2026 May 03/ 05:11: 51am

‘एक घर, एक धारा’ अन्तिम चरणमा, हरेक टोलमा मोटरबाटो
    काभ्रे/बेथाञ्चोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले ५ वर्षे उपलब्धी सार्वजनिक गर्नुभएको छ । वडा सदस्य विना सिंतान, पूर्णकुमारी नेपाली, सुदर्शन तिमल्सिना, बुद्धिकृष्ण सापकोटा, वडा सचिव विश्वनाथ दाहाल लगायत पत्रकारको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच उहाँले आफ्नो टिम निर्वाचित भएर आएपछि वडा भित्र गरेका कार्यहरु सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार वडाले महत्वका साथ अघि बढाएको ‘एक घर, एक धारा’ अभियान अन्तिम चरणमा पुगेको छ । करिब ६ सय धरधुरी रहेको वडा नम्बर ३ मा ५ सय ५० घरमा धारा जडान गरिएको छ भने बाँकी घरमा बैशाख १ गतेभित्र धारा जडान गरिसक्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हरेक घरमा खानेपानी पु¥याउनको लागि बागधारा खानेपानी आयोजना अन्तर्गत बेल्देडाँडामा १५ हजार लिटरको ट्यांकी निर्माण गरिएको छ । यस्तै बोल्दे खानेपानी आयोजना, दमार खानेपानी आयोजना, सयले खानेपानी आयोजना, ठुलाचौर खानेपानी आयोजना, बागधारा–महाँकालडाँडा–कुनेखर्क खानेपानी आयोजना मार्फत सबै वडाबासीलाई स्वच्छ खानेपानी पु¥याउने योजनाका साथ तिव्र गतिमा काम भइरहेको वडा अध्यक्ष श्रेष्ठले बताए । पानी सञ्चय गर्नका लागि ९३ घरलाई ५ सय लिटरको ड्रम वितरण गरिएको छ । खानेपानीको क्षेत्रमा मात्रै संघ, प्रदेश, गाउँपालिका र वडा कार्यालयको गरि करिब ४ करोड खर्च भएको छ ।
    वडा कार्यालयका लागि जग्गा खरिद गरी वडा कार्यालयको साँढे २ तले पक्की भवन निर्माण सम्पन्न भईसकेको छ । स्वास्थ्य चौकी भवनको लागि जग्गा खरिद गरि दुई तले पक्की भवन निर्माण सम्पन्न भई १ तला पूर्ण रुपमा तयार गरी सञ्चालनमा आएको छ । वडा कार्यालयका अनुसार वडाका हरेक टोलमा कच्ची मोटरबाटो निर्माण गरिएको छ । पक्की सडक निर्माणका लागि प्रयास गरिएपनि आवश्यक रकम बन्दोबस्दा नहुँदा सम्भव नभएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । सबै विद्यालयको भौतिक पूर्वाधार र भवन निर्माण, घेराबार, पहिरो नियन्त्रण, फिल्टर सहितको खानेपानीको व्यवस्था, कक्षाकोठामा बसाई व्यवस्थापन, साना कक्षामा मल्टिमिडीयाको प्रयोग, आधारभुत विद्यालय र माध्यमिक विद्यालयमा कम्प्युटर सहितको ल्याब व्यवस्थापन गरिएको छ । यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन तथा गुणस्तरीय शिक्षाका लागि अन्य विभिन्न कार्य गरिएको छ भने अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको  छ । सामुदायिक भवन निर्माण, ट्रष्ट निर्माण लगायतको क्षेत्रमा पनि उल्लेख्य उपलब्धी हासिल गरेको वडा वडा अध्यक्ष श्रेष्ठको दाबी छ ।  
    धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षणका लागि समेत वडाले महत्वपुर्ण काम गरेको छ । जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको नारायणस्थान मन्दिरको जिर्णेद्धार गरिएको छ । त्यहासम्म पुग्नको लागि सडक निर्माण, सिँढी निर्माण प्रतिक्षालय निर्माण लगायतको काम समेत पाँच वर्षको अवधिमा भएको छ । यो अवधिमा नारायणस्थानमा दुई जनाको लडेर मृत्यु भएको थियो । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यो क्षेत्रलाई सुरक्षित बनाउनका लागि ५÷६ फिट अग्लो तरजाली राख्ने वडाको योजना छ । वडा भित्र रहेका राधाकृष्ण मन्दिर, गैरीभञ्ज्याङ र लप्सीबोटमा लक्ष्मीनारायण मन्दिर निर्माण, गणेश मन्दिर, श्वत वाराही मन्दिर, बिन्धवासिनी मन्दिर, विश्वरुपेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षणको काम गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । कृषि औजार वितरण, गोठ सुधार कार्यक्रम, भकारो सुधार कार्यक्रम, बाख्रा पाठा वितरण लगायतका कार्य पनि वडाले गरेको छ । सिंचाइका लागि ट्यांकी निर्माण, मर्मत तथा सिँचाई पोखरी निर्माण गर्ने कार्य पनि वडा कार्यालयले गरेको छ ।  वडामा काठको पोल विस्थापन गरी हरेक घरमा विद्युत सुविधा पुर्याइएको छ । अपांगता भएका व्यक्तिलाई बैशाखी, सेतो छडी, कम्मरपेटी वितरण गरिएको छ ।  आय–आर्जनको लागि गरिब तथा विपन्न परिवारलाई सिलाई मेसिन वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।