउपुर, पाँचखाल, तेमाल, नमोबुद्ध, बेथान्चोक गाउँपालिकामा खानेपानी आयोजना जस्ता महत्वपूर्ण गौरवका आयोजनामा रकम विनियोजन भएको छ । १११ मेगावाटको कोखाजोर जलाशययुक्त जलविद्युत्त आयोजना, मादनकुँडारी मकैबारी आयोजना ३३ केभिए, पाँचखाल उपत्यका जलश्रोत आयोजना, सामुदायिक तथा ग्रामिण विद्युत्तिकरण अन्य तथा अधुरो ग्रामिण विद्युत्तिकरण प्राथमिकतामा परेका छन् । 
    जिल्लाको मुहार फेर्ने मध्येका केहि महत्वपूर्ण आयोजना संचालनले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रभाव पार्नेछ । जननेता मदन भण्डारीका नाममा स्थापना गर्न लागिएको विश्वविद्यालयका लागि आवश्यक पर्ने जमिनको ब्यवस्थापन भईसकेको छ । जननेता मदन भण्डारीको योगदानलाई स्मरण गर्दै सरकारले निर्माण गर्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि १ अर्ब २० करोड रकम विनियोजन भएको छ । जसका लागि पाँचखाल नगरपालिका वडा नम्वर ७, १० र १२, नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ नम्वर वडामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नीजि तथा सरकारी ११ हजार ६१ रोपनी जमिन ब्यवस्थापन गरिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ रोपनी जमिन अधिग्रहणको प्रकृया सकिएको छ । साविक बालुवा गाविस वडा नम्वर ६ र ८, होक्से गाविस वडा नम्वर २, मेथिन्कोट गाविस वडा नम्वर ७, फुलबारी गाविस वडा नम्वर ५ र ६ नम्वर वडाका जग्गाहरु विश्वविद्यालयका नाममा दर्ता गरिएको छ । आउँदो वर्ष जिल्लामा दुईवटा विश्वविद्यालय निर्माण हुने भएका छन् । मदन भण्डारी विश्वविद्यालयसँगै बनेपाको साँगामा प्रतिरक्षा विश्वविद्यालयका लागि २० करोड ३४ लाख रुपैया विनियोजन भएको छ । उक्त विश्वबिद्यालयमा नेपाली सेनाले प्रतिरक्षा सम्वन्धी विषयमा अध्यन अध्यापन गराउनेछ । जिल्लाको अर्काे महत्वपूर्ण आयोजना सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार हो । साविकको आईटी पार्क क्षेत्रमा उक्त पूर्वाधार निर्माणको कार्य शुरु भईरहेको छ । ३० करोड ४० लाख उक्त प्रयोजनका लागि खर्च हुनेछ । धुलिखेलसम्मको ६ लेन सडकको निर्माणका लागि सुर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर सडक खण्डका लागि १ अर्ब २० लाख बजेट विनियोजन भएको छ । 
    थुप्रै योजनामा अरबौ रकम विनियोजन भएको छ । बजेट विनियोजन हुनु मात्रै ठुलो कुरा हैन । त्यसको कार्यान्वयन महत्वपूर्ण विषय हो । योजना पर्दैमा खुशी भएर कार्यान्वयनमा ध्यान दिन सकिएन भने त्यसले कुनै अर्थ राख्दैन । पुर्व मन्त्री गोकुल बास्कोटा, प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्यहरु लगायत स्थानीय तहका जनप्रतिनिधिको प्रयासले विनियोजन भएका गौरवका योजनाहरुको कार्यान्वयन सबै तहबाट हुनु जरुरी छ ।