2026 May 02/ 04:47: 47pm

चौतारा/अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा भदौ १० गतेदेखि आयोजना भईरहेको शहिद स्मारक सि डिभिजन लिग फुटबल छनौट प्रतियोगिता २०७८ मा सिन्धुपाल्चोकको चौतारामा स्थापित चौतारा स्पोर्टिङ क्लव सहभागी हुने भएको छ । 
चौतारा स्पोर्टिङ क्लवले सिन्धुपाल्चोक जिल्लाकै खेलकुद इतिहासमा सिन्धुपाल्चोक जिल्लाबाट प्रथम पटक शहिद स्मारक सि डिभिजन लिग फुटबल छनौट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाई जिल्लाको खेलकुद गतिविधिलाई कृयाशिल गराई युवा खेलाडीहरुलाई थप उत्साह प्रदान गरी नयाँ नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउँने उद्देश्यका साथ प्रतियोगितामा सहभागी हुन लागेको क्लवका टिम व्यवस्थापक तथा सचिव राकेश रानाले बताए । उनका अनुसार जम्मा ७८ वटा टिम सहभागी प्रतियोगितामा समूह ए देखि समूह जेड सम्म २६ वटा समूहमा विभाजन गरिएको छ जहाँ प्रत्येक समूहमा ३÷३ टिम रहेका छन् । समूह एक्समा रहेको चौतारा स्पोर्टिङ क्लव आफ्नो पहिलो खेल मकवानपुरको राप्ती रिभर युथ क्लव सँग असोज ४ गते बिहान ९ बजे खेल्ने छ भने दोश्रो खेल असोज ८ गते बिहान ९ बजे बाजुराको रानीबन स्पोर्टस क्लवसँग खेल्नेछ । खेल एन्फा कम्पेक्स, सातदोवाटोमा हुनेछ । लिग कम नकआउट अनुसार संचालन गरिने प्रतियोगितामा प्रत्येक समूहबाट समूह बिजेता दोश्रो चरण (नकआउट चरण) मा प्रवेश गर्नेछन् । नकआउट चरणमा प्रवेश गर्ने २६ टिमहरुलाई ३ समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहबाट प्रथम हुने ३ टिम सि डिभिजनमा उक्लने छन् ।  
समग्र खेलकुद क्षेत्रका विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सिन्धुपाल्चोक चौताराका केही जागरुक युवाहरु मिलेर वि.सं. २०७० मा क्लवको स्थापना गरेको क्लवका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए । स्थापना पश्चात क्लवले जिल्ला भित्र तथा जिल्ला बाहिर आयोजित विभिन्न फुटबल प्रतियोगितामा सहभागीता जनाउँदै आएको उनले बताए । चौतारा स्पोर्टिङ क्लव सिन्धुपाल्चोक जिल्ला लिग २०७४ को बिजेता समेत रहिसकेको क्लव हो । 
क्लवका कोषाध्यक्ष राजेश शाक्यका अनुसार खेलाडीहरुको नियमित अभ्यास, खानपान र बसोबासको व्यवस्थापन, अभ्यासको लागि यातायातको व्यवस्थापन, जर्सी लगायतका खेलकुद सामाग्री लगायतका कृयाकलापहरुको लागि क्लवलाई करिव १० लाख बराबरको रकम आवश्यक रहेको छ । हाल क्लवले देश विदेशमा रहेका स्थानिय व्यक्तिहरु, पूर्व खेलाडीहरु, खेलप्रेमीहरु, व्यवसायीहरु, विभिन्न पेशामा संलग्न व्यक्तिहरु, स्थानिय क्लव तथा समूहहरु, विभिन्न पेशागत संघ संगठनहरुबाट सहयोग प्राप्त गरिरहेको उनले बताए । साथै चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय, विभिन्न वडा कार्यालयहरु लगायतका स्थानिय निकायहरुबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको र हालसम्म करिब ५ लाख बराबरको सहयोग प्राप्त भईसकेको र अझै समेत उनले जानकारी गराए । 
क्लवका कोच विनय थापाका अनुसार खेलाडीहरुले कडा मिहेनत साथ अभ्यास गरिरहेको र क्लवको उद्देश्य प्रतियोगितामा सहभागिता जनाउने मात्र नभई राम्रो नतिजा निकाल्ने रहेको छ ।