नमोबुद्ध/नमोबुद्ध नगरपालिकाले एक बर्षको अवधीमा गरेका समग्र गतिविधिहरुका बारेमा बार्षिक समिक्षा गरेको छ ।
नगरपालिकाले ६ करोड रुपैयाँ राजस्व संकलनको अनुमान गरेकोमा ४ करोड १४ लाख २६ हजार ४ सय ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । कोभिड १९ का कारण राजस्व छुट दिनुपरेको लगायतका कारण अनुमान भन्दा कम राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए । गत आर्थिक बर्षमा नमोबुद्ध नगरपालिकाको न्यायिक समितिमा १३ वटा उजुरी परेकोमा ९ वटाको फैसला भएको छ भने ५ वटामा मिलापत्र भएको छ । यस्तै हालसम्म ६८ वटा कानुन निर्माण भएको जानकारी कार्यक्रममा दिइएको छ । नगरपालिकाले गत आर्थिक बर्षको उपलव्धीको रुपमा कोभिड १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गर्नुलाई लिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको क्रममा आइसोलेसन स्थापना गरी १ सय ७८ जनाको उपचार गरिएको थियो भने एक बर्षमा ७ सय १३ जनाको स्वाब संकलन गरी पठाइएको र ९ सय २० जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
गत आर्थिक बर्षमै मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको, दाप्चा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको, सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार र औलोको परिक्षण सुरु गरिएको, महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । यस्तै गत आर्थिक बर्षमै ४ हजार मिटर पक्की ड्रेन निर्माण गरिएको, ४ वटा कल्भर्ट निर्माण गरिएको७ हजार मिटर ग्रावेल गरिएको छ भने ६ सय मिटर सडक कालोपत्रे गरिएको छ । नगरपालिकाको बार्षिक समीक्षा कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु कार्यकालको अन्तिम बर्षमा आइपुगेको र जनताको अपेक्षाअनुसार धेरै हदसम्म पूर्वाधारको विकास र चेतनाको विकासका काम गरेको बताए । आफूहरुको कामको समीक्षा नगरबासीबाटै हुने भन्दै उनले नगरको विकासको जग बसालिएको र आगामी दिनमा यसले समृद्ध नगरको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नगरपालिकाले ५ बर्षे, १० बर्षे, १५ बर्षे रणनीतिक योजना निर्माण गर्दै समृद्ध नगरको अभियानलाई अघि बढाइरहेको बताए ।
उपप्रमुख रामदेवी तामाङले भौतिक पूर्वाधारको विकासलाई विशेष जोड दिँदै वडा कार्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजनाका काम तीब्ररुपमा गरिरहेको बताइन् । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले नेकपा एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्ण खनाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष पुस्कर तिमल्सिना, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष नवराज अधिकारीले नगरपालिकाले गरेका कामका विषयमा आफ्ना धारणा र सुझाव पेश गरेका थिए । कार्यक्रम प्रशासकीय अधिकृत विनोद रसाइलीले सञ्चालन गरेका थिए । आर्थिक बर्ष २०७७÷७८ मा तय भएका ५ सय ९९ वटा योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० अर्थात ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । बिहीबार गत आर्थिक बर्ष २०७७÷७८ को बार्षिक समीक्षा गर्दै नगरपालिकाले उक्त आर्थिक बर्षमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ ।
महिला सहकारीलाई सम्मान
लैंगिक हिंसाबाट पीडितहरुका लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्ने संस्थालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन शुक्रबार आयोजित एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिका वडा नं. ७ मा रहेको खनालथोक महिला बहुउद्देश्यीय सहकारी संस्थालाई नगरपालिकाले सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले संस्थाकी अध्यक्ष देवकी खनाललाई सम्मानपत्र प्रदान गरेका थिए । उक्त संस्थाले आर्थिक बर्ष २०६७÷६८ देखि नै लैंगिक हिंसाबाट प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्दै हिंसाबाट प्रभावितहरुको संरक्षण र व्यवस्थापन गर्दै आइरहेको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेलले लैंगिक हिंसा अन्त्यको सुरुवात घरबाटै गर्नुपर्ने बताइन् । अधिकार प्राप्तिका लागि महिलाहरु आफैं अघि सर्नुपर्ने बताउँदै भुर्तेलले समाजमा अझै पनि शारीरिक र मानसिक हिंसाबाट पीडित महिलाको संख्या धेरै रहेको बताइन् । शारीरिक हिंसाभन्दा मानसिक हिंसा झनै डरलाग्दो हुने भन्दै उनले सबै प्रकारका हिंसा अन्त्य हुनुपर्नेमा जोड दिइन् । छोरी मान्छेलाई शिक्षादीक्षा दिएर सक्षम बनाउन सके समाज आफैं परिवर्तन हुँदै जाने भुर्तेलको भनाई थियो ।









