2026 May 03/ 05:11: 51am

‘सुन्दर संसार र ब्यक्तिको उर्जाका लागि योग’– प्रजिअ हुमकला पाण्डे
    बनेपा/पतञ्जली योग समिति, काभ्रेको १८ औ बार्षिकउत्सव कार्यक्रम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष हरिशरण श्रेष्ठले १८ वर्ष देखि योग जागरण गरी स्वस्थ ब्यक्ति र चरित्र निर्माणको लक्ष्यका साथ निरन्तर योग अभ्यास गराईरहेको बताउनु भयो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले योगलाई प्रत्येक ब्यक्तिसँग आलिंगन गराउनु पर्ने बताउनु भयो । ‘योगको माध्यमबाट सकारात्मक सोचको अभियान टोल टोलमा पु¥याउन जरुरी छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘समाजमा हुने नकारात्मक सोच र घटनालाई सत्कर्म, सत्मार्ग र सकारात्मक सोचबाट जित्न र न्युनिकरण गर्न सम्भव छ ।’ ‘सत्यम शिवम् सुन्दरम्’ सुन्दर संसारका लागि सबैले गर्ने र अनुभव गर्ने प्रेमका लागि योगको महत्व रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । ‘योग र मानवीय जीवन सँगसँगै जोडिएको छ’–प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘ब्यक्तिलाई उर्जा दिने, ज्ञान दिने र सकारात्मक सोचलाई बढाउने गरि मनलाई अगाडी बढाउनु पर्छ ।’
    कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला चौलागाई शर्माले योग र साधनाको महत्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । राजनीतिक दलहरुले पनि योगलाई घोषणापत्रमा समावेश गर्नुपर्ने बताउँदै उपप्रमुख शर्माले ब्यक्तिलाई स्वस्थ राख्न सकेको अवस्थामा मात्रै समाज र राष्ट्रलाई स्वस्थ बनाउन सकिने बताउनु भयो । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष एवं काभ्रेपलाञ्चोक जिल्लाका पूर्व अध्यक्ष ग्रुवेन तौजलेले जिल्लाका विभिन्न स्थानमा योग मार्फत नागरिकहरुलाई सचेत बनाउने अभियान निरन्तर चलिरहेको बताउनु भयो । जिल्लाका १३ वटा पालिकाका विभिन्न वडाहरुमा योग मार्फत नागरिकहरुलाई सकारात्मक सोच तथा योग मार्फत स्वस्थ बनाउन पतञ्जली योग समिति सक्रिय रहिरहेको बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले योगले ब्यक्तिको स्वास्थ्य मात्रै नभई समानता प्रदान गरेको बताउनु भयो । समाजमा सकारात्मक अभियान प्रवाह गर्न योग प्रमुख माध्यम भएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनु भयो ।
    वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष दमनकुमार श्रेष्ठ, महिला समितिका पूर्व अध्यक्ष अञ्जना श्रेष्ठ, पूर्व कोषाध्यक्ष अमृतलाल पलाञ्चोके, पूर्व महामन्त्री रेणुका प्रधानलाई दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा पतञ्जली योग समिति हरिद्धारका सदस्य उद्धव तिमल्सिना, सिन्धुपाल्चोक अध्यक्ष कमल अधिकारी, पूर्व अध्यक्ष दमनकुमार श्रेष्ठ, पूर्व महिला समिति अध्यक्ष अञ्जना श्रेष्ठ, महिला समिति अध्यक्ष अनु श्रेष्ठ, युवा समिति अध्यक्ष रमेश श्रेष्ठ, महामन्त्रीद्धय मोहन बैद्य र कमला कर्माचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । सोहि अवसरमा पतञ्जली योग समिति काभ्रेको भवन निर्माणका लागि अमेरिकामा बसोबास गर्ने बनेपाका रघुनाथ तौजलेले १ लाख सहयोग गर्नु भएको थियो । रोटरी क्लब अफ काभ्रेका अध्यक्ष रुकमणी सिग्देलले ५ हजार सहयोग गर्नु भएको थियो भने अन्य स्थानीयहरुले नगद सहयोग गरेका थिए ।