2026 May 02/ 04:47: 45pm

    नमोबुद्ध/नमोबुद्ध नगरपालिकाको भकुण्डे उपत्यकामा ३० करोड लागतमा वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाको वडा नं. ६, ७ ८ सहित भकुण्डे उपत्यकामा सहजरुपमा खानेपानीको सुविधा पु¥याउनका लागि भकुण्डेबेशी, खनालथोक, खाक्सी, दाप्चाक्षेत्र वृहत खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो ।
    वडा नं. ६ स्थित रोशी खोलाबाट लिफ्ट गरी १६ सय भन्दा बढी घरधुरीका लागि खानेपानीको व्यवस्थापन गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २९ करोड ७८ लाख २० हजार ३ सय ६८ रुपैयाँ बराबरको लागत अनुमान गरेको छ । नमोबुद्धका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरबको आयोजना भएको र यसले एकघर एकधाराको अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । तिमल्सिनाले आयोजना सञ्चालनका लागि मुलको व्यवस्थापन भइसकेको र उपभोक्ता समिति पनि गठन भइसकेको सन्दर्भमा अब आयोजनाको काम तीब्ररुपमा अघि बढ्ने बताए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले यो आयोजना सम्पन्न भएपछि दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान हुने बताए । 
    आयोजना सञ्चालन बारे नगरपालिका र उपभोक्ता समितिबीच छलफल भएको थियो । छलफलले आयोजना कार्यान्वयनको प्रक्रियालाई तत्कालै अघि बढाउने निर्णय गरेको छ । आयोजनाको निर्माण कार्य सुरु भएको तीन बर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएदेखि नै चुनावी प्रतिवद्धताअनुसार एक घर एक धाराको अभियान सुरु गरेको थियो । अभियानलाई सफल बनाउन नगरभित्र साना ठूला खानेपानी आयोजनाहरु सञ्चालन भइरहेका छन् ।