आर्थिक वर्ष २०८२/८३ मा जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका युनिटहरुमा ७ सय ७१ वटा मुद्दा दर्ता भए । २ सय ५२ जनाको मृत्यु भएको छ । ७ सय ३३ जना पक्राउ परे । फैसला कार्यान्वयनतर्फ २ सय ३३ जना पक्राउ परे ।
मोतीराम तिमल्सिना
धुलिखेल
आर्थिक वर्ष २०८२/०८३ काभ्रेपलाञ्चोक जिल्ला प्रहरीका लागि पनि देशभरमा जस्तै सामान्य वर्ष रहेन । एकातिर ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी स्वयं असुरक्षित बन्नुपर्ने अवस्था आयो भने अर्कोतर्फ त्यही अस्थिर परिस्थितिबीच शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि प्रहरीकै काँधमा थियो ।
वर्षभरि अपराध अनुसन्धान, सडक सुरक्षा, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र समुदाय–प्रहरी सम्बन्धका क्षेत्रमा देखिएको सक्रियताले काभ्रे प्रहरीको कामको दायरा तथ्यांकले देखाएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी प्रवक्ता एवं सूचना अधिकारी रविन विष्टका अनुसार यो वर्ष प्रहरीका लागि चुनौती र जिम्मेवारी दुवै हिसाबले महत्वपूर्ण रह्यो ।
रोकिएन सुरक्षा चुनौती
२०८२ फागुन ६ गते बनेपामा टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि उत्पन्न परिस्थितिमा प्रहरीले १२ सेल ग्यास राउण्ड प्रयोग गरेको थियो । यसले आन्दोलन सकिएपछि पनि भीड व्यवस्थापन र सार्वजनिक शान्ति कायम राख्नु प्रहरीका लागि चुनौतीपूर्ण बन्यो । २०८२ कार्तिक १ गते धुलिखेल–५ बाट एसएलआर राइफलको एक राउण्ड गोली बरामद भएको थियो । यस्ता घटनाले सुरक्षा निकायका लागि हतियार तथा विस्फोटकजन्य सामग्रीको व्यवस्थापन र निगरानीलाई पनि निरन्तर चुनौतीका रूपमा खडा भए । एक वर्षको अवधीमा तोडफोडका ११, आगजनीका ४३ र विरोध ¥यालीका २२ कार्यक्रम भए । कोणसभा ५, धर्ना ८, भेला तथा गोष्ठी १७ र अवरोधका २ घटना भए । १० वटा ज्ञापनपत्र बुझाइए । बन्द, हड्ताल, चक्काजाम, आन्दोलन, मूर्ति विसर्जन, मेला तथा पर्वलगायतका १ सय १८ वटा कार्यक्रम पनि प्रहरीको सुरक्षा व्यवस्थापनअन्तर्गत रहे ।
सडकमा दुर्घटना, कारबाहीमा हजारौँ सवारी
आर्थिक वर्षमा काभ्रेमा १ सय ३८ वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा १ सय ९६ वटा सवारी साधन संलग्न थिए । दुर्घटनामा २९ जनाको मृत्यु भयो भने २ सय ९१ जना घाइते भए । सडक अनुशासन कायम गर्न प्रहरीले १० हजार ९०९ वटा सवारी साधनमाथि कारबाही गरेको छ । त्यसबाट ९७ लाख २६ हजार रुपैयाँ राजश्व दाखिला भएको छ ।
सवारी दुर्घटनाको तथ्यांकले सडक सुरक्षा अझै पनि जिल्लाको प्रमुख सुरक्षा चुनौतीमध्ये एक रहेको देखाउँछ । दुर्घटनामा ज्यान गुमाउने २९ जनाको संख्या र घाइते २९१ जनाको तथ्यांकले कारबाहीसँगै सडक पूर्वाधार, चालकको व्यवहार र ट्राफिक सचेतनामा थप काम गर्नुपर्ने संकेत गर्छ । प्रहरीको काम अपराध नियन्त्रणमा मात्र सीमित रहेन । भन्सार छली गरी राजश्व चुहावट गर्न खोजिएको २ करोड ४० लाख १२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ४ सय ३३ वटा सवारी साधन नियन्त्रणमा लिएर ४८ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन भयो । अवैध घरेलु मदिराविरुद्ध पनि प्रहरीको कारबाही जारी रह्यो । १४ हजार ७८७ लिटर अवैध घरेलु मदिरा, ३० हजार ७५५ लिटर कच्चा पदार्थ र १८ हजार २२ केजी मर्चा नष्ट गरिएको तथ्यांक छ ।
बैंकिङ कसुर सबैभन्दा ठूलो अपराध
वर्षभरि ४८ प्रकृतिका घटना अभिलेख भए । तीमध्ये सबैभन्दा धेरै १७२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मध्ये १३५ वटा फछ्र्यौट भए भने ३७ वटा बाँकी रहे । बैंकिङ कसुरमा ६ जना पक्राउ परे, १३२ जना फरार रहे र फरारमध्ये ३६ जना पछि पक्राउ परे । अभद्र व्यवहारका १२६ वटा मुद्दा दर्ता भए । यसमा २१४ जना पक्राउ परे, २२ जना फरार रहे र फरारमध्ये ८ जना पछि पक्राउ परे । ठगीसम्बन्धी कसुरका २४ मुद्दा दर्ता भए । ८ जना पक्राउ परे, ९ जना फरार रहे र ९ जना फरारपछि पक्राउ परे । सहकारी ठगीको एक मुद्दामा ७ जना फरार छन् । अनलाइन ठगीको एक मुद्दामा एक जना फरार छन् । डलर ठगीको एक मुद्दामा एक जना फरार रहेकोमा पछि पक्राउ परेका छन् । लिखतसम्बन्धी र ठगीसम्बन्धी एक मुद्दा पनि दर्ता भएको छ । जुवा तथा सट्टाबाजीसम्बन्धी कसुरमा पनि प्रहरी आक्रामक भयो । ७ मुद्दामा ६३ जना पक्राउ परे भने २ जना फरार छन् । जुवा कौडासम्बन्धी २ मुद्दामा १३ जना पक्राउ परे । जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा एक मुद्दा दर्ता हुँदा ४ जना पक्राउ परे ।
चोरी र हिंसासम्बन्धी अपराध नियन्त्रणको प्रयत्न
साधारण चोरीका २९ मुद्दामा ३१ जना पक्राउ परे । डाँका चोरीका १७ मुद्दामा ४८ जना पक्राउ भए । मोटरसाइकल चोरीका ४ मुद्दामा ७ जना, नकवजनी चोरीका ५ मुद्दामा ५ जना र चौपायाँ चोरीका ३ मुद्दामा ३ जना पक्राउ परे । सवारी चोरीका ५ मुद्दामा ९ जना पक्राउ भए । चोरी उद्योगका ३ मुद्दामा ४ जना पक्राउ परे भने २ जना फरार छन् । ज्यान मार्ने उद्योगका ४ मुद्दामा ६ जना पक्राउ र २ जना फरार छन् । कुटपिट तथा अंगभंगका ६ मुद्दामा १० जना पक्राउ र ८ जना फरार छन् । लागूऔषधसम्बन्धी ४९ मुद्दा दर्ता भए । ११३ जना पक्राउ परे, १ जना फरार छन् र पक्राउ परेकामध्ये ४ जना महिला छन् । अपराधिक उपद्रवका १४ मुद्दामा ४१ जना पक्राउ र ३६ जना फरार छन् । बहुविवाहसम्बन्धी ७ वटा कसुर दर्ता भएका छन् । सवारी अंगभंगका ७, सरकारी छाप दस्तखत किर्तेसम्बन्धी १ तथा हातहतियार तथा खरखजाना सम्बन्धी २ वटा मुद्दा दर्ता भएका छन् । दोहोरो नागरिकता प्रयोगको १, झुटो विवरण पेश गरी नागरिकता लिएको १, मानव बेचबिखन तथा ओसारपसारको १ र अपहरण तथा शरीर बन्धकका २ वटा मुद्दा दर्ता भएका छन् । पशुपक्षीसम्बन्धी कसुरअन्तर्गत गौवधको १ र कुकुर मारेको १ घटना दर्ता भएका छन् ।
महिला तथा बालबालिकामाथि अपराध
जबरजस्ती करणीका १९ मुद्दा दर्ता भए, जसमा १७ जना पक्राउ परे । जबरजस्ती करणी उद्योगका २ मुद्दा, बाल यौन दुरुपयोगका ४ तथा बाल यौन दुव्र्यवहारको १ मुद्दा दर्ता भएको छ । कर्तव्य ज्यानका ४ मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगबाट कर्तव्य ज्यानमा परिणत भएको १ मुद्दा र ज्यानसम्बन्धी कसुरको १ मुद्दा पनि छ । आत्महत्या दुरुत्साहनका ६ मुद्दा तथा सवारी भवितव्य ज्यानका २ मुद्दा दर्ता भएका छन् । जिल्लाको सामाजिक सुरक्षाको अर्को गम्भीर पक्ष आत्महत्याको तथ्यांक हो । वर्षभरि १०८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ६३ पुरुष, ३४ महिला, ३ बालक र ८ बालिका छन् । उमेर समूहअनुसार १० वर्षमुनिका १ जना, १८ वर्षमुनिका १० जना, १८–२५ वर्षका २० जना, २६–३५ वर्षका १८ जना, ३६–४५ वर्षका २१ जना, ४६–६० वर्षका १७ जना र ६० वर्षभन्दा माथिका २१ जना छन् । यो तथ्यांकले आत्महत्या केवल कुनै एउटा उमेर समूहको समस्या नभई बाल्यावस्थादेखि वृद्धावस्थासम्म फैलिएको सामाजिक चुनौती भएको देखाउँछ ।
कति भए अपराध
वर्षभरि कुल ७७१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ५१५ वटा फछ्र्यौट भए भने २५६ वटा बाँकी छन् । मुद्दासँग सम्बन्धित घटनामा २५२ जनाको मृत्यु भएको छ । ६५८ जना पक्राउ परेका छन् । २६५ जना फरार रहेकोमा फरारमध्ये ७५ जना पछि पक्राउ परेका छन् । कुल पक्राउ संख्या ७ सय ३३ पुगेको छ । फैसला कार्यान्वयनतर्फ २ सय ३३ जना पक्राउ परेका छन् । उनीहरूबाट ६४ वर्ष ९ महिना १७ दिन कैद असुल भएको छ भने ३ करोड २४ लाख १९ हजार ७० रुपैयाँ जरिवाना असुल भएको छ । प्रहरीमा ठाडो उजुरीको संख्या भने २ हजार ७१ पुगेको छ ।
मानिस हराउने क्रम बढ्यो
वर्षभरि काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै १ सय ७८ जना हराएको निवेदन प्रहरीमा दर्ता भएको छ । तीमध्ये १ सय ६४ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता छन् । हराएका मध्ये ५५ जना महिला थिए । ति मध्ये ५१ जना फेला परे । १८ जना बालक हराएकोमा १६ जना फेला परेका छन् । ४२ जना पुरुष हराएकोमा ३६ जना फेला परे । ६ जना ज्येष्ठ नागरिक हराएकोमा ४ जना फेला परे । बालिकातर्फ हराएका ५७ जनै फेला परेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १ सय ७ वटा उजुरी परेका थिए र सबै मिलापत्र भएका छन् । घरेलु हिंसाका २२ उजुरीमा पनि सबै मिलापत्र भएका छन् ।
समुदाय र विपद्मा प्रहरीको भूमिका सक्रिय
वर्षभरि विपद्का घटनामा १५ जनाको मृत्यु भयो भने ११ जना घाइते भए । आगलागीका ३, बाढीका २, पहिरोका ४, हावाहुरीको १, करेन्ट लागेर ३ र डुबेर २ जनाको मृत्यु भएको तथ्यांक छ । यसले प्रहरीको जिम्मेवारी अपराध नियन्त्रणभन्दा बाहिर विपद् उद्धार र मानवीय सेवामा पनि प्रहरी सक्रिय छ । प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित २७ वटा विधामा १ हजार २४ वटा कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट २६ हजार ४८५ जना लाभान्वित भएका छन् ।
नागरिकता, हतियार नवीकरणलगायतका कागजातका लागि १ हजार ४४७ वटा मुचुल्का तयार गरिएको छ । प्रहरीको हटलाइनमा ८ हजार ८६६ पटक कल आएको छ । यी गतिविधिले प्रहरीको भूमिका घटना भएपछि पुग्ने निकायमा मात्र सीमित नरहेको देखाउँछ । समुदायमा पुग्ने, विद्यालयमा सचेतना फैलाउने र नागरिकका दैनिक प्रशासनिक तथा सुरक्षा आवश्यकतामा सहजीकरण गर्ने अभ्यास पनि प्रहरीको नियमित कार्यक्षेत्र बनेको छ ।
मनोबल बढाउने प्रयत्न
जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भौतिक आक्रमण, कार्यालय तथा सवारी साधनमा क्षति र असुरक्षाको अवस्था सिर्जना भए पनि संगठनभित्रको मनोबल कायम राख्ने प्रयास भएको डिएसपी रविन विष्ट बताउँछन् । प्रहरी कर्मचारीको सामूहिक जन्मोत्सव मनाउने, उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई नगद पुरस्कार दिने, नियमित बैठक सञ्चालन गर्ने तथा प्रहरी कर्मचारीका गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने काम गरिएको छ । नियमानुसार प्रहरी कर्मचारीले पाउनुपर्ने बिदा निष्पक्ष रूपमा उपलब्ध गराउने अभ्यास पनि गरिएको विष्टको भनाइ छ ।
चुनौतीबाट जिम्मेवारीतर्फ
आर्थिक वर्ष २०८२/०८३ को काभ्रे प्रहरीको तस्वीरलाई केवल अपराधको तथ्यांकबाट बुझ्न सकिँदैन । यो वर्ष प्रहरी कार्यालय जलाइए, सवारी साधनमा आगजनी भयो, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भयो, आन्दोलन व्यवस्थापनमा बल प्रयोग गर्नुप¥यो । प्रहरी आफैं सुरक्षाको खोजीमा रहेको अवस्थामा समेत उसले नागरिकको सुरक्षा जिम्मेवारी छाड्न पाएन । त्यही वर्ष १ सय ३८ वटा सवारी दुर्घटनामा २९ जनाको मृत्यु र २ सय ९१ जना घाइते भएको तथ्यांक पनि उसकै अभिलेखमा छ । ७ सय ७१ मुद्दा दर्ता हुनु, बैंकिङ कसुर सबैभन्दा ठूलो अपराधका रूपमा देखिनु, लागूऔषधका ४९ मुद्दा र जबरजस्ती करणीका १९ मुद्दा दर्ता हुनु समाजभित्र बदलिँदै गएको अपराधको स्वरूपतर्फ संकेत गर्छ ।
अर्कोतर्फ १ सय ८ आत्महत्याको तथ्यांकले सुरक्षा अवधारणालाई अपराध नियन्त्रणभन्दा धेरै फराकिलो बनाएर हेर्नुपर्ने आवश्यकता देखाउँछ । हराएका १ सय ७८ मध्ये १ सय ६४ जनालाई फेला पार्नु, विपदमा उद्धार तथा व्यवस्थापनमा खटिनु, २६ हजार ४ सय ८५ जनालाई समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रममार्फत जोड्नु र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु प्रहरीको अर्को पाटो हो । आर्थिक वर्ष २०८२÷२०८३ काभ्रे प्रहरीका लागि असुरक्षा, अपराध र दबाबको वर्ष मात्र होइन; त्यही दबाबबीच संस्थागत जिम्मेवारी निर्वाह गरेको वर्ष पनि हो । प्रहरीका संरचना र मनोबलमाथि चुनौती आए पनि नागरिक सुरक्षा, अपराध अनुसन्धान, विपद् व्यवस्थापन र सार्वजनिक शान्तिको जिम्मेवारी निरन्तर अघि बढेको तथ्यांकले देखाउँछ ।
आगो झोस्नेहरु खुलमखुल्ला
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा जिल्लाका प्रहरी संरचना नै निशानामा परे । इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल, हिगुवापाटी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी भएपछि ती संरचना ध्वस्त भए । प्रहरी चौकी पनौतीमा ढुंगामुढा भयो । आन्दोलनको प्रभाव सरकारी संरचनामा मात्र सीमित रहेन ।
धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जु, पनौतीका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, पूर्व नगर प्रमुख भीम न्यौपाने, वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, न्यौपानेका छोरा दीपक न्यौपाने, क्याप्टेन रामेश्वर थापाको घर सहितका अन्य संरचना तथा पूर्व सांसद शिवप्रसाद हुमागाई लगायतका निजी घरमा आगजनी, तोडफोड र लुटपाटका घटना भए ।
नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयसमेत तोडफोड र आगजनीबाट प्रभावित भए । बनेपा नालामा रहेको युलेन्स विद्यालयमा समेत आगजनी भयो । आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते प्रहरीले एसएलआर राइफलका जंगी राउण्ड १३, ब्याङ्क राउण्ड ४०, सर्टगनका रबर बुलेट ११ राउण्ड र ग्यास सेल ४६ राउण्ड प्रयोग गरेको तथ्यांक छ । त्यस क्रममा ६६१ जना प्रहरी परिचालन गरिएको थियो । जेन्जी आन्दोलनको क्रममा प्रहरीतर्फ पिकअप, डिस्कभर मोटरसाइकल, टाटा योद्धा गाडी र दुई वटा टीभीएस अपाचे मोटरसाइकलमा आगजनी तथा क्षति पुगेको थियो ।
तर वर्षको अर्को पाटो अझ महत्वपूर्ण रह्यो–असुरक्षाको घेरामा रहेको प्रहरी आफैंले निर्वाचन सुरक्षाको जिम्मेवारी सम्हाल्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरायो । यसले प्रहरीको भौतिक संरचना र मनोबलमा परेको दबाबका बीच पनि सुरक्षा जिम्मेवारीबाट पछि नहटेको देखाउँछ । प्रहरीले उक्त घटनामा संलग्नहरुलाई पक्राउ पनि ग¥यो । पीडित परिवारले पनि किटानी जाहेरी दिए । तर राज्यले उनिहरुलाई अनुसन्धान गरी कारवाही गर्नुको सट्टा मुद्दा फिर्ता लिने प्रकृया शुरु ग¥यो । यसले अराजकता मच्चाउनेलाई मनोबल मात्रै बढाएको छैन पीडितहरु झनै पीडित भएका छन् । राज्यका निकायहरुलाई विभिन्न संघ संस्था तथा दाताहरुले सहयोग गरेका कारण तत्काल संचालनमा आउन सम्भव भयो । ब्यक्तिका नीजि सम्पत्ति जलाउँदा भएको पीडा, क्षति राज्यले दोषिलाई कारवाही गरेर समेत उपलब्ध गराउन सकेको छैन । क्षतिपुर्ति त परै जाओस घटनामा संलग्नहरु उल्टै विभिन्न कारण धम्क्याउन थालेका छन् । केहि संलग्नहरु बैदेशिक रोजगारमा जान असम्भव भए पछि मुद्दा फिर्ता लिईदिन अनुरोध गर्न थालेका छन् ।









