2026 April 30/ 05:23: 34pm

    साविक शारदा बतासे पञ्चायत ३ (ख) हालको धुलिखेल नगरपालिका वडा नम्वर १० को कित्ता नम्वर १५ को वन क्षेत्र प्लटिङ्ग गरी विक्री गर्ने समुह विरुद्ध जिल्ला वन कार्यालयमा स्थानीयहरुले उजुरी दर्ता गराएका छन् । उजुरी उपर छानविन गरिरहेको वन कार्यालय काभ्रेले जानकारी दिएको छ ।
कित्ता नम्वर १५ सँगै जोडिएको कित्ता नम्वर १४ को दर्ता वदरका लागि स्थानीयहरुले न्यायिक समितिमा उजुरी दिएपछि मालपोत कार्यालय काभ्रेले धुलिखेल नगरपालिकाको पत्र अनुसार रोक्का राखि दिएको छ । कित्ता नम्वर १४ तत्कालिन वडा अध्यक्ष बलराम पराजुलीले विक्री गरेको २०–८–१–२ क्षेत्रफलको जमिन हालको वडा कार्यालयको सिफारिस विना २२ रोपनी २ आना ३ दाम गरिएको थियो । पञ्चायतमा वडा अध्यक्ष समेत रहेका बलराम पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली जिल्ला पुरानो झाँगाझोली वडा नम्वर ९ घर भएकी बविता खत्री, भोजपुर जिल्ला च्याँग्रे वडा नम्वर ६ घर भएकी झुमादेवी उप्रेती, काभ्रे धुलिखेल वडा नम्वर ८ साविक काभ्रे २ घर भएका विदुरबहादुर बस्नेत र धुलिखेल १२ शंखु घर भएका रविन्द्र अधिकारीका नाममा सगोलनामामा पास गरि दिएका थिए । लालपुर्जामा २०–८–१–२ क्षेत्रफलको जमिन वडा कार्यालयको सिफारिस बिना २२ रोपनी २ आना ३ दाम पास गरिएको छ । जग्गा किन्ने र वन अतिक्रमण गर्नेहरुलाई वन मुद्दा दर्ता गरी जग्गा दर्ता गर्ने पराजुलीलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको छ । जिल्ला वन कार्यालय काभ्रेले प्लटिङ्ग गरेको विषयमा समाचार सार्वजनिक भएपछि वन अधिकृत हेमबहादुर थापाको अध्यक्षतामा परशुराम थापा सदस्य रहेको अनुसन्धान समिति गठन गरेको थियो । स्थानीयहरुको उजुरी समेत आए पछि वनको अनुसन्धानलाई सहज भएको छ । वन प्लटिङ्ग गर्ने विरुद्ध वन ऐन विरुद्ध कारवाही हुनेछ । स्थानीयहरुले १ हजार भन्दा धेरै विरुवाहरु नष्ट गरेकाले १४ जनाले हस्ताक्षर गरी हदैसम्मको कारवाहीको माग गरिएको छ । कित्ता नम्वर १५ मा करिव ११ रोपनी जग्गा छ । कित्ता नम्वर १० पुरै वन क्षेत्र हो । वन क्षेत्रको जमिन प्लटिङ्ग गरेको देखिएको नापी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
    कित्ता नम्वर १४ दर्ता खारेजीका लागि स्थानीयहरुले प्रकृया शुरु गरे लगत्तै दर्ताको समयमै गुपचुप गरेको खुलासा भएको छ । २०४५ साल मंसिर २८ गते सुब्बा रहेका रामेन्द्र रानाभाट मालपोत कार्यालय काभ्रेमा सुब्बा थिए । उनै सुब्बाले जग्गा दर्ताका लागि टिप्पणी उठाए । उनले टिप्पणी उठाउँदा मालपोत कार्यालयका प्रमुख शंकरप्रसाद ढुंगाना थिए । ढुंगाना पुषदेखि सरुवा भए । उनै रामेन्द्र रानाभाट तीन महिनाका लागि कामु भए । कामु हुँदाका बखत उनी आफैले उठाएको टिप्पणीलाई विभागको राय नआई समितिको सिफारिस भन्दै जग्गा दर्ता गरि दिने निर्णय २०४५ फागुन २४ गते गरेका थिए । यो जग्गा कृष्णप्रसाद पराजुलीको प्रति नम्वरी हो भनी प्रमाणीत गर्ने पंचायत सदस्य एवं वडा अध्यक्ष बलराम पराजुली हुन् । बलराम पराजुलीका आफ्नै भाई कृष्णप्रसाद पराजुली हुन् । किसिम चाहार राखी पूर्वमा सिमाना, पश्चिममा वन क्षेत्र रहेको १० नम्वर कित्ता, उत्तरमा १३ नम्वर कित्ता र दक्षिणमा सिमाना कायम गरी उनै बलराम पराजुलीले प्रमाणित गरिदिएका छन् । उनै बलराम पराजुलीले आमा रेशमकुमारी पराजुलीका नाममा जग्गा दर्ता गर्न भाई कृष्णप्रसाद पराजुलीका नाममा भुलवश गएको भन्दै पत्र पठाएका छन् ।
    प्रधानपञ्च समेतले निवेदक रेशमकुमारी पराजुलीका नाममा जग्गा दर्ता गर्न सिफारिस गरेपछि निवेदकका नाममा दर्ता गरि दिनुपर्ने देखिएकाले समितिमा पेश गर्ने निर्णय भएको छ । समितिले उक्त जग्गा दर्ता गरिदिनु पर्ने भएकाले स्विकृतका लागि भुमिसुधार ब्यवस्था मन्त्रालय मालपोत विभागमा पठाउने निर्णय गरेको छ । २०४५ असार ३१ गते बसेको उक्त बैठकमा प्रधानपञ्च रामकृष्ण हुमागाई र मालपोत अधिकृत सहभागी छन् जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि अनुपस्थित छन् । समितिको निर्णय समितिको फाईल मालपोत कार्यालयले २०४५ साउन ६ गते भूमि सुधार तथा ब्यवस्था मन्त्रालय मालपोत विभागमा पठाएकाले राय पठाई दिन पत्र पठाएको छ । विभागले राय नदिई मालपोत कार्यालय काभ्रेले नापि कार्यालय काभ्रेलाई विरह खुलाई पठाईदिन अनुरोध गरेको छ । उक्त पत्रका आधारमा नापि कार्यालय काभ्रेले २०४५ साल असोज ४ गते भिर तर्फको चाहार देखिएको पत्र पठाएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धी जाँचबुझ आयोगका सदस्य सहितको टोलीले जग्गा दर्ता सम्वन्धीका सम्पुर्ण कागजातको फाईलको प्रतिलिपि लिएको छ । अनुसन्धानका लागि नापी र मालपोत कार्यालय दुबैमा रहेका फाईलहरु लिएको हो ।