धुलिखेल/सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले ग्लोबल मनि विक २०२२ नाममा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको बैंकले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीका साथै शिक्षक तथा अन्य कर्मचारीहरु पनि सहभागी थिए । प्रधानाध्यापक महेश कोइरालाले वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीहरुका लागि बैंकिङ सम्बन्धी राम्रो सिकाई भएको बताए । सेञ्चुरीले गरेको ग्लोबल मनि विक बिभिन्न मुलुकमा किशोर किशोरी तथा युवामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने साप्ताहिक अभियान हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका धेरै मुलुकमा यसलाई सप्ताहव्यापी रुपमा मनाइँदै आएको छ ।
यस वर्ष यो कार्यक्रम मार्च २१ देखि २७ सम्म मनाइँदै छ । यसपटक लक्षित समूहलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याइ वित्तीय सक्षमताका माध्यमले विवेकशील वित्तीय निर्णय लिँदै हरेक व्यक्तित्व को आर्थिक समृद्धिमा योगदान पु¥याउने लक्ष्यसहित यसलाई मनाइँदै छ । सेञ्चुरी बैंकले काभ्रेमा मात्र सातवटा शाखाबाट वित्तीय सेवा दिँदै आएको छ । यसले हाल देशभर कुल १२९ शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २६ वटा शाखा रहित बैंकिङ र ११३ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।









