2026 May 02/ 11:35: 47am

    बनेपा/नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले आयोजना गरेको उद्घोषण तालिमको समापन भएको छ । बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले तालिमको समापन गर्दै महिलाहरुको क्षमता विकास सँगै नेतृत्व विकासमा जोड दिनु भयो । 
    अध्यक्ष सुबासना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । २० जना महिलाहरुले तीन दिने उद्घोषणमा भाग लिएका थिए । तालिम पश्चात सहभागिहरु कल्पना राजभण्डारी र सोविता थापा मगरले मान्छेहरुको अगाडी सभामा उभिएर बोल्न र कुरा राख्न सहज भएको प्रतिक्रिया दिनु भयो । प्रशिक्षक दिपक लामिछानेले हरेक पेशालाई निरन्तरता दिन सकिएको अवस्थामा मात्रै त्यसले ब्यवसायीकता प्राप्त गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार, नेपाल घरेलु तथा साना उद्योग महासंघका बागमती प्रदेश सदस्य सिद्धिबहादुर कर्माचार्य, महिला उद्यमी मञ्चकी अध्यक्ष रामेश्वरी मानन्धर, मनि सुब्बा, निरु बैदार लगायतले उद्घोषण तालिमको महत्वका बारेमा मन्तब्य राखेका थिए । 
घरेलु तथा साना उद्योग महासंघले यस अघि विभिन्न तालिम तथा सिप प्रशिक्षण गराउँदै आएको छ ।