धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १० र १२ का ६ सय १३ घर परिवारको प्रमुख आय श्रोत रहेको सुन्तला उत्पादन केहि वर्ष देखि हुन छाडेको छ । धुलिखेलकै अन्य वडा तथा जिल्लाका विभिन्न स्थानमा ब्यवसायीक रुपमा गरिएको सुन्तला खेती धरमराएको छ ।
धुलिखेल नगरपालिका वडा नम्वर १० शारदाबतासेमा २ सय ५ जना कृषकले सुन्तलाको ब्यवसायीक खेति गरेका थिए भने वडा नम्वर १२ शंखुमा ४ सय ८ जना कृषकको बारीमा सुन्तला खेति थियो । २०७२ सालको भुकम्प पछि कम फल्न थालेको सुन्तला गत वर्ष देखि शुन्यमा परिणत हुन थालेको कृषक प्रधुम्न लामिछानेले बताउनु भयो । ‘हरेक वर्ष बार्षिक २ लाख रुपैयासम्म सुन्तलाबाट आम्दानी हुने गरेको थियो’–कृषक प्रधुम्न लामिछानेले भन्नुभयो–‘२०७२ सालबाट उत्पादन कम हुँदै गएको सुन्तला गत वर्ष देखि शुन्य जस्तै भयो ।’ प्रधुम्न जस्तै २ सय वोट सुन्तलाबाट बार्षिक आम्दानी गर्ने राजनप्रसाद लामिछानेको पीडा पनि उस्तै छ । बारीमा भएका सुन्तलाका रुख काट्न पनि डर छ, फल्ने आश पनि छैन । ‘एकै पटक काट्दा दाउरा पनि नहुने भयो, विस्तारै काट्दै नयाँ लगाउँदै जान थालेका छौं’–राजन लामिछानेले भन्नुभयो–‘सुन्तलाको विरुवा किन म¥यो जानकारी पाउन सकेनौं ।’ राजन लामिछानेको बगैचामा २०३८ सालमा लगाएका रुखहरु पनि छन् ।
शंखु र शारदाबतासेमा मात्रै बार्षिक १० करोड भन्दा धेरैको सुन्तला विक्री हुँदै आएको थियो । केहि वर्ष देखि सुन्तलाको उत्पादन हुन नसक्दा स्थानीयहरुको प्रमुख श्रोत गुम्न पुगेको कृषक पुरुषोतम लामिछानेले बताउनु भयो । उक्त क्षेत्रमा सुन्तला मात्रै नभई अमिलो जातका ज्यामिर, जुनार, चाक्सी, निबुवा लगायतका सबै विरुवाहरु धमाधम सुक्न थालेका छन् । हिउँदमा पहँेलो देखिने बगैचा उजाड बन्न पुगेको कृषक राधाकृष्ण फैजुले बताउनु भयो । औषधी, गोडमेल नभएका कारण भुकम्प पछि चाहे जस्तो स्याहार गर्न नसकेकै कारण सुन्तलाको विरुवा सुकेको हुन सक्ने स्थानीय कृषक पुरुषोतम लामिछानेले बताउनु भयो । प्राविधिकहरुले पनि भुकम्प पछि जमिन हल्लँदा सुन्तलाको जरा समेत हल्लिएकाले विरुवाहरु सुक्न थालेको बताएको कृषक राजन लामिछानेले बताउनु भयो ।
धुलिखेल नगरपालिकाले कृषकहरुको गुनासो आए लगत्तै केहि वर्ष अघि सुन्तलाको विरुवाको तथ्याङ्क र अवस्थाका बारेमा अनुसन्धान गरेको छ । राष्ट्रिय सुन्तलाजाचत अनुसन्धान कार्यक्रम अन्र्तगत नेपाल कृषि अनुसन्धान परिषद्का डा.उमेशकुमार आचार्यको टोलीले सुन्तलाको बोट र माटोको अध्ययन अनुसन्धान गरेको थियो । २४ वटा सुन्तला विरुवाको जातीय परिक्षण गरेको उक्त टोलीले शंखु र शारदा बतासेमा सुन्तलाका विरुवाहरु सुक्दै जानुमा खाद्य तत्व कम भएको निश्कर्ष निकालेको थियो । ‘एक वर्ष देखि दश वर्ष अवधी माथीका सुन्तलाका विरुवाहरुमा आवश्यक पर्ने खाद्य तत्वको प्रतिवेदन अध्ययन गरी नगरपालिकालाई उपलब्ध गराएको थियो’–धुलिखेल नगरपालिका कृषि शाखा प्रमुख मन्दिलकृष्ण श्रेष्ठले भन्नुभयो–‘कृषकहरुले प्रतिवेदनमा उल्लेख भए अनुसारको खाद्य तत्व अपुग भएको जानकारी गराउँदा समेत वास्ता गर्नु भएन । बरु उल्टै सुन्तलाको बगैचा भित्र लहरे बाली लगाउँदै ट्रयाक्टर जोत्न थाल्नु भयो । जसका कारण जरा खल्बलिने र अन्य जातका तरकारी बालीले सुन्तलाको बोटमा किरा लागेर मर्न थालेको छ ।’
प्राविधिक मन्दिलकृष्ण श्रेष्ठका अनुसार सुन्तला बगैचा भित्र कोसे बाली बाहेक अन्य खेति गर्नु हुँदैन । कोसेबालीमा केराउ, भटमास जस्ता कोसेबाली लगाउँदा हुने भए पनि अदुवा, मकै, सिमी, बोडी, आलु लगाउँदा सुन्तलाको विरुवालाई क्षति पुग्ने श्रेष्ठले बताउनु भयो । ‘मकै, आलु, अदुवा जस्ता खेती सुन्तलाको बगैचा भित्र लगाउन मिल्दैन’–प्राविधिक अधिकृत मन्दिलकृष्ण श्रेष्ठले भन्नुभयो–‘खेति गर्दा बगैचा भित्र ट्रयाक्टर लगाउन थाले पछि जरा र रुख दुबैमा क्षति पुग्न गई सुन्तलाको बगैचा नस्ट हुन थाल्यो ।’ सुन्तलाको एक वर्षको बोटलाई १० केजी प्राङ्गारीक मल, ८८ ग्राम युरिया मल, ५२ ग्राम डिएपी मल, ५८ ग्राम पोटास मल हरेक वर्षको दुई पटक आवश्यक पर्छ । सुन्तलाको बोटको उमेर अनुसार खाद्य तत्व फरक फरक हिसावले उपलब्ध गराउनु पर्ने भए पनि कृषकहरुले त्यसो नगरेका कारण सुन्तला बगैचा उजाड बन्दै गएको मन्दिलकृष्ण श्रेष्ठले बताउनु भयो । नगरपालिकाले माटो परिक्षण, तालिम तथा सचेतनामुलक अभियान संचालन गरेको भए पनि कृषकहरु सन्तुष्ट छैनन ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शंखु, शारदा बतासे क्षेत्रको सुन्तलामा देखिएको समस्याको समाधानका लागि पहिचान गरी अनुसन्धान गरिएको बताउनु भयो । सुन्तलालाई आवश्यक पर्ने खाद्य तत्वको अभाव देखिएकाले कृषकहरुलाई सचेत गराउने, नयाँ विरुवा थप्दै पुराना विरुवालाई विस्थापन गर्ने अभियान संचालन गर्ने र त्यसका लागि नगरपालिकाको कृषि शाखाबाट आवश्यक कार्य भईरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । जिल्लाका अन्य क्षेत्रमा पनि एकै खालको समस्या भएकाले कृषि ज्ञान केन्द्र मार्फत सुन्तला बगैचा जोगाउने अभियान संचालन गर्न स्थाानीय कृषकहरुले अनुरोध गरेका छन् ।









