पर्यटन वर्ष २०२० शुरु भएको छ। नेपाललाई पर्यटनबाट आत्मनिर्भर बनाउन सरकारले गरेको आव्हानलाई तीनै तहका सरकारी संयन्त्र, निजी क्षेत्र र विभिन्न समुदायबाट स्वागत गरिएको छ। पर्यटन वर्षको पुर्व सन्ध्यामा विभिन्न क्षेत्रबाट भएका अभ्यास र तयारीले पर्यटन वर्ष सफल बनाउन सहजता हुनेछ। जिल्लाका विभिन्न क्षेत्रमा भएका पर्यटकीय स्थानहरुको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन, स्वागत सत्कार र बसाई लम्याउन, अन्य स्थानको समेत प्रचार प्रसार गर्न पर्यटन वर्ष फलदायी र महत्वपूर्ण हुनेछ।
जिल्लामा गठन भएको मुल समिति, उप समिति र अन्य संघ संस्थाहरुले पर्यटन वर्षलाई अझै उल्लासमय बनाउने छन्। जिल्लामा रहेका १३ वटा स्थानीय तहहरुले समिति गठन गरी तयारी गरेका छन्। पर्यटकहरुलाई स्वागत गर्ने, सबै होटलहरुमा आउने पाहुनाहरुलाई सम्बन्धित होटलहरुले बिशेष स्वागत गर्ने, दोलालघाट देखि खहरेघाटसम्म ¥याफ्टिङ, बेथान्चोक नारायणस्थानमा पदयात्रा, तेमाल पदयात्रा तथा तामाङ सांस्कृतिक सम्पदा अवलोकन, धुलिखेल नमोबुद्ध पदयात्रा तथा प्राकृतिक सम्पदा दृश्यावलोकन, सामुदायिक होमस्टेको अवलोकन, वासुकी नमूना पर्यटन गन्तब्यको ट्रेकिङ ट्रेल तथा ¥याम्प निर्माण लगायतका कार्यक्रमहरु जिल्ला स्तरमा हुनेछन्। स्थानीय तहले आफ्नो तयारीमा अरु विशेष कार्यक्रम तय भएका छन्। नेपाल भ्रमण बर्ष जिल्ला स्तरीय समितिको सचिवालय गठन, नेपाल भ्रमण बर्ष जिल्लास्तरीय प्रचार प्रसार समिति गठन, नेपाल भ्रमण बर्षको सचिवालयको कार्यालय ब्यवस्थापन, नेपाल भ्रमण बर्षको कार्ययोजना तयारी, कार्ययोजना एवम जिम्मेवारी लगायतका विषयमा छलफल गरेको थियो।
नेपाल भ्रमण बर्ष, २०२० लाई भब्यताका साथ उपलब्धिमूलक रुपमा सम्पन्न गर्न जिल्लाका सबै स्थानीय तहहरुमा स्थानीयस्तरका सरोकारवालाहरु सम्मिलित पालिकास्तरीय सहजीकरण तथा आयोजक समितिसँग नियमित समन्वय सहजीकरण गर्ने, जिल्लास्थित सबै पालिका एवम् पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुसँगको समन्वयमा पर्यटन बर्ष, २०२० का सन्दर्भमा एक बर्षिय जिल्ला स्तरीय कार्ययोजना तयार गरी सोही बमोजिम कृयाकलापहरु अगाडि बढाउने, जिल्लाका सबै पर्यटन गन्तब्य, टुरिजम प्रोडक्टहरु समेटी एकबर्षको कृयाकलापहरुसहितको बार्षिक क्यालेण्डर तयार गर्ने र सोही बमोजिम सबै सरोकारवालाहरुको सहयोग र समन्वयमा कार्यक्रमहरु संचालन गर्ने, पर्यटन बर्षसँग सम्बन्धित गतिबिधिहरुको समन्वय र सहजीकरणका लागि जिल्ला समन्वय समितिको कार्यालयमा एक पर्यटन डेस्क स्थापना गर्ने र सो को फोकल पर्सन (सम्पर्क ब्यक्ति) को जिम्मेवारी तोक्ने, जिल्लास्तरीय समिति र जिल्लास्थित पर्यटन सरोकारवालाहरुको सहभागितामा एक अभिमुखीकरण तथा अन्तरकृयात्मक कार्यशाला गोष्ठीको आयोजना गर्ने लगायतका कार्यक्रमहरु तय भएका छन्।
जिल्लाका समग्र कार्यक्रमहरुलाई प्रदेश र संघ सरकारले समेत प्राथमिकतामा राखी नेपालमा पर्यटक भित्र्याउन शुरु गरिएको यो महान कार्यलाई सबै क्षेत्रबाट प्रभावकारी ढंगबाट कार्यान्वयन गरी भ्रमण वर्ष सफल पार्नु पर्छ।





