2026 June 24/ 09:17: 51am

    समाजमा विभिन्न प्रकृतिका अपराध हुन थालेका छन्। समाजको विकास र प्रविधिसँगै अपराधका रुप र अपराधमा संलग्नहरुको पहिचान पनि फेरिन थालेको छ। अपराध गरेर अपराधीहरु भाग्ने क्रम र समाजको मेरुदण्डका रुपमा रहेका बालबालिका, विद्यार्थी तथा युवाहरुको संलग्नताले मुलुकको अवस्थालाई चित्रण गर्दै लगेको छ। पहिले पहिले हुने अपराधका स्वरुप फरक हुन थालेका छन्। सडक सञ्जालसँगै भएका अपराधहरुले नयाँ गति समातेका छन्। प्राकृतिक प्रकोपसँगै अपराधले बदलेका धारहरुको विश्लेषण गर्दै अपराध न्यूनिकरणका उपायहरु समयमै खोज्न जरुरी छ। अपराधको तथ्याङ्क र अपराधका स्वरुपहरुले ब्यक्ति क्रुर किन बनिरहेको छ? अभाव, दबाब र प्रभावबाट मुक्त हुँदा पनि मान्छे किन सन्तुष्ट हुन सकिरहेको छैन? विविध प्रश्नहरुका बीच अपराधले पहिल्याएको बाटो रोक्न सरोकारवालाहरुको चासो हुनु जरुरी छ।
    काभ्रेपलाञ्चोक जिल्लाको चालु वर्षको ७ महिनाको तथ्याङ्कमा ३ सय ४१ वटा अपराध भएका छन्। अपराधमा ३ सय ९३ अभियुक्त संलग्न छन्। अपराध मध्ये १ सय २२ वटा दिउँसोको समयमा भएका छन् भने रातिको समयमा ९२ वटा भएका छन्। अपराधमा संलग्न भनिएका अभियुक्त मध्ये १६ वर्ष मुनिका १ जना मात्रै छन्। १६ देखि २५ वर्ष उमेर समुहका १ सय ४२ जना छन्। २६–३५ वर्षसम्मका १ सय २२ जना अभियुक्त छन्। ३६–४५ उमेरमा ७७, ४६–६० उमेरमा ४७ र ६० वर्ष भन्दा माथी ४ जना रहेका छन्। अपराधमा कृषिमा संलग्न ८७, बेरोजगार २७ जना, ज्याला मजदुरीमा संलग्न ७३, कर्मचारी १३, ब्यापारी २३, चालक÷सहचालक ६४, गृहिणी १४, विद्यार्थी ६२, बैदेशिक रोजगारमा संलग्न १ र राजनीतिमा संलग्न २९ जना रहेका छन्। संलग्न मध्ये ३ सय ६८ पुरुष र २५ जना महिला छन्। अपराधमा भारतीय नागरिक ६ जना संलग्न भएका छन् भने बाँकी सबै नेपाली छन्। अपराधमा पीडित मध्ये १६ वर्ष मुनीका १२ जना, १६ देखि २५ वर्ष उमेरसम्मका ६९ जना, २६ देखि ३५ वर्षसम्मका ८३ जना, ३६ देसख ४५ वर्षसम्मका ५४, ४६ वर्ष देखि ६० वर्षसम्मका ४२ जना, ६० वर्ष माथिका १४ जना र उमेर नखुलेका ६७ जना ब्यक्ति अपराधमा संलग्न भएका छन्। कर्तब्य ज्यान सम्वन्धी अपराध ७ महिनामा तीन वटा मात्रै भएका छन्। ज्यान मार्ने उद्योगमा ४ वटा अपराध भएका छन्। 
    जर्बजस्ति करणीमा २९ वटा, जर्बजस्ति करणी उद्योगमा चारवटा अपराध दर्ता भएका छन्। अपहरण सम्वन्धी एकवटा, लागु औषध सम्वन्धी ५ वटा, आत्महत्याका ७१ वटा घटना भएका छन्। जीवनबाट विरक्तिएका, प्रेम तथा परिवारको सम्वन्धमा अवरोध सिर्जना भएका ब्यक्तिहरु आत्महत्यामा प्रेरित भएका छन्। आत्महत्यामा विद्यार्थी १४ जना रहेका छन्। हातहतियार सम्वन्धी अपराधमा एक, केहि सार्वजनिक अपराधमा १ सय ५ वटा मुद्दा दर्ता भएका छन्। चोरी सम्वन्धी १० वटा, बैकिङ्ग कसुरमा एकवटा, मानव बेचविखनमा एकवटा, ठगीमा एकवटा, संगठित अपराधमा एकवटा रहेका छन्। तथ्याङ्कका आधारमा समेत अपराध न्यूनिकरणका लागि स्थानीय सरकारको चासो र सक्रियता आवश्यक छ।