2026 February 25/ 04:27: 18am

बनेपा/जिल्ला सहकारी संघ लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । 
        संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा भएको उक्त समीक्षा कार्यक्रममा संघका सल्लाहकारद्वय मुकुन्द प्रसाद दाहाल, सोमप्रसाद हुमागाईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा  संघका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को श्रावण १ गते देखि पौष मसान्तसम्मको समग्र प्रगति विवरण प्रस्तुत गरेका थिए । संघको वित्तीय अवस्था, आम्दानी–खर्चको स्थिति, विभिन्न शीर्षकमा भएको लगानी, सदस्य संस्था सँगको वित्तीय कारोबार, सेवा प्रवाहको अवस्था तथा प्रशासनिक व्यवस्थापन सम्बन्धी गतिविधिहरू प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिसँग तुलनात्मक विश्लेषण प्रस्तुत गर्दै आय वृद्धि, खर्च नियन्त्रण, पूँजीको अवस्थिति तथा नाफा–नोक्सानको तुलनात्मक तथ्याङ्क श्रेष्ठले प्रस्तुत गरेका थिए । पौष मसान्तसम्म संघले सञ्चालन गरेका प्रमुख कार्यक्रम तथा गतिविधिहरूको पनि जानकारी गराइएको थियो । यसअन्तर्गत सदस्य संस्थाहरूको अनुगमन तथा सुपरिवेक्षण, क्षमता अभिवृद्धि तालिम, वित्तीय सुदृढीकरणसम्बन्धी पहल, आन्तरिक व्यवस्थापन सुधारका कदम तथा नीति–निर्देशन कार्यान्वयनको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरिएको थियो । साथै सेवाकेन्द्र व्यवस्थापन, प्रशासनिक सुधार र सदस्य सेवाको गुणस्तर अभिवृद्धिका लागि गरिएको बताएका थिए । 
              कार्यक्रममा सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य तथा अन्य सहभागीहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्दै विविध सल्लाह, सुझाव तथा जिज्ञासाहरू व्यक्त गरेका थिए । विशेषगरी वित्तीय अनुशासन सुदृढीकरण, जोखिम व्यवस्थापन, सदस्य संस्थासँगको समन्वय अभिवृद्धि, तालिम तथा अनुगमन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा सुझावहरू प्रस्तुत भएका थिए । कार्यक्रम संघकी वरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङ्गले स्वागत मन्तव्य राखेकी थिईन । सघंका अध्यक्ष अमन पोटे श्रेष्ठले संघको कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पोटेले  अर्धवार्षिक समीक्षाबाट प्राप्त सुझावहरूलाई आगामी कार्ययोजनामा समावेश गर्दै संघलाई थप सुदृढ र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गरिने बताए । कार्यक्रम सञ्चालन संघका सचिव  प्रकाश बन्जाराले गरेका थिए भने अर्धवार्षिक समीक्षाले संस्थाको कार्यसम्पादन मूल्याङ्कन, लक्ष्य प्राप्तिको अवस्था विश्लेषण तथा आगामी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बन्जाराले बताए ।