पनौती/पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठको ४ जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको हो ।
उक्त परिवारलाई नगर प्रमुख भिम न्यौपाने र उप–प्रमुख गिता बञ्जाराले संयुक्त रुपमा स्वास्थ्य बीमा परिचयपत्र हस्तान्तरण गरेका थिए । यससँगै अब श्रेष्ठ परिवारले १ लाख बराबरको उपचार निःशुल्क प्राप्त गर्नेछ । आर्थिक अभावकै कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताए । बीमा कार्ड लिँदै रामकृष्णका जेठा छोरा कपिलले यसअघि परिवारमा कोहि बिरामी हुँदा पैसाका लागि आफन्त र सहकारीको खोजीमा धेरै भौतारीनुपरेको गुनासो गरेका छन् । नगरपालिकाले आफुहरुलाई पनि सम्झेर कार्यक्रम सुरु गरेकोमा उनले खुसी व्यक्त गरे । पनौती नगरपालिकाले वडा समितिको सिफारिस अनुसार विपन्न दलित, जनजाती, अपांगता भएका व्यक्ति र एकल परिवारको निःशुल्क बीमा गर्ने योजना बनाएको छ ।
जसअन्तर्गत नगरपालिकाका ६ सय परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिएका छन ।
नागरिकका लागि पहिलो सेवा लिने स्थान धुलिखेल अस्पताल र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा तोकिएको छ । पनौती नगरपालिका वडा नम्बर ५ मा ५६ परिवारको निःशुल्क बीमा गर्ने सुब्बागाउँ स्वास्थ्य चौकीका इन्चार्ज विनोद प्रसाद कुँइकेलले बताए । स्वास्थ्य बीमाप्रति चासो राख्नेहरु पनि बढ्दै गएको दर्ता सहयोगी संगिता गिरीको भनाई छ । सरकारले ७० वर्षमाथीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिरहेको । यस्तै ५ जनासम्मको परिवारले ३५ सय रुपैयाँ शुल्क तिरेर १ लाख बराबरको बीमा गर्न सकिन्छ भने त्यसभन्दा माथी प्रतिव्यक्ति ७ सय रुपैयाँ शुल्क थपिने छ । पछिल्लो समय बीमा प्रति आकर्षण बढ्दै गएको छ । पनौती नगरपालिकाले सुरु गरेको निःशुल्क सवास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको अर्को महत्वपुर्ण कार्यक्रम मानिएको ।
कार्यक्रममा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, स्वास्थ्य शाखाका अनिलराज ढुंगेल, कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।









