2026 May 03/ 12:08: 53am

    पनौती/पनौती वडा नम्वर ७ का वडा सदस्य एवं समाजसेवी पुरुषोतम कर्माचार्यले पनौतीमा लाग्ने माधवनारायण जात्रामा सहभागी भजन समहुका ब्यक्तिहरु तथा पनौतीका विभिन्न टोलका भजन समुहलाई न्यानो ज्याकेट र टोपी वितरण गर्नु भएको छ । 
    पनौतीको त्रिवेणी धाम र काँठु गणेशमा नित्य भजन हुने गरेको छ । त्यो बाहेक कार्यविनायक, सुर्यविनायक, जलविनायकमा चर्तुमासा तथा माधवनारायण भजन हुने गरेको छ । यो वर्ष ऐतिहासिक १२ वर्ष मकर मेला समेत भएकाले माधव नारायण जात्रा तथा भजनका लागि स्थानीय तहबाट गरिने ब्यवस्थापनमा थप सहयोग पुगोस अथार्त भजन समुहमा सहभागी जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई न्यानो प्रदान गर्ने उदेश्यले ज्याकेट र टोपी उपलब्ध गराईएको समाजसेवी पुरुषोत्तम कर्माचार्यले बताउनु भयो । 
    पनौतीको काँठु गणेशमा दशैको घटस्थापना देखि दशमीसम्म नियमित नवरात्रीको पुजा गरिदै आएको छ । सांस्कृतिक शहरका रुपमा चिनिएको पनौती धार्मिक आस्थाको केन्द्र पनि हो । विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको पनौतीमा ब्रम्हायणी, राधाकृष्ण, भैरव, त्रिवेणी धाम लगायतका संरक्षण र संम्वद्र्धन र प्रचार प्रसारका लागि कार्य गरिरहेको भजन समुहका पृथ्वीनारायण सोनामले बताउनु भयो । ‘नित्य भजन तथा चर्तुमासा भजन, माधवनारायण भजनका लागि पुस्तान्तरण हुँदैछ’–सयोजक पृथ्वीनारायण सोनामले भन्नुभयो–‘केहि बालबालिकाहरु अध्ययन गर्न जाने र केहि बालबालिकाहरु काममा जाने भएकाले भजन किर्तन र बाद्यबाद्यनका सामाग्रीहरुका बारेमा जानकारी गराउने अवसर हुन छाड्यो । यसले नयाँ पुस्तामा भजन प्रतिको मोह जगाउन सकिएको छैन ।’ भजनका लागि आवश्यक पर्ने बाद्यबाधन, शंखु फुक्ने कार्य तथा अन्य विविध कार्यमा बालबालिकाहरुको नियमितता नहुँदा नयाँ पुस्ताले भजनलाई निरन्तरता दिने कुरामा शंका रहेको उहाँले बताउनु भयो । 
    पनौती नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले पनौती ७ मा रहेका धार्मिक स्थलहरुको संरक्षणसँगै पुनर्निर्माण र मकर मेलाको ब्यवस्थापनमा द्रुत गतिमा भएको कामलाई अझै प्रभावकारी बनाउन कृयाशिल रहेको बताउनु भयो । हरेक कार्य समयमा नै गर्न नसक्दा तयारी फितलो जस्तो देखिने अध्यक्ष नास्नानीले बताउनु भयो । पनौतीका विभिन्न टोलमा हुने भजन समुहलाई वडाको तर्फबाट आवश्यक सहयोग गर्ने अध्यक्ष नास्नानीले बताउनु भयो । न्यानो ज्याकेट तथा टोपी वितरण कार्यक्रममा पनौती नगरपालिकाद्वारा गठित पनौती जात्रा ब्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले पनौती नगरपालिकाले समग्र वडामा हुने जात्रा तथा पर्व ब्यवस्थापनसँगै लोपोन्मुख बाजा तथा संस्कृतिको संरक्षण शुरु गरेको बताउनु भयो । लोपोन्मुख बाँसुरी बाजा, धिमे बाजा तथा अन्य सस्कृति र मन्दिरहरुको संरक्षणका लागि समितिले योजना तयार गरेरै कार्य गरिरहेको अध्यक्ष कर्माचार्यले बताउनु भयो । 
    कार्यक्रममा जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने बताउनु भयो । ब्यक्ति एक्लैले सबै थोक गर्न सम्भव नभएको बताउँदै तिमल्सिनाले सामाजिक कार्य स्वरुप कर्माचार्यले शुरु गर्नु भएको सामाजिक कार्यले युवा पुस्तामा जागरण ल्याउने बताउनु भयो । कार्यक्रममा अभियान्ता शिवप्रसाद हुमागाई, भजन समुहका सदस्यहरुले वडा सदस्य एवं समाजसेवी पुरुषोतम कर्माचार्यले गरेको सामाजीक कार्यको प्रशंशा गर्नु भएको थियो । यस अघि कर्माचार्यले गर्भवती महिलाहरुका लागि अण्डा वितरण गर्नु भएको थियो भने कोभिड लगायतका विपदमा नागरिकहरुलाई विभिन्न खालका सहयोग उपलब्ध गराउनु भएको थियो । माधव नारायण भजन समुहमा आबद्ध ५० भन्दा धेरै ब्यक्तिहरुले ज्याकेट र टोपी प्राप्त गरेका छन् ।