2026 May 03/ 09:01: 47am

३५० वटा कालिज मार्यो
    मण्डनदेउपुर/जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नम्वर ९ रायोबारीमा बुधबार विहान राति ३ बजेको समयमा चितुवा प्रवेश गरी ३ सय ५० वटा कालिज मारेको छ । केहि कालिज खाएको चितुवाले अधिकांश कालिज मारेर सर्वसाधारणले देखेपछि भागेको छ । 
    स्थानीय पुण्यप्रसाद नेपालले दुई वर्ष अघि देखि शुरु गरेको योग गंगा वाईल एण्ड च्याटल प्रालीमा ६ सय ५० वटा कालिज थिए । ब्यवसायीक रुपमा शुरु गरिएको उक्त फार्ममा बाख्रा, टर्की, कुखुरा लगायतका पक्षीहरुको ब्यवसायीक पालन शुरु गरिएको नेपालले बताउनु भयो । ‘फार्ममा हेरालु राखिएको थियो, शुरुमा केहि थाहा भएनछ छिमेकीहरुले पनि विरालो रहेछ भन्ने सोचेर त्यति चासो भएनछ’–संचालक नेपालले भन्नुभयो–‘धेरे बेर पछि चितुवा भन्ने थाहा भएछ । मान्छेहरु कराए पछि विहान उज्यालोमा चितुवा जुन बाटो प्रवेश गरेको त्यहि बाटो निस्किएछ ।’ चितुवाले ६० वटा जति कालिज खाएर ३ सय वटा जति मारेर छाडेको प्रहरी चौकी हिगुवापाटीले जानकारी दिएको छ । भाले कालिजको प्रति गोटा २ हजार ५ सयमा विक्री हुने गरेको नेपालले जानकारी दिनु भयो । पोथी कालिजबाट चल्ला उत्पादनका लागि अण्डा बनाउने भएकाले विक्री हुँदैन । चितुवाको आक्रमणबाट कालिज फार्ममा ८ लाख ७५ हजार क्षति पुगेको नेपालले बताउनु भयो । 
    ७५ लाख लगानीमा शुरु गरिएको फार्ममा बुद्धचित्तको पनि ब्यवसायीक खेति गरिएको छ । ६० वटा भन्दा धेरै बोट बुद्धचित्तका रोपिएको नेपालले जानकारी दिनुभयो । अहिले फार्ममा १५ वटा बाख्रा, ३ सय ५० वटा भन्दा धेरै कुखुरा र टर्की लगायतको ब्यवसायीक रुपमा पालन गरिएको छ । स्थानीयहरुले चितुवा नियन्त्रण गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।