पनौती/रगत अभाव भएको खबर पाए पछि नवदुर्गा साकोस पनौती ९ ले संस्थाको २० औँ स्थापना दिवस समेतको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको आयोजना तथा मानेश्वरी संस्कार सुधार समाज र साइनो समाज नेपालको सह आयोजनामा संचालित कार्यक्रममा ६० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा जिल्लामा सवै भन्दा धेरै पटक रक्तदान गर्ने विदुर खड्कालाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
खड्काले १ सय २२ पटक रक्तदान गरिसकेका छन् । त्यसैगरी १ सय २ पटक रक्तदान गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा सभापती रघुनाथ हुमागाई, १ सय १ पटक रक्तदान गर्ने नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य नारायण प्रसाद सापकोटालाई पनि सम्मान गरिएको रेडक्रस सोसाइटी सुन्थान उपशाखाका सभापती यज्ञप्रसाद हुमागाईले जानकारी दिए । कार्यक्रममा सहकारीका कानुनी सल्लाहकार रमेशप्रसाद हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतिराम तिमसिना, संस्थाका सचिव तथा कार्यक्रम संयोजक अकुर प्रसाद सापकोटा, नवदुर्गा साकोसका अध्यक्षइन्द्र प्रसाद हुमागाई, मानेश्वरी संस्कार सुधार समाजका अध्यक्ष हिरालाल आचार्य, साइनो समाजका सल्लाहकार भिम बहादुर खत्री लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संचालन गर्नु भएको थियो ।
बनेपामा ४३ जनाले गरे रक्तदान
त्यसैगरी रोटरी क्लब अफ काभ्रे भ्यालीको आयोजनामा बनेपामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड बैंकहरुमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रम गरिएको हो । “रक्तदान जीवनदान“ भन्ने मूल नारा सहित आयोजना गरिएको कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न ठाउँबाट ४३ जनाले रक्तदान गरेका थिए ।









