2026 May 03/ 11:52: 53am

    बनेपा/नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले मालिकहरु एक पैसा मुनाफाको लागि मजदुरको घाँटी रेट्न तयार हुने गरेको बताउनुभएको छ । आफु सञ्चार मन्त्री हुँदा पत्रकारको हक हितमा काम गर्न खोज्दा मिडिया मालिकले नै असहयोग गरेको प्रसंग निकाल्दै उहाँले उक्त आरोप लगाउनुभएको हो । 
    नेपाल ट्रेड युनियन महांसंघ (जिफण्ट) काभ्रेले बनेपामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र परेको पनि बताउनुभयो । कोरोना महामारीको समयमा बर्षौ काम गरिरहेका धेरै मजदुर कामबाट निकालिनु दुःखद् भएको उहाँको भनाई छ । वर्तमान सरकार मजदुरको समस्या समाधान गर्न भन्दा पनि उद्योगी व्यवसायीको इसारामा मालिक पोस्न लागेको बास्कोटाको आरोप छ । श्रमिक मजदुरको पक्षमा काम गर्ने पार्टी एमाले बाहेक अरु नभएको उहाँको दाबी छ । नेकपा एमालेको नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सुरक्षा कोष ठुलो उपलब्धि भएको बास्कोटाको भनाई छ । जिफण्ट मजदुरको हितमा काम गर्ने निर्विकल्प संगठन भएको उहाँले बताउनुभयो । पुर्वमन्त्री समेत रहनुभएका एमाले नेता बास्कोटाले समान कामको समान ज्याला, श्रममा लैंगिक विभेदको अन्त्य, श्रमको उचित मुल्य लगायतका विषयमा ध्यान दिन जिफण्टलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा जिफण्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले मजदुर आन्दोलन र आगामी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कुमार थापाले कम्युनिष्ट आन्दोलनको प्रादुर्भाव श्रमिकबाट नै भएको बताउनुभएको छ । किसान मजदुरले जित्न आगामी निर्वाचनमा एमालेले जित्न आवश्यक रहेको उहाँको भनाई थियो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश मजदुर विभाग इन्चार्ज उद्धव केसी, एमाले काभ्रैकी सहसचिव रिता ढकाल, जनवर्गिय संगठन इन्चार्ज कञ्चन अधिकारी, नेकपा एमाले काभ्रेका मजदुर विभाग इन्चार्ज विदुर खत्री, सह–इन्चार्ज मोहन गजुरेलले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । 
    नेकपा एमाले काभ्रेले जिल्लाभर विभिन्न जनसंगठनका भेला, बैठक, पुर्नगठन तथा प्रशिक्षणहरु सचालन गरिरहेको छ ।