2026 May 03/ 09:52: 32am

    बनेपा/बनेपा नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि बालश्रम मुक्त नगरका लागि होटल, ग्यारेज, सवारी साधन, घर तथा उद्योग कलकारखानामा बालबालिकाहरु प्रयोग भए नभएको अनुगमन गरेको छ ।
    बनेपा नगरपालिकाले आयोजना गरेको उक्त अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि यस अघि घोषणा भएको बालमैत्री नगर उन्मुख घोषणा भईसकेकाले बाँकी सुचकहरु पुरा गर्न निरन्तर सक्रिय रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बालबालिकाहरुलाई जोखिम र निकृष्ट श्रममा नलगाउन ब्यवसायीहरुलाई अनुरोध गर्नु भयो । उपप्रमुख विमला सापकोटा दाहालले श्रममा भएका बालबालिकाहरुलाई १५ दिन भित्र पुर्नस्थापनामा पठाउन र नमाने कानुन अनुसार कारवाही गर्न सिफारिस गर्ने भएकाले सबै नगरबासिहरुले बालश्रम मुक्त नगर घोषणाका लागि बालबालिकाहरुलाई जोखिमयुक्त काममा नलगाउन अनुरोध गर्नु भयो । प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले नगरपालिकाले बालमैत्री नगरउन्मुख घोषणा गरिसकेकाले बालमैत्री नगरका लागि आवश्यक पर्ने केहि सुचकहरु पुरा गरी बालमैत्री नगर घोषणा गर्ने बताउनु भयो । बालश्रम मुक्त नगरका लागि बार्षिक दुई पटक अनुगमन गर्नु पर्छ । अनुगमनका क्रममा बालबालिकाहरु श्रममा लागेको पाईए तत्काल पुनस्र्थापना गर्ने र अटेर गरे श्रममा लगाउनेलाई कारवाही गरी बालबालिकाहरुलाई बालगृहमा पठाउनु पर्नेछ ।
    बनेपा नगरपालिकाले शहरी क्षेत्रहरुको अनुगमन गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको अगुवाईमा भएको अनुगमनमा बनेपा नगरपालिका वडा नम्वर ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का शहरी क्षेत्रमा रहेका होटल तथा ग्यारेज, सवारी साधन, उद्योग कलकारखाना केन्द्रित गरिएको थियो । पहिलो चरणमा नसकिएको अनुगमनलाई दोश्रो चरणमा राखिएको शाखा प्रमुख विजया सुवेदीले बताउनु भयो । अघिल्लो पटकको अनुगमनमा एकजना बालश्रममा भेटिएकाले तत्काल पुनस्र्थापनामा पठाईएको थियो । दोश्रो चरणको अनुगमनमा पनि केहि होटलहरुले बालबालिकाहरुको पारिवारीक अवस्थाका कारण काममा लगाईएको फेला परेको शाखा प्रमुख सुवेदीले बताउनु भयो । १४ वर्ष भन्दा माथि १८ वर्षसम्मका बालबालिकाहरुलाई विद्यालय पठाएर उनिहरुले सक्ने खालका काममा लगाउन पाउने भए पनि निकृष्ट श्रममा भने लगाउन पाईने छैन । अनुगमनका क्रममा ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक नारायण थापा, बाल कल्याण समितिका पूर्व अध्यक्ष रामकुमार मुल्मी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज, बाल क्लव तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    जिल्लाको ब्यापारीक केन्द्र तथा विभिन्न जिल्ला र पालिकाहरुको समेत बसोबास रहेकाले बालश्रम हुन सक्ने भन्दै नगरपालिकाले निरन्तर अनुगमन गरेको हो । जिल्लाको धेरै जनसंख्या भएको पालिकाको रुपमा बनेपालाई लिईन्छ । बनेपामा ६७ हजार ६ सय २९ नागरिकको बसोबास छ ।