विश्वका विभिन्न मुलुकहरुमा संक्रमणका रुपमा रहेको कोभिड १९ (कोरोना भाईरस) बाट बच्न पूर्व तयारी स्वरुप सरकारका तिनै तह र मातहतका सबै निकायहरु सक्रिय भएका छन्। स्थानीय तहहरुले विपद् ब्यवस्थापन समितिको बैठक राखी तयारी गरेका छन् भने संघ संस्थाहरुले यसको सचेतना अपनाएका छन्। पछिल्लो तथ्याङ्कले १ सय ५ भन्दा धेरै मुलुकमा फैलिएको यो भाईरसले आतंकित बनाईरहेको छ। विकसित राष्ट्रका सरकारका मन्त्री तथा सांसहरु भाईरसको संक्रमणमा परेका छन् भने केहिको निधन भएको छ। १ सय ५ भन्दा धेरै मुलुकमा फैलिएको भाईरसले ४ हजार भन्दा धेरै ब्यक्तिको ज्यान लिएको छ। ब्यक्तिले अपनाउने सतर्कता भाईरस रोकथामको प्रमुख रोकथाम हो। यो अभियानमा हामीले सजगता अपनाउँदै सतर्कतामा रहनु जरुरी छ।
भाईरसबाट बच्न सरकारले अपनाएको सुरक्षा रणनीतिलाई ब्यक्तिहरुले खिल्ली उडाईरहेका छन्। बजारमा अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन सरकारले अपनाएको नीतिलाई असफल बनाउन ब्यापारीले कालोबजारी गरिरहेका छन्। कालोबजारी रोक्न प्रशासनको पर्याप्त ध्यान पुग्न सकेको छैन। कतिसम्म भने स्थानीय सरकारले बजार अनुगमनको कार्यविधि समेत तयार गरेका छैनन्। तयार गरेका कार्याविधि स्थानीय सरकारले प्रयोगमा ल्याउन सकेका छैनन्। ग्याँस लगायतका खाद्यान्नहरु जोहो गर्ने, ब्यवसायीहरुले म्याद सकिएका सामाग्रीहरु विक्री गर्दा समेत उपभोक्ताहरुले खरिद गरेर लैजाने गरेका छन्। यस्तो अवस्थामा नागरिकहरुलाई औषधी तथा खाद्यान्नहरुको अभाव छैन भन्दा पनि पत्याउन सकिरहेको अवस्था छैन। स्थानीय सरकारले कोरोना भाईरस मात्रै नभई अन्य विपद्बाट बच्न अपनाउनु पर्ने पुर्व तयारीमा विशेष ध्यान दिनु जरुरी छ।
धुलिखेल र बनेपाका अस्पतालहरुमा आईसोलेसन वार्ड तयार गरिएको छ सकेसम्म कोरोना लाग्नै नदिने र लागेको अवस्थामा त्यसबाट क्षति हुन नदिन आवश्यक तयारी गरिएको छ। बनेपा नगरपालिकाले आयोजना गरेको विपद् ब्यवस्थापन समितिको बैठकमा कोरोना भाईरसबाट बच्न नगरबासीहरुलाई सचेत गराउन विभिन्न प्रचार प्रसारका कार्यक्रमहरु गर्ने, घनाबस्ति क्षेत्रमा थुप्रिएका फोहोरहरु उठाउने हटाउने, फोहोरका सवारी साधनहरु आएको समयमा मात्रै फोहोर घरबाट निकाल्न नगरबासीहरुलाई अनुरोध गर्ने, ब्यापारीक फर्म तथा संघसंस्थाहरुले आफ्ना ब्यापारीक, निर्माण तथा अन्य प्रकारका बस्तुहरु सार्वजनिक आवागमनमा असर नपर्ने गरी सुरक्षित राख्न, बनेपा नगरपालिका क्षेत्र भित्र धेरै मानिसहरुको जमघट हुने समारोह नगर्न अनुरोध गरेको छ। अस्थायी शिविर बनाउनु पर्ने अवस्था आए पोलिटेक्निक स्कुलको फुटबल ग्राउण्डलाई तयारी अवस्थामा राख्न र अत्यावश्यक औषधीको अभाव हुन नदिने निर्णय गरेको छ। विपद्मा सबै समुदाय, संघ संस्थाहरु परिचालन हुन र त्यसको तयारीमा लाग्न सबैमा अनुरोध गरिएको छ।
जिल्ला स्तरीय विपद् ब्यवस्थापन समितिले भेला, सम्मेलन, महोत्सव स्थगित गरी कोरोनाको संक्रमण हुन नदिन सजगता अपनाउन अपिल गरेको छ। संक्रमण फैलन नदिन सतर्कता अपनाउने र फैलिएको अवस्थामा उपचारका लागि तयारी गर्ने योजना बनाएको जिल्ला स्तरीय समितिले सतर्कताका लागि अझै सक्रियता बढाउनु जरुरी छ।





