2026 April 16/ 07:01: 15pm

नगरपालिकाहरुले धमाधम वडाहरुलाई बालमैत्री घोषणा गर्दै सिङ्गो नगरलाई बालमैत्री घोषणा गर्ने तयारी गरिरहँदा ग्रामीण क्षेत्रका वस्तिहरुमा बालविवाह रोक्न सकिएको छैन। बालविवाह पछिल्लो समय प्रविधिको प्रयोगसँगै ह्वात्तै बढेको छ। बैदेशिक रोजगार, प्रविधिको प्रयोगसँगै बालबालिकाहरु बालविवाह, दुब्र्यसनमा प्रवेशगरी उमेर बढेसँगै अपराधकर्ममा सहभागी भएका छन्। शहरी क्षेत्रमा भएका प्रभावकारी कार्यक्रमहरु ग्रामीण क्षेत्रमा हुन सकेका छैनन्। साविकका गाविसहरु तथा हालका नगरपालिकाका वडाहरुमा समेत बालविवाह रोकिन सकेको छैन। बालविवाह रोक्न स्थानीय, प्रदेश र संघ सरकार अझै संवेदनशिल हुनु जरुरी छ। 
दुर्गम क्षेत्र महाभारत सुगमता र प्रविधितर्फ अगाडि बढिरहँदा सम्भावना र चुनौती दुबै थपिएका छन्। प्रविधिका कारण बालबालिकाहरु उमेर नपुग्दै विवाह गर्न थालेका छन् भने स्थानीय तहबाटै नागरिकता, राहदानी उपलब्ध हुन थालेको छ। खानीखोला र महाभारत गाउँपालिका तथा अन्य विकट क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरु भर्ना भएर नियमित कक्षामा नआई अध्ययन छाड्ने प्रमुख समस्याका रुपमा देखिएको छ। पैसाका लागि मजदुरी गर्न जाने बालबालिकाहरुको संख्या पनि धेरै छ। आय आर्जनका काममा संलग्न हुन नसक्दा अभिभावकहरुले बालबालिकाहरुले विद्यालय तहमा रोक्न सकेका छैनन्। भौगोलिक विकटताको चरम अवस्थाबाट गुज्रिएको महाभारत सुगमता तिर जाँदै छ। सडक, शिक्षा, स्वास्थ्यसँगै रोजगार र विद्यार्थीहरुको नियमिततामा विशेष कार्यक्रम संचालन गर्नु आवश्यक छ। 
बाल विवाह, अध्ययन छाडेर श्रममा संलग्न हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । मोबाईल फोनमा भईरहने सम्पर्क र फेसबुकमा हुने कुराकानीले बालबालिकाहरु विवाह गर्ने गरेका छन्। बालिकाहरुले रोजेको केटा कुन उमेरको होे ? के ब्यवसाय गर्छन ? विवाह पछि परिवार चलाउने योजना कस्तो छ ? कुनै जानकारी छैन। जानकारी विना हराउने बालिकाहरुको संख्या दिनकै थपिन थालेकोमा अभिभावक र शिक्षकहरु चिन्तित हुन थालेका छन्। डाँडापारीको एउटा विद्यालयमा मात्रै बार्षिक २० भन्दा धेरै बालिकाहरु विवाह गर्दै विद्यालय छाड्छन् भने अन्य विद्यालयको संख्या पनि कम छैन। बालविवाह रोक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियान शुरु भईरहेका बेला काभ्रेपलाञ्चोक जिल्लामा बालविवाह भयावह रुपमा देखिएको छ।