2026 May 02/ 10:54: 01pm

अध्यक्षमा रामचन्द्र थापा निर्वाचित 
    बनेपा/नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको १३ औ जिल्ला अधिबेशन बनेपामा सम्पन्न भएको छ । नेतृत्वका लागि शिक्षकहरु बीच निर्वाचन भएको छ । निर्वाचनबाट रामचन्द्र थापा अध्यक्षमा निर्वाचित हुनु भएको छ । 
    कार्य समितिको महिला उपाध्यक्षमा लक्ष्मी खनाल अधिकारी, उपाध्यक्ष शिबकुमार पौडेल, सचिव भिमसेन हुमागाई, सह सचिव महिला विद्यालक्ष्मी देउजा, कोषाध्यक्ष योगेन्द्रप्रसाद बडाल, सह कोषाध्यक्ष महिला दीपेश्वार दाहाल निर्वाचित हुनु भएको छ । सदस्य खुल्ला तर्फ बनेपाबाट माधव लामिछाने र निरा भट्टराई, धुलिखेलबाट टीकादत्त गौतम र निरन्जन गेलाल, पनौतीबाट कमल केसी र चन्द्रप्रसाद तिमल्सिना, पाँचखालबाट विभिषण मैनाली, नमोबुद्धबाट गुणराज खुलाल, मण्डनबाट माधव नेपाल र बेदप्रसाद खतिवडा, तेमालबाट तारानाथ दुलाल, चौरीदेउरालीबाट जयभद्र गौतम, रोशीबाट पदमबहादुर खुलाल, बेथान्चोकबाट रामचन्द्र तिमल्सिना, भुम्लुबाट अशोकचन्द्र झा, खानीखोलाबाट कल्पना श्रेष्ठ, महाभारतबाट सुनिलकुमार सारु निर्वाचित हुनु भएको छ । सदस्य महिला सुनिता तिमल्सिना, गायत्री तिमल्सिना, सुनिता दोङ्ग, दुर्गा उप्रेती र सुविधा त्रिपाठी निर्वाचित हुनु भएको छ । त्यस्तै समावेशी खुल्ला मनोहर श्रेष्ठ, महिला मीना श्रेष्ठ, संस्थागत विद्यालयबाट शिवप्रसाद न्यौपाने र माधव अधिकारी निर्वाचित हुनु भएको छ । महाधिबेशन प्रतिनिधि महिला सुभद्रा अधिकारी, खुल्ला तर्फ श्यामप्रसाद पाण्डेय, चेतप्रसाद शर्मा, बाबुकाजी पराजुली र देशबहादुर वाईवा निर्विरोध निर्वाचित हुनु भएको छ । लेखा परीक्षण समितिमा संयोजक रेणुकान्त भट्टराई संयोजक र देविप्रसाद गौतम सदस्यमा निर्वाचित हुनु भएको छ । 
अधिबेशनको उद्घाटन पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य गोकुल बास्कोटाले गर्नु भएको थियो । अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री बास्कोटाले चेतना भएका शिक्षकहरुले समाज रुपान्तरणका लागि योगदान पु¥याएको बताउनु भयो । पञ्चायतकालमा शिक्षकहरुले बहुदल ल्याउन गरेको योगदानको स्मरण गर्दै प्रजातन्त्र प्राप्ती पस्चात शिक्षकहरुको पेशालाई ब्यवसायीकरण भन्दा धेरै राजनीतिकरण गरिएको बताउनु भयो । ‘लक्ष्य प्राप्तीका लागि चेतना बोकेका मान्छेहरुको आवश्यक छ’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘शिक्षक संगठनले लक्ष्य प्राप्तीका लागि शुरु गरेको अभियानमा नेकपा एमालेको साथ र सहयोग छ ।’ शिक्षकहरुका हक र अधिकार तथा राष्ट्रियताको रक्षा, महिला अधिकार, पछाडी परेका समुदायको हक हितका लागि नेकपा एमालेले गरेको प्रतिवद्धता सरकारमा रहँदा पुरा गरेको बास्कोटाले बताउनु भयो । 
    शिक्षक संगठनका केन्द्रिय महासचिव हंसबहादुर शाहीले २०२८ सालमा जारी गरेको शिक्षा ऐनले बहुदल र गणतन्त्र प्राप्ती भएको यतिका वर्षसम्म कार्य गरिरहेकाले त्यसको शशोधन तथा नयाँ ऐन निर्माणका लागि गरिएको प्रयास सार्थक नभएको बताउनु भयो । शिक्षकहरुलाई गरिएको विभेद तथा छुट्टाईएको बर्गलाई हटाउँदै एकै प्रकारका शिक्षकहरु तयार गर्न ऐन जारी हुनु पर्ने भए पनि हुन नसकेको उहाँले बताउनु भयो । नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शिक्षकहरुले राजनीतिक जिम्मेवारी भन्दा धेरै शैक्षिक सुधारमा जोड दिनु पर्ने बताउनु भयो । ‘संविधान बमोजिम माध्यमिक तहसम्मको शिक्षाको अधिकार र शिक्षकहरुको ब्यवस्थापन स्थानीय तहको हो’–अध्यक्ष ब्याञ्जुले भन्नुभयो–‘स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गर्दा शिक्षामा गर्न सकिने सुधार स्थानीय तहले गर्न सकेका छैनन ।’ 
    अधिबेशनमा संगठनका पूर्व केन्द्रिय अध्यक्ष माधव अधिकारी, बागमती प्रदेश अध्यक्ष निरबहादुर कार्की, उपाध्यक्ष सुभद्रा अधिकारी, शिक्षक महासंघ काभ्रेका सचिव बासु थापा, विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । १ हजार ५ सय शिक्षकहरुले शिक्षकहरुको हक हितका लागि नेतृत्व गर्दै शिक्षामा भएका समस्या समाधानका लागि तीन तहकै सरकारसँग समन्वय र सहकार्य गर्न सहजिकरण गर्नु पर्ने बताएका थिए । नेतृत्वका लागि बनेपामा शिक्षकहरुको मतदान भईरहेको छ । सचिव रामचन्द्र थापाको संचालनमा सम्पन्न कार्यक्रम अध्यक्ष श्याम पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष चेतप्रसाद शर्माले राख्नु भएको थियो ।