धुलिखेल/गुर्जाे अभियान्ता कमलबहादुर राजलवटले एकै दिन ६ हजार भन्दा धेरै ब्यक्तिहरुलाई गुर्जाे चिया वितरण गरी विरुवा निशुल्क उपलब्ध गराउनु भएको छ ।
गोदावरीमा इशा फाउण्डेशसनद्वारा आयोजित शदगुरुको प्रवचन कार्यक्रममा सहभागी ६ हजार भन्दा धेरैलाई गुर्जाे चिया सेवन गराईएको अभियान्ता कमलबहादुर राजलवटले बताउनु भयो । ‘यो मेरो नियमित अभियान हो । हरेक क्षेत्रका ब्यक्तिहरुलाई गुर्जाेको नियमित र सहि समयमा सेवन गर्ने बानी बसाल्नु मेरो कर्तब्य हो’–अभियान्ता राजलवटले भन्नुभयो–‘गुर्जाे सेवन गर्ने मात्रै नभई गुर्जाेको विरुवा रोपण गर्ने अभियान पनि चलाएको छु ।’ अभियान्ता राजलवट आन्तरिक राजश्व कार्यालय धुलिखेलमा प्रमुख कर अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
गोदावरीमा शदगुरुको आगमन हुनु अघि दिउसो २ बजे देखि ५ सय मिटर अघि देखि लामबद्व रहेका सहभागीहरुलाई लाईनमै गुर्जाे चिया सेवन गराउँदा सहभागीहरू हर्षित भएको राजलवटले बताउनु भयो । कार्यक्रममा गुर्जाे बेर्ना, करिपात बेर्ना, पत्थरचट्टा, अश्वगन्धा, पारिवातका बेर्नाहरू वितरण गरिएको थियो । उक्त कार्यक्रममा राजलवटका बहिनी अन्जु प्रधान, ज्वाइँ राजेश प्रधान, योग गुरुहरू सुरेन्द्र रिमाल, किशोर जोशी, केदार वास्ताकोटी, दधिराम, मण्डल लगायतका सहयोगी हातहरु र भावनाहरूको सक्रिय सहयोग रहेको थियो । गुर्जाे चिया सेवनसँगै गुर्जाे वेर्ना, करिपात, अश्वगन्धा, पत्थरचट्टाको वेर्ना र गुर्जाे चिया प्याकेट उपलब्ध गराईएको थियो ।









