2026 May 03/ 04:17: 08pm

पनौती/काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ स्थित धाराचौर खेलमैदानमा आयोजना गरिएको जिल्ला ब्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी खानिखोला गाउँपालिकाले जितेको छ । महाभारत गाउँपालिकाको टिमलाई पराजय गर्दै खानीखोला गाउँपालिकाको टिमले सोझो सेटमा उपाधी हात पारेको हो ।
    समापन खेलमा नगरपालिका प्रमुख रामशरण भण्डारी, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, उपप्रमुख गिता बञ्जारा, क्याप्टेन रामेश्वर थापा, विभिन्न क्षेत्रका ब्यक्तिहरु, वडा अध्यक्षहरु तथा अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिम खानीखोलाले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता महाभारत गाउँपालिका टिमले ३० हजार प्राप्त गरेको छ । सान्त्वना दुई टिमले नगद १०÷१० हजार प्राप्त गरेका थिए । प्रतियोगिताका लागि पनौती उद्योग बाणिज्य संघका उपाध्यक्ष पुनम जंगमले दुई टिमका लागि निःशुल्क जर्सी र भलिबल उपलब्ध गराउनुभएको थियो भने अन्य संघ संस्थाले पनि सहयोग गरेका थिए । कार्तिक २ गते शुरु भएको प्रतियोगिता कार्तिक ५ गते समापन भएको थियो । उद्घाटन खेल पनौती नगरपालिकाका नगर प्रमुख राशरण भण्डारीले गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो । खेलकुदले सामाजिक विकास, मानसिक र शारिरिक विकासका लागि सहयोग गर्ने भएकाले खेल क्षेत्रको महत्व रहेको उहाँको भनाई थियो । यस्तै निवर्तमान नगर प्रमुख भीम न्यौपानले यस अघि ५ वटा वडामा खेल मैदान व्यवस्थित गरेको जानकारी दिँदै बाँकी वडामा पनि व्यवस्थित खेल मैदान निर्माणका लागि आग्रह गर्नुभएको छ । उपप्रमुख गिता बञ्जाराले युवाहरुलाई समेटेर आयोजना हुने यस्ता प्रतियोगिताले समुदायलाई समेत समेट्ने बताउनुभयो । वडा नम्बर २ का अध्यक्ष समेत रहनुभएका प्रतियोगिता मूल समारोह समितिका संयोजक पुरुषोतम अधिकारीले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण भएको बताउनु भयो । 
    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, पनौती उद्योग बाणिज्य संघकी उपाध्यक्ष पुनम जंगम, समाजसेवी जंगबहादुर जंगम, कुशादेवी युवा क्लवका अध्यक्ष दिपेश घिमिरे, लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा आठ टिम सहभागी थिए । महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका र आयोजक टिम सहित आठ टिम थिए ।