बनेपा/काभ्रे बहिरा विकास संघको २३ औ बार्षिक साधारण सभा तथा काभ्रे बहिरा विद्यालयको २५ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष विरबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल लगायतले बहिरा विद्यालय र विद्यार्थीहरुका लागि सबै पक्षले समन्वय गर्ने बताउनु भयो ।
सोहि अवसरमा विद्यालयले आयोजना गरेको सप्ताहब्यापी खेलकुद कार्यक्रमका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष गु्रवेन तौजलेले आफ्ना स्व. पिता धनबहादुर तौजलेको सम्झनामा हरेक वर्ष एसईई परिक्षामा उत्कृष्ट हुने छात्र र छात्रालाई नगद ५÷५ हजार दिने गरी १० हजार रकम यो वर्षका लागि हस्तान्तरण गर्नु भएको थियो । सहभागिहरुले बहिराहरुका थ्रुप्रै समस्याहरुलाई समाधान गर्ने गरी विद्यालयलाई सहयोग गर्न तत्पर रहेको बताउनु भएको थियो । बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख श्याम सिं धामी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, गैसस महासंघ काभ्रे शाखा अध्यक्ष टोमप्रसाद सापकोटा, राष्ट्रिय बहिरा महासंघका सत्यदेवी वाग्ले, कानुन ब्यवसायी जीवना बादे, महासंघकै अनिला मर्हजन, सपना मानन्धर, विद्यालयकी प्रिन्सिपल कृष्णप्यारी नकर्मी, काभ्रे बहिरा संघका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले सोहि अवसरमा सांकेतिक भाषाकै नृत्य प्रस्तुत गरेका थिए ।









