2026 April 16/ 07:00: 44pm

    उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला कृषि र पशुपालनमा आत्मनिर्भर हुन थालेको छ। मासुजन्य उत्पादन, तरकारी र खाद्यान्न उत्पादनमा मुलुकका विभिन्न जिल्लाहरु मध्ये काभ्रेपलाञ्चोक अग्रस्थानमा पर्दै आएको छ। राजधानीका लागि आवश्यक पर्ने २५ प्रतिशत तरकारी काभ्रेपलाञ्चोक जिल्लाले धान्दै आएको छ। तरकारी उत्पादनसँगै गुणस्तर मापन र गुणस्तर कायमका लागि कृषकहरुलाई सचेतिकरण, स्थानीय सरकारको तयारी शुरु भएको छ। खाद्यान्न उत्पादनसँगै त्यसको गुणस्तर कायमका लागि भएका प्रयास सार्थक बन्नु पर्छ। 
    जिल्लामा खाद्यान्न उत्पादन बृद्धि गर्न कृषि ज्ञान केन्द्र मार्फत प्रदेश र संघ सरकार, स्थानीय सरकारले प्रयास शुरु गरेका छन्। बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या घटाउँदै उत्पादनमा जोड दिन भएका प्रयास सार्थक भने हुन सकेका छैनन्। उत्पादन भएको खाद्यान्नले उचित मूल्य र बजार प्राप्त गर्न सकेको छैन। मासु र दुध उत्पादनमा आत्मनिर्भर जिल्लामा रैथाने बालीको संरक्षण र उत्पादनलाई प्राथमिकतामा राखिएको छ। रैथाने बाली उत्पादन र खाद्यान्नको ब्यवस्थापनमा काभ्रेपलाञ्चोक जिल्ला आत्मनिर्भर भएको छ। जिल्लामा रहेको जनसंख्या र उत्पादन परिणामका आधारमा आत्मनिर्भर भई निर्यात गरिरहेको तथ्याङ्कले देखाएको छ। जिल्लामा खानयोग्य खाद्यान्न ७९ हजार ४ सय २७ मेट्रिक टन रहेको छ। जिल्लाको लागि आवश्यक रहेको खाद्यान्न ७६ हजार ३ सय ८६ मेट्रिक टन रहेको छ। आवश्यकता भन्दा ३ हजार ४१ मेट्रिक टन धेरै खाद्यान्न उत्पादन भएको छ। सन्तुलनमा रहेको ३ हजार ४१ मेट्रिक टन खाद्यान्नका आधारमा पनि जिल्लाको कुल जनसंख्या ३ लाख ८० हजार भन्दा धेरै जनसंख्यालाई पुगेको देखिन्छ। राजधानीसँग नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकले राजधानीबासीका लागि खाद्यान्न, तरकारी, फलफुल, दुग्ध, मासु, अण्डा लगायतका उपभोग्य सामानहरु निर्यात गर्दै आएको छ। वार्षिक रुपमा जिल्लामा गहुँ १६ हजार ५ सय ६८, फापर ५ सय ४६, कोदो २ हजार ६ सय ७६, मकै ४० हजार ८ सय ८ धान १८६८३ मेट्रिक टन उत्पादन भएको छ। जिल्लामा सबैभन्दा धेरै उत्पादन हुने मकै हो । मकैलाई विउका रुपमा समेत उत्पादन गरी विक्री गरिदै आएको छ। ४० हजार ८ सय ८ मेट्रिक टन उत्पादन हुँदा धान १८ हजार ६ सय ८३ मेट्रिक टन उत्पादन भएको छ। मकै, धान पछि गहुँ उत्पादन धेरै भएको छ। जौ उत्पादन न्यून छ। 
    ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियान संचालन हुँदा नेपालीहरुको अनुहारमा खुशी छाउन थालेको छ। भोकमरीको समस्या विस्तारै हट्दै गएको छ। जिल्लाको तथ्याङ्कमा एक छाक खानै नपुग्ने परिवारको संख्या न्यून हुँदै छ। सरकारले मुलुकबाटै गरिबी उन्मूलन गर्न गरिव पहिचान अभियान शुरु गरेको छ। जुन कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लामा पनि लागु भएको छ। उक्त कार्यक्रम पश्चात पहिचान भएका गरिबहरुलाई केन्द्रित गरेर सरकारले लागु गर्ने कार्यक्रम मार्फत गरिबी निवारण गरिनु पर्छ। त्यसका लागि उत्पादनमुखी कार्यक्रम ल्याई कार्यान्वयन गरिनु पर्छ।