बनेपा नगरपालिकाले नगर सफा बनाउन शुरु गरेको अभियानमा स्थानीय राजनीतिक दलहरुले लिखित असहमति जनाएका छन्। नगर सफा राख्नु सबै नागरिकको कर्तब्य भए पनि कर्तब्यबाट कर्तब्यच्युत हुँदै स्थानीय राजनीतिक दल त्यसको प्रतिकारमा उत्रिएका हुन्। स्थानीय तहको निर्वाचनमा जमानत समेत गुमाएका केहि राजनीतिक दलहरुको सहारा लिँदै नेपाली कांग्रेसले स्थानीय नागरिकलाई मानव ढालका रुपमा प्रयोग गरेको छ। नगरपालिकाको स्थायी फोहोर ब्यवस्थापन गर्ने योजनामा स्थानीय राजनीतिक दलहरुले फोहोरमा फोहोरी राजनीतिक शुरु गरेका छन्।
मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने फोहोरको स्थायी ब्यवस्थापनमा राजनीतिक दलहरुको अवरोध निर्वाचन केन्द्रित छ। आगामी ३ वर्ष भित्र हुने स्थानीय तहको निर्वाचनमा फोहोर ब्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै निर्वाचनमा विजयी हुन सकिन्छ भन्ने साना दलहरुको सोचलाई अहिलेका जनप्रतिनिधिहरुले गम्भिर रुपमा लिनु जरुरी छ। निर्वाचनमा विजय पराजय जे होस् तर समस्या समाधानमा तत्काल पहल गरिनु पर्छ। नेपाली कांग्रेस बनेपाका नेताहरु घरको फोेहोर सडकमा फ्याँक्दै त्यहि फोहोरमा लडिबुडी खेल्दै फोहोर ब्यवस्थापनको उच्च स्तरीय प्रविधि विरुद्ध आन्दोलन गरिरहेका छन्। घरको कौसीबाट सडकमा फोहोर फाल्दै मुखमा माक्स लगाएर कांग्रेस नेताहरु नगरपालिकाको फोहोर ब्यवस्थापन विरुद्ध आन्दोलनको नौटंकी गरिरहेका छन्। डब्लुएचओले प्रमाणित गरेको जापानीज प्रविधिकोे मेशिन मार्फत प्रदूषण रहित वातावरण मैत्री फोहोर ब्यवस्थापनमा नेपाली कांग्रेसले झिेकेको बखेडामा जनताले निर्वाचनमा २ सय मत कटाउन नसकेका दल समेत पुच्छर बनेर लतारिएका छन्।
फोहोर ब्यवस्थापनमा अवरोध गर्ने दलहरुको हिसाव किताब स्थानीय नगरवासीहरुले राख्नु जरुरी छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहित बादे, समाजवादी पार्टीका पवन कर्णजित, नेकपा माओवादी क्रान्तिकारीका सौरभराज कायस्थ, नेमकिपाका त्रिरत्न मानन्धर, राष्ट्रिय जनता पार्टीका श्यामप्रसाद सेवाचार्य, विवेकशिल पार्टीका विजय लामा र राप्रपा नेपालका अनन्तप्रसाद दाहालले कांग्रसको पुच्छर बन्दै संयुक्त अपिलका नाममा फोहोर ब्यवस्थापनमा अवरोध पु¥याएका हुन्। पञ्चायतकालमा नेपाली कांग्रेसकै नेताहरुको हालीमुहाली रहेको थियो। २०५९ देखि २०७४ सम्म दलका प्रतिनिधि र कर्मचारी भएर नगरपालिका संचालन गर्दा समेत नगरपालिकामा उत्पादन हुने फोहोरको ब्यवस्थापनमा चासो भएन। श्रीखण्डपुर अगाडी नगरपालिकाले खरीद गरेको जग्गामा लगेर फोेहोर थुपार्ने बाहेक केहि काम नभएको अवस्थामा बनेपा नगरपालिकाले स्थानीयहरुको स्वास्थ्यमा ध्यान दिदै जापानीज प्रविधिको मेशिन मार्फत निजी कम्पनीलाई फोहोर ब्यवस्थापनको जिम्मेवारी दिएको हो। अहिले हुन लागेको फोहोर ब्यवस्थापनमा नगरपालिकाले जग्गा ब्यवस्थापन बाहेक अन्य भार पर्नेछैन। नगरको फोहोर ब्यवस्थापनमा नगरपालिकाले शुरु गरेको अभियानमा नागरिकले साथ दिनु जरुरी छ। जसको विरोध रहन्छ उसलाई नागरिकले नङ्गयाउनु जरुरी छ। फोहोरमा भएको फोहोरी राजनीति बन्द हुनु पर्छ।





