2026 May 03/ 03:13: 59pm

विन्धबासिनीमा ५५ हजार सदस्य पुगे
चार वर्षका लागि शान्तकुमार श्रेष्ठ अध्यक्ष

    बनेपा/राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाएको जिल्लाकै गौरव बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक सभा सम्पन्न भएको छ । सभाले आगामी चार वर्षको लागि शान्तकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्य संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको निर्वाचन उप समितिका संयोजक रामप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।
     समितिको उपाध्यक्ष रामहरी तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिमबहादुर खत्री रहनु भएको छ । सदस्यहरुमा सुनिता धिताल, केशव थापा, अर्जुन खनाल, पुनम घिमिरे, गणेशप्रसाद पराजुली, बुद्धिमाया लामा, लोकदर्शन कर्माचार्य, जमुना खड्का र प्रकाश बहादुर कायस्थ रहेका छन् । लेखा समिति सदस्यमा सिद्धिलक्ष्मी पोटे सैजु र विदुर थापा रहेका छन् । आसोज ६ र ७ गते आयोजना गरिएको साधारण सभाको पहिलो दिन बनेपामा अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा साधारण सभा आयोजना गरिएको थियो । प्रमुख अतिथि बनेपा नगरपालिकाका उप प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक बालकृष्ण दाहाल, विभिन्न बैंकका शाखा प्रबन्धक लगायतको सहभागिता रहेको थियो । 
    त्यस्तै पाँचखाल क्षेत्रमा उपाध्यक्ष भिमसेनप्रसाद सापकोटाको अध्यक्षतामा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता, भकुण्डेमा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ्ग लामाको प्रमुख आतिथ्यता, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको विशेष आतिथ्यता र बानेश्वरमा संचालक राजेन्द्रप्रसाद गुरागाईको अध्यक्षतामा सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत केबी लामा स्यांङतानले जानकारी दिनु भएको छ । 
    असोज ८ गते शनिबार पनौतीमा अध्यक्ष प्रदिप थापाको अध्यक्षता र पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता, खोपासीमा उपाध्यक्ष भिमसेनप्रसाद सापकोटाको अध्यक्षता र पनौती नगरपालिकका उपप्रमुख गिता बन्जाराको प्रमुख आतिथ्यता र ढुंखर्कमा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षता र बेथानचोक गाउँपालिकाको अध्यक्ष भगवान अधिकारीको  प्रमुख आतिथ्यतामा सभा आयोजना गरिएको छ । साधारण सभाले ३ सय ३१ जना जेष्ठ सदस्य र १ सय ४२ जना अपाङ्गता भएका सदस्यहरुलाई सम्मान तथा भत्ता वितरण गरिएको थियो । सभामा आर्थिक वर्ष २०७८÷२०७९ को प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको शशोधित बजेट, नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्ष २०८०÷२०८१ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । 
    सभाले गत आर्थिक वर्षको खुद मुनाफबाट १५ प्रतिशत शेयर लाभांश, ऋणको व्याजमा १ प्रतिशत र बचतको व्याज योगदानमा १.५ प्रतिशत संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थामा ४६ हजार ३ सय २१ सदस्य सहित ५५ हजार ४ सय २२ जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बिन्धवासिनी साकोसले आगामी आर्थिक वर्ष भित्र ७३ हजार ६ सय ८१ जना सेवाग्राहीलाई सेवा प्रदान गरी कूल सम्पत्ति ६ अर्ब ८० करोड पु¥याउने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकारी के.बि.लामाले बताउनु भएको छ । सहकारीमा २ हजार १ सय ८३ समुह सक्रिय छन् । बार्षिक ५० करोड ७२ लाख ७० हजार २ सय ९४ आम्दानी गरेको सहकारीले ४ अर्ब २३ करोड ९६ लाख १९ हजार ४ सय २० रुपैयाको पुँजी पु¥याएको छ । 

बनेपा बचतको २३ औ सभा
 बनेपामा दर्जन भन्दा धेरै सहकारीका साधारण सभा सम्पन्न भएका छन् । शहरी क्षेत्र बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर लगायतका पालिकाहरुमा सहकारीहरुले साधारण सभा आयोजना गरेका छन् ।
 बनेपाको पुरानो सहकारी बनेपा बचत तथा ऋण सहकारी संस्थाको २३ बार्षिक सभा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा उपाध्यक्ष रहदेव पोटे, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर, लेखा समिति संयोजक जगदिप पलाञ्चोकेले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । संस्थाले २ करोड २५ लाख ७ हजार ८ सय शेयर पुँजी संकलन गरी २३ करोड ४८ लाख ३० हजार ऋण लगानी गरेको छ भने २२ कारेड २३ लाख ३४ हजार बचत संकलन गरेको छ । कुल बचत ३९ लाख १४ हजार ३ सय २७ गरेको संस्थाका अध्यक्ष अमन पोटेले जानकारी दिनु भयो । सभामा संस्थाका सल्लाहकार राजु सरकार, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा जिल्ला सहकारी संघका उपाध्यक्ष सागर कपाली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

उग्रतिर्थ सहकारीले मनायो १३ औ सभा
शनिबार नै बनेपामा रहेको उग्रतिर्थ सहकारीको १३ औ सभा सम्पन्न भएको छ । बागमति प्रदेश सरकारका भूमी ब्यवस्थापन तथा सहकारी मन्त्रालयका रजिस्ट्रार नारायण ज्ञवालीको प्रमुख आतिथ्यता तथा अध्यक्ष मोहनबहादुर गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सचिव शान्तमणी रिजाल लगायतले सहकारीका प्रतिवेदन तथा प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा बोल्दै सहकारी रजिस्ट्रार नारायण ज्ञवालीले पछिल्लो समय सहकारीहरुमा देखिएको समस्या र आर्थिक तरलता ब्यवस्थापन गर्न सहकारीले अनुपात्दक क्षेत्रमा लगानी नगर्न र गरिएको लगानीलाई तत्काल असुल गर्न ध्यान दिनु पर्ने बताउनु भयो । सहकारीका सदस्यहरुको रकम जोखिममा पारेर सहकारीहरुले कुनै कारोवार नगर्न र गरेको पाईएमा सबै सहकारीलाई कारवाही गरिने ज्ञवालीले बताउनु भयो । कार्यक्रममा नेफ्सकुनका गणेशप्रसाद तिमल्सिना, पुर्व उप सचिव सहकारी विज्ञ हरि बशिस्ट, काभ्रेपलाञ्चोक जिल्ला बचतका संचालक बालकृष्ण दाहाल, प्रदेश सहकारी विभागका लिलानाथ मिश्र, विभिन्न सहकारीका सचालक तथा अध्यक्षहरु, शेयर सदस्यहरु, संचालक तथा लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संस्थाले आर्थिक वर्षको अन्त्यमा ५ करोड ५२ लाख ११ हजारको शेयर पुँजी, ५३ करोड ४३ लाख बचत, ६४ करोड ३५ लाख ऋण लगानी गरी १० करोड ४१ लाख आम्दानी गरेको छ । 

सुगन्ध सहकारीमा पुनः कुमार मैनाली
शनिबार नै बनेपामा सुगन्ध सहकारीको पाँचौ बार्षिक साधारण सभा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता तथा अध्यक्ष कुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको छ । 
सभाको बन्द सत्रले पुनः कुमार मैनालीको अध्यक्षतमा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष नारायणी घिमिरे, सचिव राजनप्रसाद भट्टराई, कोषाध्यक्ष सुरेन्द्र महत, सदस्यहरुमा ज्ञानबहादुर विष्ट, बोजराज सेढाई, जीवननाथ दंगाल रहेका छन् । लेखा समितिको संयोजकमा विनिता रानाभाटको सयोजकत्वमा जयन्द्र तामाङ र अन्जना थापा रहेका छन् । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख आतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले सहकारीको रकम अनुपात्दक क्षेत्रमा भन्दा कृषि र उत्पादन योग्य क्षेत्रमा लगानी गरी आय आर्जन बृद्धी गर्न सुझाव दिए । कार्यक्रममा सहकारी छोटो अवधीमा २ हजार सदस्य मार्फत ४५ लाख शेयर पुँजी संकलन गरी ४ करोड ८४ लाख बचत गरेको र ५ करोड ४२ लाख ऋण लगानी गरेको सचिव विकास बुढाथोकीले बताउनु भयो । कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष तथा सरोकारवाला निकायका ब्यक्तिहरुले सहकारीले ऐन नियम र परिधिभित्र रहेर कारोवार गर्न सुझाव दिएका थिए । 

नोबेल साकोसमा पुनः रामसुन्दर
    बनेपा/नोबेल बचत तथा ऋण सहकारीको १० औ वार्षिक साधारण सभाले पुनः रामसुन्दर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
    समितिको उपाध्यक्षमा गोर्वधन कर्माचार्य, सचिब मोहनकुमार श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सदस्यहरुमा सुदन केसी, प्रेम बहादुर कार्की, भिमकृष्ण श्रेष्ठ, विजेशकुमार बादे, राजेन्द्रप्रसाद श्रेष्ठ र बलराम श्रेष्ठ रहनु भएको छ । लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा श्यामकुमार श्रेष्ठ, सदस्यमा आत्माराम अधिकारी र पुर्ण गोपाल योगल निर्वाचित हुनु भएको छ । साधाराण सभाको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । शाक्यले सहकारी संस्था र नगरपालिका मिलेर नगर विकासमा लाग्नु पर्ने बताउनु भयो । सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत नगरको विकासमा खर्च गर्न र नगरपालिकाको समन्वयमा मात्रै गर्नु पर्ने शाक्यले बताउनु भयो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब गोर्वधन कर्मचार्यले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजकुमार विष्टले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक गोपाल प्रधानले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ८३ लाख २२ हजार, बचत १५ करोड ८२ लाख ९६ हजार, कर्जा लगानी १७ करोड १ लाख ९८ हजार, रहेको जानएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट बचत कर्ता, असली ऋणी, एस ई इ मा उतिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सञ्चालक सदस्य मोहन श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सञ्चालक सदस्य प्रमिला चण्डी श्रेष्ठले गर्नु भएको थियो । 

लक्ष्मी महिला साकोसको २४ औ साधारण सभा 
    बनेपा/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा वागमती प्रदेश बचत तथा ऋण सहकारी सघं प्रोस्कुनका अध्यक्ष उद्धब सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी सापकोटाले सहकारीको ऐन र निति अनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या नआएको तथा पारिबारीक तथा स्वच्छेचारीमा सञ्चालन भएका सहकारीमा समस्या आएको बताउनु भयो । सहकारीहरुले अब उत्पादन क्षेत्रमा लगानी गरी सदस्यहरुलाई ब्यबसायी बनाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी सघं प्रोस्कुनका सञ्चालक सदस्य कृष्णप्रसाद तिमल्सिना, पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बीनोद केसी, काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका सचिब सुरेन्द्र पौडेल, संस्थाका प्रमुख सल्लाहकार तिर्थमाया प्रधान लगाएतले शुभकामना राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७८÷७९को वार्षिक प्रतिबेदन सह सचिब सर्मिला अधिकारीले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सकुन्तला श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक सोविता थापा मगरले सभामा राख्नु भएको थियो । संस्थाको शेयर पुजीं २ करोड ५२ लाख १० हजार, सदस्य २ हजार ४ सय ६३ जना, बचत तथा निक्षेप १७ करोड ८ लाख २७ हजार, ऋण लगानी १६ करोड ९४ लाख ६५ हजार, स्थिर सम्पती ४२ लाख ४१ हजार २ सय रहेको जनाएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले सहकारीको मर्म र भावना, सिद्धान्त र मुल्य मान्यतालाई आत्मसात गर्दे नीति कार्यक्रम योजनाहरु तर्जुमा गरी कार्य क्षेत्र भित्र रहेका महिलाहरुलाई समेटी आर्थिक समृद्धि, सामाजिक एकिकरण, सीप विकास र उद्यमशिलता तर्फ लाग्न उत्प्रेरीत गर्दे आएको बताउनु भयो । सहकारीले नव दुलही भेटघाट, प्रसुती राहत तथा अन्य कोष वितरण, मृत्यु राहत, विरामी राहत, विभिन्न सिपमुलक तालिम प्रदान, रक्तदान, स्वास्थय शिबिर लगाएत सामाजिक उत्तरदायित्व प्रा गर्दे आएको रायमाझीले वताउनु भयो । कार्यक्रमको सभापतित्व अध्यक्ष मैया महतले गर्नु भएको थियो भने सञ्चालन उपाध्यक्ष हिमाली श्रेष्ठले गर्नु भएको थियो । 

नारी जागरण साकोसको २४ औ सभा
    नाला/नारी जागरण बचत तथा ऋण सहकारी संस्था लिको २४ औ वार्षिक साधारण सभा नारी चेतना केन्द्रकी संस्थापक अधयक्ष प्रतिभा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी सुवेदेले सहकारीका कारण महिलाहरु आफ्नै खुट्टामा उभिन सक्षम भएको बताउनु भयो । सुवेदीले भन्नु भयो २४ वर्ष आघिको अबस्था र अहिलेको अबस्था सम्झनुहोस त कस्तो रहेको थियो ? सहकारीले गर्दा सम्पुर्ण महिला दिदिबहिनीहरुलाई बचत गर्ने, आफुलाई चाहिएको समयमा खर्च गर्न सक्ने, सामानहरु किन्न सक्ने अझ घर ब्यबहार समेत आफ्ैले सञ्चालन गर्न सक्षम भएको बताउनु भयो । हामि आफैले केहि गर्न सक्छौ भन्ने भावना  आत्मविश्वास लिई अगाडी बढेमा महिला हरुले समेत धेरै काम गर्न सक्ने सुवेदीले वताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेशप्रसाद दाहाल, बुडोल सामुदायीक साकोसका सचिब जयराम थापा, डाईनामीक युवा साकोसका अध्यक्ष माधब सिग्देल, संस्थाका प्रमुख सल्लाहकार निर्मला श्रेष्ठ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रे टाईम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नव दुलाह जोडी, उत्कृष्ट बचत कर्ता, असली ऋणी, एस ई ई मा उतिर्ण बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन सचिब ईन्द्र माया श्रेष्ठ, आर्थिक प्रतिबेदन गंगा देवी श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक सुभद्रा अधिकारीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ३० लाख ८४ हजार, बचत निक्षेप ८ करोड ९२ लाख ८२ हजार, ऋण लगानी १० करो १८ लाख ८७ हजार, कुल कारोबार ११ करोड १३ लाख ९१ हजार रहेको छ । कार्यक्रमको सभापतित्व सस्थाकी अध्यक्ष देवकी दाहालले गर्नु भएको थियो । 

झिगु सहयोगी साकोसको १५ औ साधारण सभा
    बनेपा/झिगु सहयोगी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता र संस्थाका अधयक्ष बुद्धरत्न मानन्धरको सभापतित्वमा सम्पन्न भएको छ । 
    संस्थाको आर्थिक वर्ष २०७८÷२०७९ को वार्षिक प्रतिबेदन सचिब दिपा मानन्धरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज मानन्धरले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक पुरुषोतम मानन्धरले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ९७ हजार, बचत संकलन ७ करोड ४ लाख ५५ हजार, कर्जा लगानी ७ करोड ८८ लाख ७७ हजार रहेको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष टिकाराम मानन्धरले गर्नु भएको थियो । सहकारीले विभिन्न विद्यामा उत्कृष्टलाई सम्मान गरेको थियो । 

उद्यमको उद्यमशिलतामा सदस्यको आर्कषण
    पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ सभा पनौतीमा नेफ्सकुनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता तथा रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । २०६४ साल माघ ६ गते ३० जना सदस्यहरुले ५÷५ हजार रुपैया संकलन गरी शुरु भएको सहकारीले आर्थिक वर्षको अन्त्यमा ५३ लाख ४७ हजार ७७ हजार ३ सय ५२ रुपैया सम्पति पु¥याएको छ । सहकारीले प्रदान गरेको ऋण मार्फत शेयर सदस्यहरुले उद्यम गरिरहेका छन् । उत्पादित सामान साधारण सभामा स्टल राखिएको थियो । 
    ४ हजार २ सय ५५ सदस्यबाट ४ करोड २२ लाख ७७ हजार २ सय शेयर पुँजी संकलन गरेको सहकारीले ४४ करोड ३२ लाख ५१ हजार बचत संकलन गरी ४४ करोड ७९ लाख ३० हजार ऋण लगानी गरेको छ । उपाध्यक्ष सनिलसुन्दर सैजु, सचिव ऋषिराम सापकोटा, कोषाध्यक्ष विमल कार्की, लेखा समिति संयोजक सकुहल बस्नेतले संस्थाका बार्षिक, आर्थिक, लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेफ्सकुनका महासचिव दामोदर अधिकारीले सहकारीहरु ऐन, नियम र कानुन अनुसार संचालन हुनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रोफ्स्कुनका  अध्यक्ष उद्धव सापकोटा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारा, ज्योति साकोसका पूर्णराम तुलाधर, काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारीका सचिव विकास बादे लगायतले मन्तब्य राखेका थिए । सहकारीले १९ जनालाई संस्थाको शिक्षाबृत्ति नीति अनुसार विद्यार्थीहरुलाई प्रति विद्यार्थी चार हजारका दरले नगद र स्टेशनरी उपलब्ध गराएको छ भने एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीहरु चार जनालाई नगद ४ हजार सहित प्रोत्साहन रकम वितरण गरेको छ । त्यस्तै उत्कृष्ट ऋणी, बचतकर्ता र शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गरिरहेको सहकारीले रक्तदान कार्यक्रम, संस्था स्थाना दिवस, सहकारी शिविर र प्रशिक्षण लगायतका कार्यक्रम आयोजना गरेको थियो । सभामा महिला समितिको प्रतिवेदन सयोजक सविता थापा, उद्यम प्रर्वद्धन सनतप्रसाद सापकोटा, स्वास्थ्य उप समितिको शुशिला सुवाल, लघुवित्त उप समितिको सुजन श्रेष्ठ लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

एकीकृत सहकारीको १४ औ सभा
    पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारीको १४ औ साधारण सभा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता तथा अध्यक्ष काजिबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । उपाध्यक्ष चण्डेश्वरी मुनाकर्मी, सचिव भरत राउल, कोषाध्यक्ष बसुन्धरा आचार्य, लेखा समिति संयोजक बालकृष्ण प्रजापतिल संस्थाको बार्षिक, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले स्थानीय सरकारसँगको समन्वयमा आर्थिक समृद्धीका लागि कार्य गर्नु पर्ने नगर प्रमुख भण्डारीले बताउनु भयो । २ करोड २४ लाख ८२ हजार शेयर पुँजी, १७ करोड ४२ लाख ८० हजार ८ सय बचत संकलन गरी १६ करोड ६६ लाख ८३ हजार ऋण लगानी गरेको छ । कुल सम्पति २१ करोड ४३ लाख ४५ हजार पुगेको छ । सहकारीले विभिन्न क्षेत्रका उत्कृष्टलाई सम्मान गरेको थियो । 
    बनेपामा रहेको हिमाल बचत तथा ऋण सहकारीको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको सचिव हुद्दराज तिमल्सिनाले जानकारी दिनुभयो । घटस्थापनाको दिन विन्धबासिनी सहकारीको अन्तिम दिनको साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।  

प्रतिष्ठा कृषि सहकारीको ११ औ वार्षिक साधारण सभा 
उद्धब प्रसाद अधिकारी/पाँचखाल 
प्रतिष्ठा कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । 
अध्यक्ष थापाले सदस्यको पेशा ब्यबसायलाई ब्यबसायिक एवं आधुनिक बनाउन, उत्पादन एवं उत्पादन बृद्धि गर्न र गरिबी निवारणको लागी संस्था सारथी बनेको बताउनु भयो । कृषिमा आधारित स–साना उद्योग संचालनका लागी वातावरण तयार गर्न सकेमा मात्र समुदायको आर्थिक सामाजिक उकास्न सहयोग पुग्ने थापाले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य श्याम बहादुर दुलालले राख्नु भएको थियो भने शुभकामना मन्तब्य पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ्ग, वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष सुमन नेपाल लगायतले शुभकामना राख्नु भएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन सचिव सरस्वती दाहालले आर्थिक प्रतिबेदन कोषााध्यक्ष सिताराम अधिकारी र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सुर्दशन अधिकारीले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ३५ लाख ३३ हजार, निक्षेप संकलन ३ करोड ९६ लाख ५० हजार, ऋण लागनी ३ करोड ३० लाख ६२ हजार रहेको जनाएको छ । संस्थाले ढुटो, दाना, दुध र रसायनिक मलको कारेबारलाई निरन्तरता दिदै आएको जनाएको छ । कार्यक्रममा ११ जना जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट दुध उत्पादक, एसईईमा उत्कृष्ट बाल सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन प्रमुख ब्यबस्थापक सुमन बानियाँले गर्नु भएको थियो । 

आयाम १३ औं साधारण सभा सम्पन्न 
बनेपा/आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको १३ औं साधारण सभा सम्पन्न भएको छ ।  
संस्थाको सेवा कार्यालयहरु बनेपा, पाँचखाल, भकुण्डे कार्यालया नमोबुद्ध कार्यालयमा गत ७ र ८ गते गरी सम्पन्न भएको हो । संस्थाको साधारण सभाको समुद्घाटन संस्थाका जेष्ठ सदस्यहरुबाट गरिएको थियो । उक्त अवसरमा संस्थाले ६ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । 
कार्यक्रममा संस्थाका सचिब डम्बर बहादुर लम्सालले समाजमा ३ किसिमका सहकारी रहेको  मेरा निजी कम्पनी सरह सञ्चालित, आ–आफ्नै नातेदार इस्टमित्र बिचमा बाबु अध्यक्ष छोरो व्यवस्थापक भई चलेको र हाम्रो सबै अट्ने, सबैको साझा र वास्तविक सहकारी तथा सदस्यले सदस्य बन्नु पूर्व तथा कारोवार गर्दा आफु कस्तो संस्थामा कारोवार गर्दैछु भन्ने पूर्ण जानकारी लिएर मात्र कारोवार गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष नवराज घोरासाईनेले १३ औं साधारण सभाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै संस्था सदैव सदस्य हितमा तल्लीन रहेको र आगामी दिनमा सदस्यहरुको मागलाई ध्यानमा राखी जेष्ठ सदस्य तिर्थाटन, बालबचतकर्तालाई झोला लगायतका स्टेशनरी सामाग्री वितरण गर्ने, नारी सदस्यलाई प्रोत्साहन कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२ दिनसम्म सञ्चालित कार्यक्रममा संस्थामा ३ हजार ४ सय ९४ सदस्य रहेको उक्त संस्थाको आ.व. २०७८÷०७९ को अन्त्यसम्ममा संस्थाले १२ करोड १८ लाख १३ हजार बचत संकलन कर्जा लगानी रु. १२ करोड ९० हजार ५९ लाख कुलपुँजी रु.१६ करोड ३१ लाख ९३ हजारको कारोवार गरेको छ ।

चण्डेश्वरी साकोसको रक्तदान 
बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको छ र 
डेंगीको कारण र दशैको अवसरमा रगतको अभाव नहोस् भन्नका लागी उक्त रक्तदानको आयोजना गरिएको संस्थाका अध्यक्ष नविन बादेले बताउनु भयो । संस्थाले यसअघि पनि धेरै पटक रक्तदान गरिसकेको र आगामी दिनहरुमा समेत गर्दै जाने अध्यक्ष बादेले बताउनु भयो । संस्थाले स्वास्थ्य शिबिर लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बादेले बताउनु भयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोग र विशेष सहयोग ब्लड डोनर्स एशोसिएसन नेपालले गरेको थियो । रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।