धुलिखेल/भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको आयोजनामा धुलिखेलमा कृत्रिम गर्भाधानकर्ताहरुसँग कृत्रिम गर्भाधान दर सुधार सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेटिरिनरी अस्पतालका प्रमुख डा. मोगलप्रसाद शाहको अध्यक्षता रहेको थियो ।
कार्यक्रमा बोल्दै बागमती प्रदेश सरकारका मन्त्री हुमागाईले सरकारले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बैदेशिक रोजगारीमा जानेहरुको संख्या कम गर्ने बताउनु भयो । यस अघिको सरकारले शुरु गरेको कृषकहरुलाई दुघमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रम संचालनका लागि गृहकार्य भईरहेको बताउनु भयो । कार्यक्रममा भेटिरिनरी अस्पतालले अघिल्लो आर्थिक वर्षमा गरेको प्रगति तथा चालु वर्षका कार्यक्रमहरुका बारेमा डा. मोगलप्रसाद शाहले जानकारी गराउनु भएको थियो भने कृषि ज्ञान केन्द्रको प्रगति र आगामी कार्यक्रमका बारेमा कृषि ज्ञान केन्द्रका प्रमुख तेजेन्द्र दवाडीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा १३ वटा पालिकामा कार्यरत कृत्रिम गर्भाधानकर्ताहरुको सहभागिता रहेको थियो । पशु विकास अधिकृत राजकुमार हुमागाईको संचालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल ब्यवसायिक किसान महासंघका कोषाध्यक्ष दिपक गौतम, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडाल, पशु चिकित्सक डा. नितेश कार्की लगायतले कृत्रिम गर्भाधानका कारण पशुपालनमा सहज र दुग्ध उत्पादन बृद्धी भएको बताएका थिए । सोहि अवसरमा दुबै कार्यालयले मन्त्री हुमागाईलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।









