2026 September 06/ 04:57: 00pm

    बनेपा/मेरुदण्ड पक्षघात संघ काभ्रेको दोश्रो अधिबेशन तथा तेश्रो बार्षिक साधारण सभा बनेपामा आयोजना गरिएको छ । उपाध्यक्ष सरिता कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थामा आबद्ध संस्थापक तथा पक्षघात भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    काभ्रे बहिरा विद्यालयकी प्रिन्सिपल समाजसेवी, प्राध्यापक एवं अभियान्ता कृष्णप्यारी नकर्मीले अपाङ्गता भित्र विविधता रहेकाले वातावरण तयार गरी अवसर उपलब्ध गराउन अनुरोध गरिन् । तीन तहका सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको अपनत्व गर्न कठिन भएकाले यसका लागि खबरदारी आवश्यक रहेको उनले बताईन् । पक्षघात भएका ब्यक्तिहरुलाई संरचनाका हिसाबले पनि कठिनाई भएकाले राज्यले त्यस्ता संरचनाको डिजाईनमा नै ध्यान दिनु पर्ने उनले बताईन् । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले राज्यका सबै निकायहरुले अपाङ्गतामैत्री वातावरण निर्माणमा कम चासो दिएको बताए । सबै खालका अपाङ्गता भएका ब्यक्तिहरुको फरक फरक समस्या भएकाले मेरुदण्ड पक्षघातको समस्या भएकाहरुका लागि अझै सहज वातावरण बनाउन सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । मेरुदण्ड पक्षघात भएकाहरुले ब्यहोर्नु परेका समस्याका बाबजुत समाजका बोझ नभएकाले अवसर प्रदान गरी उनिहरुको आत्मविश्वास बढाउनु सबैको कर्तब्य भएको उनले बताए ।     कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा सदस्य एवं मदानी विटका सह–सम्पादक विकास तिमल्सिना, संस्थापक अध्यक्ष महेश्वर थापा, संस्थापक सदस्य रामबहादुर तामाङ गोले लगायतले मेरुदण्डको पक्षघात भएकाहरुले ब्यहोरिरहेका समस्या र राज्यका निकायहरुले ध्यान दिनु पर्ने विषयमा धारणा राखेका थिए । उपाध्यक्ष सरिता कोईरालाले मेरुदण्ड पक्षघात संघ काभ्रेले विभिन्न समयमा गरिरहेका गतिविधिहरुका बारेमा जानकारी गराईन् । 
    अधिबेशनको बन्द सत्रले रामबहादुर तामाङ गोलेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष राधिका कोईराला, सचिव सुदिप श्रेष्ठ, कोषाध्यक्ष कल्पना विष्ट रहेका छन् । सदस्यहरुमा संगीता माझी, मनिष श्रेष्ठ र ललिता मैनाली छन् । प्रवेश वाग्ले, कृष्णशरण थापा मगर सदस्य छन् ।