2025 February 10/ 03:23: 07am

                                    
ब्रोइलर कुखुराहरु प्रर्याप्त मात्रामा प्रोटिन भएका दानाहरु खाएर ४०—४५ दिन सम्ममा मानिसहरुका लागि मासु तथा मासु जन्य परिकार बन्नको लागि तयार गरिन्छन । पोषिलो दाना र ब्रोइलरको जात अनुसार वृद्धि विकास एकदम छिटो हुने भएकाले विभिन्न खाले समस्याहरु ब्रोइलर पालन व्यवसायमा देखिन सक्छन । विशेषगरि जाडो महिनामा देखिने समस्या मध्ये कुखुरामा पानी भरिने समस्याको बारेमा यहा चर्चा गर्न गइरहेका छौ ।
पानी भरिने समस्या
असाइटिस विशेष गरि उच्च उचाइ भएका ठाँउ, अक्सिजन मात्रा कमी भएका ठाँउहरुमा बढी देखिन्छ । हुर्कदै गरेको चल्लाहरुलाई खाएको दानाबाट पोषण तत्व लिनको लागि अक्सिजन धेरै मात्रामा जरुरी पर्छ । यसरी अक्सिजन शरीरमा बढी मात्रामा आवश्यक पर्दा फोक्सोले आफ्नो गति बढाउदै शरीरमा चाहिने अक्सिजनलाई मुटुको गति बढाएर शरीरको विभिन्न कोषमा पु¥याउन थाल्छ । यस्तो अवस्थामा मुटुको दाहिने तिरको माथिल्लो भाग जसलाई  राइट भेन्ट्रिकल भनिन्छ, जुन सामान्य अवस्थामा रहनुपर्नेमा मुटुको रक्त चापका कारणले आकार ठुलो हुदै जान्छ । यस्तो नकारात्मक चापका कारण शरीरका भित्री भागमा रहेका आन्द्रा तथा कलेजोको रक्त नलीबाट पानी बाहिर निस्कने क्रम बढ्दै जादा अन्तमा कुखुराको पेटमा धेरै पानी जम्छ, जसलाई पानी भरिने समस्या वा असाइटिस भनिन्छ ।
कुखुराको पेटमा पानी कसरी भरिन्छ ?
ब्रोइलर कुखुरा चाडो बढ्ने र छोटो समयमा धेरै तौल आउने भएकाले यिनीहरुलाई अक्सिजन धेरै मात्रामा चाहिन्छ । शरीरलाई आवश्यक मात्रामा अक्सिजन पु¥याउन मुटुबाट रगत फोक्सो तिर जाने क्रममा यदि खोरमा कुखुरालाई चाहिने भन्दा थोरै अक्सिजनकोे उपलब्धता भएमा मुटुमा रक्त चाप बढ्न जान्छ । कुखुराको फोक्सो  ढाडमा टासिने हुनाले प्रर्याप्त मात्रामा फुल्न सक्दैन । यसको मतलब मुटु बाट आएको रगतको नली मार्फत फोक्सो र मुटुमा चाप सिर्जना भई हर्ट फेलको सुरुवात हुन्छ ।  
अझ यदि खोरमा पिरो राग अर्थात एमोनिया ग्यास बढी छ भने यसले श्वास नली लगायत फोक्सोमा रगतका नली फुटाउछ र जसको असरबाट कुखुराले पर्याप्त मात्रामा अक्सिजन लिन सक्दैन ।
कुखुरालाई उच्च तापक्रमको घटबढ, खोरमा कुखुराको धनत्व बढी, भ्याक्सिनेसन, तर्सिने जस्ता तनावले पनि रक्त चाप बढाउन मद्दत गर्छन । 
ब्रुडिङ पछिको कुखुरालाई उपयुक्त तापक्रम २४ डिग्री सेल्सियस भएकाले जाडो महिनामा खोर भित्रको उपयुक्त तापक्रम कायम गर्न बेलुकी पख भुकारी बाल्दा उपयुक्त हुन्छ । यदि बाहिरी वातावरण चिसो भएमा कुखुराले शरीरको तातो कायम राख्न अक्सिजनको खपत बढी गर्छन ।
वातावरण चिसो भएमा रातो रगतका कोषहरु बढ्छन र रगत बाक्लिन्छ र अक्सिजन बिनाका रक्त कोषले (डिअक्सिहेमोग्लोबिन) गर्दा सिउर र शरीरका अन्य भागहरु निलो रंगमा परिणत हुन्छ ।
साराशंमा पानी भरिनुका अन्य कारणहरु ः

  •     किटाणुबाट निस्केका अन्तर विष 
  •     टक्सिन वा कुनै कारणले कलेजो विग्रिएको खण्डमा 
  •     उपयुक्त भेन्टिलेसन नभएर एमोनिया ग्यास बढी उत्सर्जन भएमा 
  •     सानो ठाउँमा चल्ला गुम्स्याएमा
  •     दानामा नुनको मात्रा बढी भएमा
  •     कुखुरामा तनाव सिर्जना भएमा
  •     समुन्द्री सतहबाट बढी उचाई भएको ठाउमा कुखुरा राखेमा
  •     कुखुरामा श्वास प्रश्वास सम्बन्धि रोग भएमा
  •     चल्लामा इ कोलाइको समस्या भएमा

रोकथाम र उपचार 

  •     समस्या आएपछि प्रभावकारी उपचार नभएका कारण समस्या आउन नदिनु नै बेश हुन्छ ।
  •     बाहिरी वातावरण जति चिसो भयो त्यही अनुपातमा कुखुरालाई अक्सिजन बढी चाहिने हुदा खोर न्यानो गर्न जरुरी छ । यदि तापक्रम १० डिग्री सेन्टिग्रेट मा भए कुखुरालाई अक्सिजन दोब्बर मात्रामा चाहिन्छ ।
  •     खोरको एमोनिया ग्यास बढी उत्सर्जन हुन नदिन खोर ओभानो राख्ने र यदि खोर हिलो भएमा सोत्तर फेर्ने, एमोनिया ग्यास उत्सर्जन गर्न नदिने औषिधिहरु खोरमा छर्कनु पर्छ ।
  •     कुखुरालाई दानाको खपत कम गराउने र बेलुकी पख प्रकाश ब्यवस्थापन गर्ने ।
  •     भिटामिन ए र मृगौलाको कार्य गति बढाउने खालको औषधि खुवाउने ।
  •     सल्फर भएका एमिनो एसिड प्रयोग नगर्ने ।
  •     पानीमा एसिडि फायरको प्रयोग गर्ने ।