2026 May 01/ 01:32: 44pm

    मण्डनदेउपुर/बागमती प्रदेशमै पहिलो पटक मण्डनदेउपुर नगरपालिकाले वातावरण अनुकूलित खोप केन्द्र सञ्चालनमा ल्याएको छ । मण्डनदेउपुर आधारभूत अस्पतालमा स्थापना गरिएको उक्त केन्द्रको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।
नगर प्रमुख टोकबहादुर वाईवाले खोप सेवा प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन वातावरण अनुकूलित खोप केन्द्र स्थापना गरिएको बताए । उनले नगरवासीलाई सहज, गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको उल्लेख गरे । उपप्रमुख विष्णुमणी नेपालले बालबालिका, गर्भवती महिला तथा अभिभावकलाई आरामदायी वातावरणमा खोप सेवा दिन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेका अनुसार केन्द्रमा खोपको सुरक्षित भण्डारण, तापक्रम व्यवस्थापन, सफा प्रतीक्षालय तथा सहज सेवा प्रवाहको व्यवस्था गरिएको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पार्थमणि न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । नगरपालिकाले यस केन्द्रमार्फत खोप सेवाको गुणस्तर बढ्दै जाने र अन्य स्थानीय तहलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।