2026 October 08/ 11:10: 49pm

    धुलिखेल/रसुवा बाढीमा बेपत्ता भई पछि शव प्राप्त भएका काभ्रेका दुई परिवारलाई पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले राहत उपलब्ध गराएको छ । 
    कार्यालयले पाँचखालका दिलकुमार कायस्थ र रोशी गाउँपालिकाका शंखबुद्ध तामाङका परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो । पशु सेवा कार्यालय काभ्रेको तर्फबाट दुवै परिवारलाई जनही १० हजार रुपैयाँ तथा हिमालय भेटेनरी एन्ड क्लिनिकको तर्फबाट जनही ५ हजार रुपैयाँ गरी प्रति परिवार १५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको हो । राहत रकम पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.ब्रजकिशोर ठाकुरले सम्बन्धित परिवारका सदस्यहरूलाई हस्तान्तरण गरेका हुन् ।
    रसुवामा आएको बाढीका क्रममा बेपत्ता भएका कायस्थ र तामाङको शव प्राप्त भएपछि शोकमा रहेका परिवारलाई केही राहत पुगोस भन्ने उद्देश्यले कार्यालय र क्लिनिकको तर्फबाट सहयोग गरिएको पशु सेवा कार्यालयले जनाएको छ । राहत प्राप्त गर्ने दिलकुमार कायस्थ पाँचखाल नगरपालिका–७ का हुन् । उनको परिवारमा श्रीमती सविता भण्डारी रहेकी छन् ।
    त्यस्तै, शंखबुद्ध तामाङ रोशी गाउँपालिका–८ का हुन् । उनको परिवारमा श्रीमती मञ्जु तामाङ रहेकी छन् । बाढी तथा प्राकृतिक विपद्का कारण आफन्त गुमाएका परिवारलाई राज्य तथा विभिन्न संघसंस्थाले राहत तथा सहयोग उपलब्ध गराउँदै आएका छन् । पशु सेवा कार्यालय र हिमालय भेटेनरी एन्ड क्लिनिकको सहयोगले पीडित परिवारलाई दुःखको समयमा केही राहत मिल्ने अपेक्षा गरिएको छ । पशु सेवा कार्यालयले आफ्नो नियमित जिम्मेवारीसँगै विपद्का बेला प्रभावित समुदाय तथा परिवारप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ ।