२८ महिनामा ७ करोड ७६ लाख
सैन्य फर्मेसन र चन्दाको श्रेणी तोकियो
धुलिखेल/सरकारले गतिविधि माथी प्रतिवन्ध लगाएको नेकपा माओवादी विप्लव समुहले चन्दा अभियानलाई तिब्र बनाएको छ । विप्लब समुहको विद्यालय, जनप्रतिनिधि, उद्योगी र ब्यवसायी चन्दाका प्रमुख श्रोत हुन् ।
‘जनताले स्वतःस्र्फुत सहयोग गरेका हुन्’–विप्लब समुहका एक जिल्ला नेताले भने–‘सबै पक्षसँग चन्दाको सहयोग मागेका छौं ।’ केहि विद्यालयले जर्बजस्ति चन्दा बुझाएका छन् भने केहिले दिन अस्विकार गरेका छन् । केहि जनप्रतिनिधिले पनि चन्दा बुझाएका छन् । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पटकपटक चन्दा नदिन र अपराधिक गतिविधि संचालन गर्ने विप्लब समुहलाई सहयोग नगर्न आग्रह गर्दै आए पनि सरकारकै प्रतिनिधिहरुले डर र त्रासका कारण चन्दा बुझाएका छन् । प्रहरीले बरामद गरेको विप्लब माओवादीका नेताको डायरीमा २०७२ साल चैत्र महिना देखि २०७५ असार महिनासम्म ७ करोड ७६ लाख १४ हजार ४ सय ४४ आर्थिक संकलन गरेको तथ्याङ्क उल्लेख गरिएको छ । कूल संकलित रकम मध्येबाट ५ करोड ४१ लाख १८ लाख ४ सय ४४ खर्च गरेको तथ्य केन्द्रिय आर्थिक विभाग ईन्चार्ज खड्ग बहादुर विश्वकर्माको डायरीमा उल्लेख गरिएको प्रकाण्डको प्रतिवेदनबाट देखिएको छ । प्रहरीले जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा उक्त विवरण उल्लेख गरिएको छ ।
२०७३ चैत्र देखि २०७५ असार महिनासम्म प्राविधिक शिर्षक अन्तर्गत बिस्फोटक पदार्थ तथा हातहतियार खरीद र सो सम्बन्धी तालिमका लागि करीब ७८ लाख २४ हजार र पि एल ए जनसेवातर्फ करीब ४१ लाख ३९ हजार ६० गरी सैन्यतर्फ कुल १ करोड १९ लाख ६३ हजार ६० रुपैया खर्च भएको तथ्य फेला परेको छ । सोही प्रतिवेदन अनुसार नेकपा बिलप्वको निर्देशन बमोजिम भण्डाफोर गर्ने नीति अनुरुप संगठित रुपमा र योजनाबद्ध रुपमा संगठन बनाई विप्लव माओवादी कृयाशिल भएको छ । निरन्तरको कार्यकर्ता पक्राउ, पार्टी छाड्ने क्रमबाट पनि विप्लब माओवादीको एक समुह हतोत्साहि भएको देखिदैन । जगत भन्ने बाबुराम गजमेरको नेतृत्वमा २०७५ बैशाख १ गते भएको घटना सोहि आधारमा गरिएको प्रतिवेदनमा उल्लेख भएको प्रहरीले जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७४ साल मध्यराती काभ्रेको नमोबुद्ध न.पा. वडा नं. ६ डाँडापारी जाने बाटो स्थित नेपाली कांग्रेसका नेता कुन्साङ्ग लामाको क्रसरमा आगजनी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम विप्लब समुहका नेताहरुलाई संगठित अपराधमा मुद्दा दर्ता गरेको छ । २०७५ साल बैशाख ११ गते नेत्र बिक्रम चन्द (बिप्लव), खड्ग बहादुर बिश्वकर्म (प्रकाण्ड), धर्मेन्द्र बास्तोला (कन्चन), सन्तोष बुढामगर (बिषम), हेमन्त प्रकाश वली (सुदर्शन), उमा भुजेल (शिलु), अनिल शर्मा (बिरही), भरत बम (रणबिर), चन्द्रबहादुर चन्द (बिरजंग), मोहन कार्की (जीवन्त), कृष्ण धमला (गम्भिर), बाबुराम गजमेर (जगत), उदय बहादुर चलाउने (दिपक), बिजय भन्ने बसन्त श्रेष्ठ (प्रज्वलन), नारायण महर्जन (नारायण), टेक बहादुर के.सी. (आजाद), शरद रसाईली (प्रेरक), दिनेश सारु मगर, हुद्धबहादुर वाईवा (आकाश), रमेश प्रसाद बोलखे भन्ने गुणनाथ बोलखे, प्रताप तामाङ र रमेश नेपाली समेत २२ जनाको संलग्नतामा उक्त घटना घटाईएको प्रहरी दावी छ ।
कांग्रेस नेता कुन्साङ लामाले संचालन गर्दै आएको व्लुसाईन रोडा ढुंगा क्रसर उद्योगको आउने बाटोमा प्रेसर कुकर बम राखी आवागमनमा अवरोध पु¥याई उद्योगमा पेट्रोल छर्की आगो लगाई जेनेरेटर १, स्काभेटर २, जे.सी.बी.१, टिपर ५ समेत जलाई तोडफोड गरी क्षति पु¥याएको भन्दै मुद्दा दर्ता गरिएको थियो । शुरुमा पक्राउ परेका पार्टीका नेता मोहनबहादुर कार्कीले घटनामा संलग्नताको बारेमा अस्विकार गरेका थिए । कपिलबस्तुमा २०७५ साउन महिना ६ गते देखि ८ गते सम्म सम्पन्न पार्टीको सातौ केन्द्रिय बैठकमा २०७५ बैशाख १ गतेको घटना बारे नेताहरुले जानकारी गराएका थिए । बैठकमा काभ्रेपलाञ्चोक घर भएका पूर्वी ताम्सालिङ्ग व्यूरोका ईन्चार्ज केन्द्रिय सदस्य बाबुराम गजमेर भन्ने जगतले जानकारी गराएको डायरीमा नोट गरेको जिवन्त भन्ने मोहन बहादुर कार्कीले बयान दिएका थिए । उक्त घटनामा गम्भीर भन्ने कृष्ण धमला, प्रकाण्ड भन्ने खड्ग बहादुर बिश्वकर्मा, शिलु भन्ने उमा भुजेल, विजय भन्ने बसन्त श्रेष्ठ पक्राउ परी छुटिसकेका छन् । क्रसरमा चार करोड असठ्ठी लाख पचहत्तर हजार बराबरको धनमाल क्षति पु¥याएको प्रहरीको दाबी छ ।
कुन्साङ्ग सशस्त्र युद्धमा कारवाहीमा परेका ब्यक्ति हुन् । सरकारी सम्पतीलाई निजीकरण गर्ने र अबैद्य उद्योग संचालन गर्ने ब्यक्ति हुन् । जिल्ला अनुगमन समितिले गरेको अनुमगनमा उनको खानी अबैद्यानिक हो । तर पनि उनलाई कारवाही भएको छैन । जनताले नै उनको उद्योगलाई बैद्यानिकता बनाउन राज्यले गर्न नसकेको कारवाही गरेको विप्लब माओवादीले बताएको छ । जनताले गरेको कारवाहीलाई राज्यले गलत बनाउँदै नेता कार्यकर्ताहरुलाई झुटो मुद्दामा फसाउने प्रपञ्च गरिरहेको नेताहरुको भनाई छ । ब्लु साईन ढूङ्गा उद्योगका संचालक कुन्साङ लामा सहित विश्वास कार्की र अध्यक्ष बालमकुन्द अधिकारी पनि हुन् ।
प्रहरीले नेकपा माआवादी समुहले संघर्ष तथा कारवाहीको सम्बन्धमा भारतीय लगानीका कम्पनी तथा व्यवसायिक प्रतिष्ठानहरुलाई लक्षित गरेको विवरण पेश गरेको छ । सैन्य फर्मेशनलाई सातौं बैठकले मूर्त रुप दिएको डायरीमा उल्लेख छ । सैन्य जिम्मेवारीहरु पनि निर्दिष्ट गरी आवश्यक बन्दोबस्तीका सामानहरु र प्राविधिकको नाममा बिस्फोटक पदार्थ तथा हातहतियारको समेत व्यवस्थापन गरेको छ । आर्थिक संकलनको सन्दर्भमा बिभिन्न योजना, परियोजना तथा व्यवसायिक प्रतिष्ठानहरुलाई ए वि सि तिन श्रेणीमा बिभाजन गरी सुची तयार पारेको, ए श्रेणी अन्तर्गत कम्पनीहरुसंग केन्द्रिय स्तरबाट, वि श्रेणी अन्तर्गतका कम्पन्नीहरुसंग व्यूरो स्तरबाट र सि श्रेणी अन्तर्गतका कम्पन्नीहरुसँग जिल्लास्तरबाट आर्थिक संकलन निती योजना बनाएको विवरण प्रहरीले फेला पारेको छ ।









