जुली खड्का/पनौती
काभ्रेको पनौती स्थित इन्द्रेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको अवसर पारेर १४० जना ब्राह्माणद्धारा पाठ गरी महारुद्री लगाइएको छ । पनौतीवासीको सुःख, शान्ति र समृद्धिको लागि महारुद्री आयोजना गरिएको भागवत धर्म संरक्षण समितिका अध्यक्ष एवं युवा पण्डित अच्युतप्रसाद भट्टराइले जानकारी दिए । स्वयं इन्द्रले नै इन्द्रेश्वर मन्दिरको स्थापना गरेकाले पनि यसको धार्मिक महत्व अझै बढी रहेको उनले बताएका छन् । इन्द्रेश्वर मन्दिरसँग इन्द्र, गौतम ऋषि र गौतम ऋषि पत्नी अहिल्याको कथा जोडिएको छ । अहिल्याको रुपदेखेपछि इन्द्र मोहित भए । गौतम ऋषि स्नान गर्न गएको मौका छोपी इन्द्रले ऋषिको रुप धारण गरी अहिल्याको पातिव्रता धर्म भंग गरिदिएका थिए । उक्त कुरा थाहा पाएपछि गौतम ऋषिले अहिल्यालाई जड बन्नु परोस् भनी श्राप दिए उनी ढुंगा बनिन्, इन्द्रलाई शरिर भरी योनि नै योनि होस भनेर श्राप दिए । शरीरभरी योनी नै योनी भएपछि इन्द्रले ब्रम्हालाई यसको समाधान के छ भनेर सोधेका थिए । ब्रम्हाले श्रीमती सची सहित सची तिर्थ त्रिवेणीधाममा गएर आराधना गर्न भने । १२ वर्षपछि भगवान शिव प्रसन्न भई शिवलिंग उत्पन्न भएको धार्मिक कथन छ । इन्द्रले इन्द्रेश्वरमा आएर पुजाआजा गरेपछि एउटा मात्रै योनि रहेर अरु सबै हटेको किंवदन्ती छ । पनौतीमा १२ वर्षमा एकपटक मकर मेला लाग्दछ । भगवान इन्द्रको त्यति ठुलो पाप स्नान गरेपछि पखालिएको थियो भने अरु सबैको पाप पखालिएर सुख मिल्छ भन्ने विश्वासका साथ यहाँ स्नान गर्न देशभरबाट मानिसहरु आउने गर्दछन् । आगामी वर्ष मकर मेला परेको छ । पनौती नगरपालिका र स्थानीय र विभिन्न संघसस्थाहरुले मकर मेलाको तयारी सुरु गरिसकेका छन् । प्रशिक्षार्थी पत्रकार









