धुलिखेल/सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलेको राजनीतिक घट्नाक्रमलाई हेरेर निराश नहुन आम नागरिकलाई अपिल गर्नुभएको छ । बुधबारबाट धुलिखेलको मिलन ज्योती होटलमा सुरु भएको आदिवासी जनजाति चलचित्र महासंघको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले पछिल्लो राजनीतिक परिस्थितिबाट निराश नभई मुलुकको समृद्धिमा योगदान पुु¥याउने सबै लाग्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश दिने खालका चलचित्र निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । सबै भाषा, कला र संस्कृतिको संरक्षणमा चलचित्रले भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गैसस महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, चलचित्र निर्देशक नवीन सुब्बा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द खड्का, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष पेमा लामा, मगर चलचित्र संघका अध्यक्ष युवराज मास्के मगर लगायतले कार्यशाला गोष्ठी सफलताको कामना गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले गर्नुभएको थियो ।
‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिने कार्यशाला गोष्ठीमा १५ जनजाती संघका ३÷३ जना सहित ४५ जनाको सहभागिता रहेको आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष विकु थोकरले जानकारी दिनुभयो । उक्त गोष्ठीमा ३५ जिल्लाको सहभागिता रहेको छ ।









